ad ad

अपराध


इन्गेजमेन्टपछि खुलेको विगतले टुटायो प्रेम, पुष्पाले गरिन् आत्मदाह, जेल परे सुधन

इन्गेजमेन्टपछि खुलेको विगतले टुटायो प्रेम, पुष्पाले गरिन् आत्मदाह, जेल परे सुधन

उजिर कार्की
पुस १८, २०७९ सोमबार २१:५८, काठमाडौँ

बानेश्वरकी पुष्पा न्यौपानेले आत्मदाह गरेकै दिनदेखि धुम्बाराहीका सुधन संग्रौला थुनामा छन्। २६ वर्षीया पुष्पा र २९ वर्षीया सुधनबीच विवाहको तयारी थियो। इन्गेजमेन्ट तोडिएको भोलिपल्टै पुष्पाले सुधनको घरको गेटमा पुगेर आत्मादाह गरिन्। 

उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा सुधन पक्राउ परे। गत बिहीबार काठमाडौं जिल्ला अदालतले सुधनलाई आत्माहत्या दुरुत्साहनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। 

नुवाकोट स्थायी घर भएको पुष्पाको परिवार बानेश्वर बुद्धनगरमा र झापाका सुधनको परिवार धुम्बाराही बस्छ। पुष्पा र सुधनबीच २०७८ माघमा चिनजान भएको थियो। व्यावसायिक कामको सिलसिलामा भएको चिनजान विवाह नजिक पुग्यो। झण्डै एक वर्षअघिको भेटघाटपछि उनीहरुकाे फोन र फेसबुकमा कुराकानी बाक्लिन थाल्यो। एकअर्काको प्रेममा परे। एकअर्काको घरमा आउजाउ समेत हुन थाल्यो। 

छोराछोरीको प्रेमलाई दुवैका अविभावकले स्वीकार गरे। २०७९ भदौ १८ गते सुधन परिवारसहित पुष्पाको घरमा गए। जनैसुपारी, टीकाटालो भयो। एक वर्षभित्रमा समय मिलाएर विवाह गर्ने निश्चित गरे। 

तर त्यो बीचमा सुधन र पुष्पाबीच खटपट पर्यो। खटपट हुँदै गर्दा दुवैका परिवारले पनि थाहा पाए। सकेसम्म उनीहरुले मिलाउन खोजे। तर सुधन मिल्न तयार भएनन्। मंसिर १७ गते सुधनसमेत पुष्पाको बुद्धनगरस्थित घरमा पुगे र विवाह गर्न नसक्ने भन्दै विवाह रद्द गर्न प्रस्ताव गरे। पुष्पा भने सुधनसँगै विवाह गर्न चाहन्थिन्। तर विवाह पहिले नै स्वीकार गर्न नसक्ने भनेको परिवारलाई छोरी जिम्मा लगाउन उनको परिवार तयार भएन। 

पुष्पाका आफन्तले सम्झाइबुझाइ गरे र त्यसैदिन इन्गेजमेन्ट रद्द गरियो। इन्गेजमेन्टका क्रममा लेनदेन गरेका सबै सामाग्री दुवै पक्षले फिर्ता गरे। त्यसको भोलिपल्टै पुष्पाले सुधनकाे घरको गेटमा पुगेर आत्मदाह गरेपछि सुधनविरुद्ध  आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिए। प्रहरीले घटनाकै दिन सुधनलाई पक्राउ गर्यो। पुष्पाको भने भोलिपल्ट उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भयो। 

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले पुस १३ गते अदालतमा मुद्दा दर्ता गर्यो। अदालतले पुर्पक्षका लागि सुधनलाई थुनामा पठाउन आदेश दिएको छ। मुद्दाको अनुसन्धान सकिएसँगै आत्मदाहसम्म पुगेको घटनाका केही तथ्य बाहिर आएका छन्। 

व्यवसायबाट सुरु भएको सम्बन्ध 
करिब १० वर्ष पहिलेदेखि सुधनले काठमाडौंको न्युरोडमा कपडाको होलसेल व्यापार गर्दै आएका थिए। न्युरोडमा नै जुत्ताको होलसेल व्यापार गर्ने उत्तम न्यौपानेसँग उनको चिनजान भयो। उत्तम पुष्पाका काका हुन्। उत्तमले केल्मी स्पोर्टस ब्रान्डको पसल पनि सञ्चालन गरेका थिए। 

सुधनले पनि दरबारमार्गमा बच्चाहरुको कपडाको शोरुम राख्ने इच्छा देखाए। उत्तमको पसल नजिकै ठाउँ खाली थियो। २०७९ जेठमा उत्तमसँगै गएर ठाउँ हेरे तर सुधनले मन नपराएपछि कुरा अगाडि बढेन।

त्यसको दुई दिनपछि सुधन र उनका दाइ मधु उत्तमको केल्मी शोरुममा टिसर्ट किन्न पुगे। शोरुममा पुष्पा बस्थिन्। त्यसैदिन पुष्पासँग सुधनको चिनजान भएको थियो। सुधनले दिएको बयान अनुसार उनीहरु टिसर्ट किनेर फर्किए, बेलुकी पुष्पाले फेसबुकमा फ्रेन्डरिक्वेस्ट पठाइन्। फेसबुकमा साथी भएपछि उनीहरुको कुराकानी हुन थाल्यो। 

पुष्पासँग गफगाफ हुन थालेको बारे सुधनले उत्तमलाई सुनाए। उत्तमले भने, ‘पुष्पा मेरो दाइकी छोरी हो, अलि चकचके छ तर राम्री छ। केल्मी कम्पनीलाई हाँक्ने ऊ नै हो।’

त्यसपछि एकदिन भेटेर सँगै खाना खाने सल्लाह गरे। मधु, सुधन, पुष्पा र पुष्पाकी साथीले झम्सिखेलको एक होटलमा सँगै खाना खाए। पुष्पालाई सुधनले नै घर पुर्याइदिए। 

असार १२ गते मधु र सुधन (जुम्ल्याहा) को जन्मदिन थियो। जन्मदिनमा केक र गिफ्टको व्यवस्था पुष्पाले गरेकी थिइन्। साथीभाइको बीचमा उनीहरुले जन्मदिन मनाए। 

यसरी भेटघाट बाक्लिँदै गएपछि दुवै परिवारले पनि जानकारी पाइसकेका थिए पुष्पा र सुधनको सम्बन्धबारे। उनीहरुको विवाह गर्ने सहमति भइसकेको थियो। दुवै परिवारको मन्जुरीमा भदौ १८ गते सुधन परिवारसहित पुष्पाको बुद्धनगरस्थित घरमा पुगेर इन्गेजमेन्ट गरे। जुन दिन पुष्पाको जन्म दिन पनि थियो। जन्मदिनमै इन्गेजमेन्ट गर्ने पुष्पाकै प्रस्ताव थियो। 

इन्गेजमेन्टपछि पुष्पा सुधनका परिवारका सबैसँग कुरा गर्न थालिन्। घरपरिवारमा आउजाउ बाक्लिन थाल्यो।  

एकअर्कामाथि आरोप : विगतको सम्बन्धले सुरु भयो तनाव 
अदालत पुगेको अभियोगमा भने एकले अर्को पक्षलाई पुरानो सम्बन्धका कारण दरार आएको आरोप लगाएका छन्। पुष्पाका आफन्तले सुधनको विगतको सम्बन्धका कारण र एकतर्फी इन्गेजमेन्ट तोड्ने निर्णयका कारण पुष्पाले आत्महत्या गरेको बताएका छन्। 

अर्कोतिर सुधनले पुष्पाले पूर्वप्रेमी रहेको र उनलाई भेट्न खोजेपछि सम्बन्धमा खटपट सुरु भएको बयान दिएका छन्। 

‘पुष्पाले एक जना पूर्वप्रेमी छ। अन्तिम पटक उसलाई भेट्न चाहन्छु भनिन्। मैले पुष्पालाई तिमिीले हाम्रो सम्बन्ध राम्रो होस् भन्ने नचाहेको हो कि के हो? किन यस्तो कुरा गरेको भन्दा निजले मलाई आइन्दा यस्तो गर्दिनँ भनी माफी मागिन् र मैले पनि ठिकै छ भनेर सम्बन्धलाई निरन्तरता दिएँ,’ सुधनले बयानमा भनेका छन्। 

यस्तै पुष्पालाई आफूले किनिदिएको मोबाइलको कभरमा पनि एउटा केटाको चिट्ठी भेटेको र कसको हो भनेर सोध्दा पूर्वप्रेमीको भएको थाहा पाएको बताएका छन्। त्यसपछि पुष्पासँग टाढिँदै गएको उनले स्वीकार गरेका छन्।

‘त्यसपछि मैले यस्ता कुराहरु असह्य हुन्छन्, म तिम्रो काकासँग कुरा गर्छु, अब यो सम्बन्ध अगाडि बढाउने काम छैन भन्दा उनले मेरो परिवारमा यो कुरा नगरिदिनु भनी आग्रह गरिन्,’ सुधनले भनेका छन्। 

सुधनको पूर्वप्रेमिकाबारे पुष्पाले चासो राख्दा उनले ७ वर्षपहिले एक जना भएको तर अहिले नरहेको बताएको बयान दिएका छन्। पुष्पाको भने अन्य केटासँग पनि सम्बन्ध रहेको बताए। पुष्पाले पारिवारिक यौन हिंसामा परेको र पहिले पनि आत्महत्या गर्न प्रयास गरेको बताएको सुधनको बयान छ। 

पुष्पाले विगतका यस्ता कुरा सुनाएपछि आफूले फोन तथा सामाजिक सञ्जालमा पनि कुरा गर्न छाडेको र उनीसँग टाढिएको बताएका छन्। सुधनले कुरा गर्न छाडेपछि पुष्पाले मधुलाई फोन गरेर सुधन बोल्न छाडेको र यसकारण आफूलाई तनाव भएको बताउने गरेकी थिइन्। उनको बयान अनुसार मधुसँग पनि उनले यही कारण आत्महत्या गर्ने बताएकी थिइन्। पुष्पाले यी कुरा सुनाएका कारण सम्बन्ध बिग्रिएपछि पटकपटक माफी मागेको समेत सुधनको दाबी छ। 

पुष्पाका परिवारले मिल्नु पर्छ पनि भनेका थिए। तर सुधनले पुष्पाको विगतको कुरालाई लिएर मिल्न नसक्ने जवाफ दिए। अन्ततः सुधनको परिवार मंसिर १७ गते इन्गेजमेन्ट तोड्न पुष्पाको घरमा पुग्यो। 

उनीहरुका बीचमा छलफल भयो। दुवै पक्षले एकअर्कालाई सम्झाउँदा पनि सम्बन्ध अगाडि नबढ्ने निष्कर्षमा पुगेपछि इन्गेजमेन्ट तोडियो। पुष्पाले अन्तिममा सुधनलाई अंगालो हालिन् र मलाई माफ गर्नु भनिन्। पहिले दिएका जनै सुपारी, गरगहना, लुगा कपडाहरु फिर्ता लिएर सुधनको परिवार घर फर्कियो। 

पुष्पाको परिवारले भने अन्तिमसम्म पनि सकिन्छ भने मिलेर अगाडि बढौँ भनेका थिए। तर सुधनका परिवारले त्यसलाई मानेनन्। 

पुष्पाका बुबा पुरुषोत्तमले बयानमा भनेका छन्, ‘मनमुटाव भएको थाहा पाएपछि सकिन्छ भने मिलेर अगाडि बढ्नु छोरी, मिलेर बस्न नसकिने भए केही बिग्रिएको छैन अरु केटाहरु पाइन्छन्। तिमी आफैँ हरेक कुरामा सक्षम छँदैछौँ भनी सम्झाउने गरेको थिएँ।’

दुई परिवारको छलफलमा पनि पुष्पा भन्थिन्, ‘सुधनले गरेका गल्तीमा मैले माफी दिनु पर्ने, मैले गरेको गल्तीमा चाहिँ उसले माफी दिन नपर्ने होर।’ पुष्पाको परिवारका अनुसार सुधनले पुष्पालाई पशुपति मन्दिरमा लगेरै म यो कुरालाई गम्भीर रुपमा लिन्नँ भनेर कसम नै खुवाएका थिए। 

सुधनका परिवारले अब सम्बन्ध अगाडि नबढ्ने भनेपछि पुष्पाले नै गरगहना र कपडाहरु फिर्ता लैजानु भनेकी थिइन्। १७ गते सुधनको परिवार फिर्ता लैजान पुगेपछि पनि छलफल भयो तर मेलमिलाप हुने सम्भावनै देखिएन। 

पुष्पालाई तनाव भयो होला भनेर आफूहरुले सम्झाएको र पुष्पाले सम्झिएको परिवारले ठानेका थिए। उनका बुबाले दिएको बयान अनुसार पुष्पाले भनेकी थिइन्, ‘मलाई ढुक्क भयो। यो केटाले तनाव दिएको थियो। म आफू सम्हालिएर बस्छु र त्यो केटाभन्दा पहिले विवाह गरेर देखाउँछु।’

तर इन्गेजमेन्ट तोडिएको भोलिपल्ट सुधनका बुबाले फोनमार्फत पुष्पा जलेको खबर गरे। उनका परिवारले शिक्षण अस्पतालमा भेटे। चिकित्सकको सल्लाह अनुसार नै त्यहाँबाट कीर्तिपुरस्थित वर्न अस्पताल लगे। भोलिपल्ट उनको मृत्यु भयो। जन्मदिनमा गरेको इन्गेजमेन्ट पुष्पाको ज्यान जाने कारण बन्यो।

परिवारले पुष्पाको मृत्यु सुधनका कारण भएको आरोपमा प्रहरीमा जाहेरी दियो। मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुरमा सुधनविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। 

कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ। यो व्यवस्था अनुसार कसैले यस्तो कसुर गरेको ठहरेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। यस्तै कसैको जिउ ज्यान वा सम्पत्तिमा हानिनोक्सानी वा क्षति भएमा कसुरदारबाट भराउने व्यवस्था छ। 

प्रहरीले दसी प्रमाणका रुपमा पुष्पा र सुधनबीच आदानप्रदान भएका २२ पाना म्यासेज र कल डिटेललाई नै मुख्य प्रमाणका रुपमा पेस गरेको छ। यस्तै पुष्पाका साथी र आफन्तले पनि सुधनले पुष्पालाई तनाव दिएकै कारण आत्मदाह गरेको बयान दिएका छन्। 

पुर्पक्षका लागि जेल पुगेका सुधनले कसुर गरेको ठहरेमा अब ५ वर्षसम्म कैद सजाय भोग्नु पर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .