ad ad

अपराध


ठगीका आरोपित पृथ्वीबहादुर शाहको साढे १३ लाख डलर रोक्का, २० जनाविरुद्ध मुद्दा दर्ता

ठगीका आरोपित पृथ्वीबहादुर शाहको साढे १३ लाख डलर रोक्का, २० जनाविरुद्ध मुद्दा दर्ता

उजिर कार्की
फागुन २४, २०७९ बुधबार २०:४७, काठमाडौँ

पृथ्वीबहादुर शाहसहित २० जनाविरुद्ध ठगी, सार्वजनिक लिखित किर्ते र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। 

बिहीबारदेखि जिल्ला अदालत काठमाडौंमा प्रतिवादीको बयान गराउने र थुनछेक बहस सुरु हुनेछ। आरोपित २० जनामध्ये ७ जनालाई मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेको छ। १३ जना अझै फरार छन्। यो कसुरका मुख्य आरोपित अछामका पृथ्वीबहादुर शाह हुन्। 

यस्तै उनका भाइ विजयविक्रम शाह र बुबा देवेन्द्रबहादुर शाह पनि ठगी आरोपमा छन्। विजयसहित दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री, नवलपरासीका रुक्मांगत काफ्ले, अछामका रंगबहादुर साउद, भक्तपुरकी विनिता तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, विनोद सुन्दास, कैलालीका लक्ष्मण रेग्मी, काठमाडौंका सानु ठकुरी, अविन परियार, राजकुमार ठकुरी, दोलखाका सन्तोष पाण्डे, ललितपुरकी अन्जना रजक भण्डारी, बझाङका किशोर सिंह, तरुण शाह, नुवाकोटका शिवकुमार पाण्डे, अछामका देवेन्द्रबहादुर शाह भने फरार छन्। 

यो घटनामा जोडिएका व्यक्ति पृथ्वीका आफन्त र उनले खोलेका २४ कम्पनीमा काम गर्ने कर्मचारी रहेको खुलेको छ। उनले बयानका क्रममा अधिकांश रकम व्यवसायिक प्रयोजनका लागि ल्याएको बताए पनि केही रकमको स्रोत भने खुलाउन सकेका छैनन्। 

उनका विभिन्न कम्पनी र व्यक्तिका नाममा २६ जनाको नाम र कम्पनीबाट रकम जम्मा गरेको खुलेको छ। त्यो रकममध्ये साढे १३ लाख डलर भने बैंकमा रोक्का रहेको पाइएको छ। सीआईबीको अनुसन्धान प्रतिवेदन अनुसार एनसीसी बैंकमा १ लाख १७ हजार अमेरिकी डलर रोक्का छ। प्रभु बैंकमा १ लाख ९९ हजार ९७५ डलर र प्रभु बैंकमै अर्को व्यक्तिबाट आएको ४ लाख अमेरिकी डलर पनि रोक्का रहेको पाइएको छ। 

कुमारी बैंकमा ३ लाख ५० हजार अमेरिकी डलर, एनएमबी बैंकमा १ लाख ४० हजार डलर र ग्लोबल बैंकमा ७९ हजार ५२५ अमेरिकी डलर रोक्का रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्रमा उक्त रकम सम्बन्धित पीडितलाई नै फिर्ता पठाउने व्यवस्था गर्न माग गरिएको छ।

सीआईबीमा उजुरी दिएका अन्य व्यक्तिको ठगी भएको रकममध्ये प्रतिवादीहरुको खातामा रहेको १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँबाट र अपुग रकम यी प्रतिवादीको सम्पत्तिबाट भराउन माग गरिएको छ। उनीहरुबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अभियोग पत्रमा माग गरिएको छ। 

पृथ्वी शाहले बयानका क्रममा आफ्नो नाममा नेपालमा रहेका सबैजसो बैंक तथा वित्तीय निकायहरुमा व्यक्तिगत तथा व्यवसायिक कम्पनीहरुका खाता रहेको बताएका छन्। 

अरु ६ वटा सहकारीमा पनि खाता रहेको र त्यहाँबाट पनि कारोबार हुने गरेको उनको बयानमा उल्लेख छ। काठमाडौं, ललितपुर, बाँके, कैलाली, अछामका विभिन्न स्थानमा यसरी भित्र्याएको रकमबाट जग्गा खरिद गरेको पाइएको छ।

यस्तै ३० लाखको सेयर र करिब ६० तोला सुन पनि उनले किनेका छन्। विभिन्न १४ वटा कम्पनीबाट आर्थिक कारोबार भएको छ। अरु पनि १० वटा कम्पनी छन्। यति धेरै कम्पनी खडा गर्नुको उदेश्य कम्पनीको प्रबन्धपत्र र नियमावलीमा उल्लेख भए अनुसारको काम गर्नको लागि खडा गरेको उनको दाबी छ। 

यी कम्पनीमा विदेशी विनिमय जम्मा गर्न वा विदेशी लगानी ल्याउन कुनै पनि निकायबाट अनुमति लिइएको छैन। पठाएको रकम पठाउने व्यक्ति र पठाउन लगाउने व्यक्तिहरुबीच र उनी सञ्चालक रहेका कम्पनीहरुबीच कुनै पनि सम्बन्ध नरहेको उनको दाबी छ।

बैंक खातावालाहरुलाई खाताको नक्कली स्टेटमेन्ट देखाई एन्टी भाइरस नवीकरण गर्ने समेतको अपराध कार्यविधि प्रयोग गरी रकम पठाएको भनिएकोमा पठाउने व्यक्ति र पठाउन लगाउने व्यक्तिहरुबीच के कसरी सम्पर्क भई सो रकम पठाएको हो, सो बारेमा जानकारी नभएको शाहको दाबी छ।

कम्पनीको खातामा जम्मा भएपश्चात सो रकम चेक तथा डिजिटल माध्यमबाट विभिन्न व्यक्तिको नाममा रकमान्तरण गरेको भने उनले स्वीकार गरेका छन्।

जुलिया होडगेज रिकेट र डार्लिन पेड्रोनसेलीसँग आफू सञ्चालक रहेको कम्पनीको तर्फबाट चिनजान कुराकानी र कुनै लेनदेन समेत नभएको दाबी गरेका शाहले उनीहरुलाई प्रभाव वा दबाबमा पारी गलत उदेश्य र नियतले रकम खातामा हाल्न नलगाएको दाबी गरेका छन्।

‘मैले टिकट र ट्राभल वापत भारतीय नागरिक अर्सद खानबाट प्राप्त गर्नु पर्ने रकम नेपाली मूलका अस्टे«लियन नागरिक मनमोहन सिंह र भारतीय नागरिक हाल सिंगापुरमा बस्ने आकाश झालाई सहजीकरण गरी भारतीय नागरिक अर्सद खानलाई पठाउन लगाएको हुँ। त्यो रकम हन्टिङ रिजर्भ अफ नेपाल प्रालि समेतका व्यावसायिक प्रयोजनका लागि प्रयोग भएको हो,’ उनले बयानमा भनेका छन्। 

माउन्टेन अपार्टमेन्ट प्रालिको प्रभु बैंकमा रहेको खातामा अमेरिकी डलर ३ लाख ८ हजार, सिटिजन्स बैंक इन्टरनेसनलमा ३९ हजार ६०, र ग्लोबल आईएमई बैंकको खातामा ४८ हजार ७७० गरी जम्मा ४ लाख २५ हजार ८३० अमेरिकी डलर आएको कुरा उनले स्वीकार गरेका छन्। 

‘त्यो रकम अन्य खातामा ट्रान्सफर गरेको हो, ठगी गरेर ल्याएको होइन। अस्टे«लिया बस्ने नेपाली मूलको अस्टे«लियन नागरिक मनमोहन सिंह र भारतीय नागरिक हाल सिंगापुर बस्ने आकाश झाको सहजीकरणमा भारतीय नागरिक अर्सद खानले पठाएका हुन्। अमेरिकी नागरिक लिन्डा ए जोनसनलाई भारतीय नागरिक अर्सद खानले के कसरी रकम पठाउन लगाएका हुन् मलाई जानकारी छैन,’ शाहले भनेका छन्। 

१३ अप्रिल २०१३ मा पल कचाटुरिनलाई अमेरिकी डलर ४९ हजार १८० र १५ अप्रिल २०२२ मा १९ हजार ८८० समेत गरी ६९ हजार ६० डलर आएको देखिएको छ। 

त्यो रकम भारतीय मूलका अमेरिकी नागरिकहरु विकास कुन्डु र नविन भाटीबाट आएको र निजलाई आफूले ठगी नगरेको दाबी शाहले गरेका छन्। 

विकास र नवीनले के कसरी सो रकम पठाउन लगाएको यकिन थाहा नभएको बयान दिएका छन्। अमेरिकामा रहेका विभिन्न नेपाली मार्फत आएको रकम उनीहरुलाई शाहले विदेश पठाएकोमा टिकट समेतको बाँकी रकम अमेरिका पुगेपछि पठाएको बताएका छन्। 

वर्ल्ड फर्स्ट होलिडेको प्रभु बैंकको खातामा २ पटकमा आएको १ लाख ४४ हजार ९४० अमेरिकी डलर व्यावसायिक प्रयोजनका लागि ल्याइएको बताएका छन्। 

२० डिसेम्बर २०२० मा १ लाख ४७ हजार ९६५ आएको स्वीकार गर्दै त्यो रकम विभिन्न व्यक्तिलाई काममा लगाइदिए वापत आएको दाबी शाहको छ। अन्य रकम पनि व्यावसायिक प्रयोजनका लागि आएको बताएका छन्। 

अन्य विभिन्न समयमा आएको कतिपय रकमको स्रोत उनले खुलाउन सकेका छैनन् भने केही व्यावसायिक प्रयोजनकै लागि आएको बयानमा दाबी गरेका छन्। 

शाहसहितका प्रतिवादीलाई ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, बिगो बापतको रकम समेत भराइदिन माग गरिएको छ। किर्तेमा पनि ७ वर्ष कैद र ७० हजार जरिवाना हुने व्यवस्था छ। उनीहरुविरुद्ध अदालतमा चार वटा कसुरमा सजाय गर्न माग गरिएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .