ad ad

कारोबार


यती जहाज दुर्घटना : ककपिट भ्वाइस रेकर्डरले दियो इन्जिनमा समस्याको संकेत

इन्जिन चलिराखे पनि पंखाको कोण नमिलेको हुनसक्ने देखियो : सदस्य थापा
यती जहाज दुर्घटना : ककपिट भ्वाइस रेकर्डरले दियो इन्जिनमा समस्याको संकेत

वसन्त अर्याल
माघ २३, २०७९ सोमबार १८:२, काठमाडौँ

माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँच बुझ आयोगले ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गरेको छ। 

यति एयरलाइन्सको ९एन-एएनसी एटीआर७२ जहाज इन्जिनमै समस्याको कारण दुर्घटना भएको हुनसक्ने देखिएको आयोगले प्रारम्भिक जानकारी दिएको हो। 

आयोगका अनुसार इन्जिनमा पावर आइडल (काम नगर्दा) हुँदा दुर्घटना भएको देखिएको छ। 

‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ’, जाँच आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

नेपालमा एटीआर ७२ नै उडाउने एक पाइलटका अनुसार इन्जिनका प्रोपेलरहरु फेदर भनेको इन्जिनमा पावर कम हुनु हो। 

‘इन्जिन बिग्रिएको हो वा होइन यसै भन्न सकिँदैन’, ती पाइलटले भने, ‘पाइलटले पावर नदिएको हो वा बिग्रिएर समस्या हो थप अध्ययनपछि थाहा हुन्छ।’

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरबारे अध्ययन गर्न नेपाल सरकारबाट गठन भएको दुर्घटना जाँच आयोगका संयोजक, हवाइ विज्ञ र सदस्य सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा पुगेका थिए। 

आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीइए फ्रान्स, टीएबी क्यानेडा, ईएएसए प्रतिनिधिहरुले प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरेका थिए। सो क्रममा फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरको डाटाहरुको विश्लेषण गरिएको थियो। 

दुर्घटनालगत्तै सरकारका पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो। आयोगमा सेनाका इ. उपरथी दीपक बाँस्तोला, वरिष्ठ क्याप्टेन सुनिल प्रधान र वरिष्ठ इन्जिनियर एकराज जंग थापा सदस्य तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए। 

आयोगका सदस्य तथा इन्जिनियर एकराजजंग थापाले इन्जिन चालू रहे पनि पंखाको कोण नमिलेको हुनसक्ने देखिएको बताए। 

उनले नेपालखबरसँग भने, ‘यो भनेको इन्जिनहरु चलिराखे पनि पंखाको एंगलचाहिँ नमिल्ने किसिममा राखिएको जस्तो देखियो, यो झुक्किएर राखियो कि कुनै समस्याले हुन गयो। चलिराख्दा पनि पंखाको एंगल नमिलेकोजस्तो देखियो।’

दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धि सागर लामिछानेले जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएकोले थप अध्ययन आवश्यक रहेको बताए। 

उनले उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरुबारे थप अनुसन्धान अगाडि बढाइसकेको जानकारी दिए। 

‘आयोगबाट अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानको आधारमा उडानमा थप सुरक्षा अभिवृद्धि गर्न प्रारम्भिक प्रतिवेदन पेश गर्ने तयारी भएको छ’, आयोगले उल्लेख गरेको छ।

उक्त दुर्घटनामा जहाजमा ७२ जना सवार थिए। त्यसमध्ये ७० जनाको शव भेटिए पनि २ जनाको अझै भेटिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .