ad ad

कारोबार


बैंकिङ कसुरमा सुरुमै सीईओ पक्राउ पर्ने व्यवस्थाप्रति बैंकरहरुको आपत्ति

‘हामी सीईओहरु डरैडरमा छौँ’
बैंकिङ कसुरमा सुरुमै सीईओ पक्राउ पर्ने व्यवस्थाप्रति बैंकरहरुको आपत्ति

सीईओ ढुंगाना अहिले सबै सीईओ डरैडरमा रहेको बताउँछन्।


दीपक भट्ट
फागुन ५, २०७९ शुक्रबार २१:५६, काठमाडौँ

गत महिना कामना सेवा विकास बैंकका सीईओ प्रविन बस्नेतलाई प्रहरीले पक्राउ गर्यो। उनको आफ्नै गल्ती नभए पनि बैंकको सीईओ बस्नेत रहेको कारण देखाई प्रहरीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्ने समयमा उनी सो पदमा भने थिएनन्। घटनामा उनको सहभागिता थिएन तर उनी आफू पक्राउ पर्नेमा भने ढुक्क थिए। त्यसकारण उनी बैंकको सीईओ पदबाट समेत अलग भएका थिए। उनलाई गत महिना प्रहरीले निणन्त्रणमा लिनुको कारण थियो– कर्जा अपचलन।

कर्जा अपचलनको आरोपमा उनीसँगै ऋणी चन्द्रबहादुर थापा र हरेन्द्र दाहाल तथा सो बैंकका कर्मचारी वीरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

उनीहरु जमानीमा छुटिसकेका छन्।

घटना विषय थियो, चन्द्रबहादुर थापा, हरेन्द्र दाहालले लिएको ३२ करोड रुपैयाँ ऋणको। उक्र ऋण लिँदा राखिएको धितो नक्कली भएको आरोप लागेको छ।

ऋणीले बैंकबाट प्रक्रिया पुर्याएर ऋण लिए। तर धितो नक्कली भन्ने सम्बन्धमा बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकमा उजुरी पर्यो। उजुरी राष्ट्र बैंक हुँदै प्रहरी समक्ष समेत पुग्यो। प्रहरीले पक्राउ पुर्जी जारी गर्यो। त्यसपछि उनीहरु पक्राउ परेका थिए। 

यस घटनालाई लिएर अहिले बैंकिङ क्षेत्र सशंकित बनेको छ। यस्तै खालका घटनामा बैंकका नेतृत्वकर्ताहरु पक्राउ परेको यो पहिलो घटना होइन। तर यो घटनापछि भने बैंकरहरुले खुलेर विरोध गर्न थालेका छन्। 

नेपाल बैंकर्स संघले यसले बैंकिङ प्रणालीमा नै समस्या ल्याउने दाबी गरेको छ। संघले कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएको भएको व्यक्तिलाई पक्राउ गर्नैपर्ने, जेल हाल्नैपर्ने व्यवस्थाको निन्दा गरेको छ।

संघले बैंकिङ कसुर सम्बन्धी हेर्ने छुट्टै समिति बनाएको छ। उक्त समितिका संयोजक नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना छन्। 

आफूले हस्ताक्षर नै नगरेको घटनामा समेत पक्राउ पर्नुपर्ने अवस्थाले बैंकिङ क्षेत्रमा त्रासको स्थिति पैदा भएको उनले बताए।

उनी भन्छन्, ‘कसैले कुनै गल्ती कमजोरीमा हस्ताक्षर नै गरेको भए त उसलाई सजाय दिनु उचित छ तर उसलाई थाहा नै नभएको घटनामा पनि सिधै पक्राउ गरिनु अनुचित छ। यस्तो व्यवस्था परिवर्तन गर्नुपर्छ।’

बैंकिङ कसुर तथा सजाय ऐन २०६४को दफा ७ मा अनधिकृत रुपमा कर्जा लिन र दिन नहुने व्यवस्था गरिएको छ। उक्त दफाको ख र गमा धितोको अस्वाभाविक रुपमा बढी मूल्याङ्कन गरी कर्जा लिन वा दिन नहुने र झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक बढाइ कर्जा लिन वा दिन नहुने बताएको छ। 

यस्तो गरेको खण्डमा बैंकिङ कसुर मानिने उल्लेख छ। यस्तै गरेको खण्डमा थुनामा राखी कारबाही गर्न सकिने व्यवस्था उक्त ऐनको दफा १९ मा छ। उक्त दफामा कुनै पनि व्यक्ति तत्काल प्राप्त प्रमाणबाट बैंकिङ कसुरदार हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा थुनुवा पुर्जी दिई थुनामा राख्न सकिने बताइएको छ। 

यी व्यवस्थामा बैंकरहरुको कुनै गुनासो छैन तर उक्त ऐनको दफा १५ को उपदफा ५ को व्यवस्थामा बैंकरहरुले खुलेर आपत्ति जनाउन थालेका हुन्।

जसमा भनिएको छ, ‘कुनै पनि संस्थाले यस ऐन अन्तर्गतको कसुर गरेकोमा त्यस्तो कसुर गर्ने पदाधिकारी वा कर्मचारी पहिचान भएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई र पहिचान हुन नसकेकोमा कसुर गरेको बखत त्यस्तो संस्थाको कार्यालय प्रमुखको हैसियतमा काम गर्ने व्यक्ति जिम्मेवार हुने छ।’

यसमा बैंकर्स संघ भन्छ, ‘कुनै पनि घटनाको आरोपित व्यक्ति पुष्टि अनुसन्धानले गर्छ। तर बैंकको कार्यालय प्रमुख अर्थात् सीईओ टार्गेटमा पर्छ। सुरुमै उसलाई पक्राउ गर्न थालिएको छ। यो आफैँमा नराम्रो हो।’

सीईओ ढुंगाना अहिले सबै सीईओ डरैडरमा रहेको बताउँछन्। कामना सेवा विकास बैंकको घटनाले सोही देखाएको उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .