सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शोधनान्तर घाटाको जन्मदाता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन्।
‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रमलाई सोमबार जावलाखेलमा सम्बोधनका क्रममा उनले ओलीको दोस्रो कालमा देशलाई आर्थिक संकटतिर लगेको आरोप लगाएका हुन्।
त्यही कार्यक्रममा प्रचण्डभन्दा पहिले बोलेका एमाले महासचिव शंकर पोखरेलले एमाले सरकारमा हुँदासम्म शोधनान्तर स्थिति बचतमा रहेको तर्क गरेका थिए।
तर पाँच दलीय गठबन्धनको सरकार बनेपछि शोधनान्तर स्थिति ३ खर्ब घाटामा गएको बताउँदै पोखरेलले प्रहार गरेका थिए।
गठबन्धन सरकारको ९ महिनामा भएको यो आर्थिक संकटको कारण पत्ता लगाउन पनि उनले सत्तारुढ नेताहरुलाई सुझाएका थिए। त्यसकै जवाफ दिँदै प्रचण्डले शोधनान्तर घाटाको दोष एमालेमाथि थोपरेका हुन्।
‘हाम्रो अगाडि उहाँ (शंकर पोखरेल) ले शोधनान्तर घाटाको कुरा गर्नुभएको छ', दाहालले भने, 'आज शोधनान्तर घाटाको जुन अवस्था छ, त्यसको प्रणेता, जन्मदाता केपी ओली नेतृत्वको सरकार र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा हुन्।’
प्रचण्डले जवाफ दिइरहँदा महासचिव पोखरेल कार्यक्रमको मञ्च छाडेर बाहिरिइसकेका थिए। आफ्ना कुरा राखेपछि हिँडेका पोखरेलले नकुरेको भन्दै प्रचण्डले गुनासो पनि पोखे।
Shares
प्रतिक्रिया