ad ad

कारोबार


जब उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ राजदूतलाई सडक निरीक्षणमा उतारे...

जब उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ राजदूतलाई सडक निरीक्षणमा उतारे...

वसन्त अर्याल
फागुन ११, २०७९ बिहिबार २०:४, काठमाडौँ

३ वर्षअघि चक्रपथलाई चिटिक्क र फराकिलो बनाउन धमाधम रुखहरू काटिए। 

तर भनिएअनुसार कामले गति लिएन। परिणाम, अहिले कलंकी–धोबीखोला ११.६ किलोमिटर सडक धूलाम्य छ। निर्माण सुरु हुने भाखा सर्दै छ। 

सर्वसाधारणचाहिँ धूलोकै सास्ती भोग्न बाध्य छन्। 

४ वर्षअघि कलंकी–कोटेश्वर सडक चीनले चिटिक्क र फराकिलो बनाइदिने सम्झौता भएको थियो। 

यही बीचमा कोभिड महामारी आयो। त्यसपछि कामविनै ३ वर्ष बित्यो। सडक बनेन। निर्माण ढिलासुस्तीमा सरकारले चिनियाँ पक्षलाई र चिनियाँ पक्षले सरकारलाई ‘औँला’ देखाउँदै आइरहेका छन्। 

चिनियाँ आर्थिक सहयोगमा निर्माण हुने सम्झौता भए पनि साइट क्लियरेन्स नभएको कारण देखाउँदै चिनियाँ पक्षले काम सुरु गरेको छैन। रुख कटान, विद्युतका पोल सार्ने, ढलको व्यवस्थापन भने भइसकेको छ। केही ठाउँमा मन्दिर बाँकी रहँदा यो चिनियाँ अल्झनको कारण बन्दै आएको छ। 

वर्ष बित्दै जाँदा काम अड्किरहेकै बेला हालका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अब काम छिट्टै सुरु गराउन तल्लीन देखिन्छन्।  

बिहीबार उनले चिनियाँ राजदूतलाई नै लगेर सडक अवस्थाको निरीक्षण गरे। सडकमै राजदूत छन सोङसँग वार्ता गरे। 

योसँगै अब चक्रपथ सडक विस्तारले गति लिने विश्वास जागेको छ। निरीक्षणमा उपप्रधानमन्त्री श्रेष्ठ, चिनियाँ राजदूतसँगै सरोकारवाला निकाय काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए। 

सो क्रममा कलंकीमा १७–१८ वटा बिजुलीका खम्बा हटाउन बाँकी भेटिए। उपप्रधानमन्त्री श्रेष्ठले छिट्टै ती खम्बा हटाउन प्राधिकरणलाई निर्देशन दिए। प्राधिकरणले भने सडकको लेभल कति हुने स्पष्ट नहुँदा पोल नहटाएको जानकारी गरायो। 

‘सडकको लेभल कति हुने भन्ने स्पष्ट नहुँदा १०–१५ वटा पोल सार्न बाँकी रहेछ। १०–१५ दिनमा ती पोल सारी सक्छौँ’, घिसिङले भने। 

कलंकीदेखि स्विचाटार बीचमा सडकमा विद्युतीय पोल खाली गर्नुपर्ने देखिएको छ। 
ठूलो टावर सार्न एकदमै अप्ठ्यारो भएको घिसिङले मन्त्रीलाई जानकारी दिए। 

‘स्वयम्भू क्षेत्रमा मोनो टावरमा तार सारेका छौँ’, घिसिङले भने, ‘त्यसको लागि करिब डेढ वर्ष नै लाग्यो।’

घिसिङले कलंकीदेखि धोबीखोलासम्म पोल सार्ने काम सकिएको बताए। विद्युत् प्राधिकरणको पोलको कारणले कुनै पनि ठाउँमा अब अवरोध नरहेको उनको भनाइ छ। 

प्राधिकरणले पोल सारेपछि दूरसञ्चारले विद्युतका पोलमै तार तानेका छन्। 

चीन सरकारको सहयोगमा कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ सडक बनिसकेको छ। ४ वर्षअघि नेपाल सरकार र चीन सरकारबीच दोस्रो चरणको कलंकीदेखि महाराजगञ्जसम्म विस्तार गर्ने सम्झौता भएको थियो। 

‘बीचमा धेरै समय काम हुन सकेन। मन्त्रालयमा चिनियाँ राजदूत हामीबीच छलफल भयो। यसलाई छिटो सक्ने समझदारी भएको छ’, मन्त्री श्रेष्ठ भन्छन्, ‘त्यहाँ समस्या के–के छन्। गम्भीरतापूर्वक अध्ययन ग¥यौँ। केही समस्या समाधान गरेका छौँ।’

मन्त्री श्रेष्ठले केही विद्युतीय पोल सार्न बाँकी रहेको बताए। यसबाहेक केही साना मन्दिर स्थानान्तरण गर्ने गरी हटाउने सहमति भएको उनको भनाइ छ। 

‘पुलिस बिट थिए। त्यसलाई हटायौँ, अब बाँकी काम हामी छिट्टै सुरु गर्ने दिशामा छौँ’, मन्त्री श्रेष्ठले थपे, ‘चिनियाँ राजदूतले छिट्टै सुरु गर्छौँ भन्नुभएको छ, हामीले पनि समस्या समाधान गर्ने भनेका छौँ।’

निर्माण सुरु गर्नुअघिका अधिकांश काम सकिएकाले छिट्टै सुरु गर्ने सहमति भएको छ। 

यता चिनियाँ राजदूतले पनि अवरोध नभएको जनाउँदै चाँडै काम सुरु हुने बताएका छन्। 

निरीक्षणमा मन्त्री श्रेष्ठसँगै गएका उनले सडक अवस्थाबारे जानकारी लिएका थिए। 
उनले भने, ‘काम सुरु गर्न अब अवरोध छैन। सुरु गर्छौँ।’ 

चिनियाँ सरकारसँग कलंकीदेखि महाराजगन्ज चोकसम्म चक्रपथ विस्तारको सम्झौता भएको छ। सरकारले धोबीखोलासम्म गरिदिन आग्रह गरेको छ।

‘चीन सरकारलाई महाराजगन्जदेखि धोबीखोलासम्म काम गरिदिन अनुरोध गरेका छौँ’, मन्त्री श्रेष्ठले भने।

‘राजदूत नै हेर्न गएपछि चाँडो निर्माण गर्न दबाब पर्छ’
सामान्यतया राजदूत यसरी सडकमा जाँदैनन्। मन्त्रालयका सहसचिव शिवप्रसाद नेपालले राजदूतहरु स्थलगत अनुगमनमा कम जाने बताउँछन्। 

‘दातृ निकाय वा कुनै देशको सहयोगमा निर्माण भइरहेका सडकको समस्या आए मन्त्रालयमै छलफल हुने गरेको थियो’, नेपालले भने, ‘उपप्रधानमन्त्रीले राजदूतसँग छिटो निर्माण सुरु गर्न सडकमै छलफल गर्दा सम्बन्धित पक्षलाई दबाब पर्छ।’

त्यसो त यसअघि पनि भारतीय राजदूत हुलाकी सडक निर्माणको निरीक्षण गर्न गएका थिए। समस्या भइरहेको आयोजनामा उच्चस्तरीय निरीक्षण हुँदा समस्या समाधानमा सबै लाग्ने नेपाल बताउँछन्। 

विस्तारसँगै यो खण्डमा ६२ मिटरको सडक हुनेछ। जसमा ५० मिटरको सडक र १२ मिटरको ट्रयाक रोड बन्नेछ। स्वयम्भूमा ग्रिन बेल्ट घटाएर बनाउने समझदारी बनेको छ। 

‘चिनियाँ पक्षले अब काम सुरु गर्ला। अब डिजाइन हुन्छ त्यसपछि मात्रै निर्माण’, उनले भने, ‘स्वयम्भू, बालाजु चोक, बसपार्क लगायतका ठाउँमा फरक–फरक डिजाइन गर्नुपर्छ।’

डिजाइन पास भएर सम्झौता भएपछि चिनियाँ कम्पनीले निर्माण सुरु गर्छ। 

 भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .