ad ad

कारोबार


२ अर्थमन्त्री : जनार्दनले ४५ अर्ब र पौडेलले बाँडे १७ अर्ब गैरबजेटरी रकम

२ अर्थमन्त्री : जनार्दनले ४५ अर्ब र पौडेलले बाँडे १७ अर्ब गैरबजेटरी रकम

दीपक भट्ट
फागुन १६, २०७९ मंगलबार १२:२४, काठमाडौँ

चालू आर्थिक वर्षको साढे ७ महिनामा दुई अर्थमन्त्रीले ६३ अर्ब गैरबजेटरी रकम बाँडेका छन्। 

चुनावी सरकारका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र चुनावपछि गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले उक्त परिमाणमा गैरबजेटरी रकम वितरण गरेका हुन्। 

बजेटमा विनियोजन भएको रकमभन्दा बाहिर गएर यी दुई अर्थमन्त्रीले कुल ६३ अर्ब रुपैयाँ बाँडेका छन्। दुईमध्ये २ महिना ४ दिन अर्थ मन्त्रालय सम्हालेका अर्थमन्त्री विष्णु पौडेलले १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजित बजेटभन्दा बाहिरको पैसा विभिन्न आयोजनालाई बाँडेका छन्। 

त्यस्तै चालू आर्थिक वर्षमा शर्माले साढे ५ महिना अर्थ मन्त्रालय सम्हाल्दा ४५ अर्ब १६ करोड रुपैयाँ बाँडेको देखिएको छ। उनले बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्यतर्फ साउन महिनामै १६ अर्ब ४० करोड रुपैयाँ गैरबजेटरी सहमति दिएका थिए। तर त्यो रकम रासायनिक मल खरिदको लागि थियो। 

भदौ महिनामा तत्कालीन अर्थमन्त्री शर्माले कर्णालीको झुप्राखोला वरिपाटी सडक र सिन्धुपाल्चोकको बलेफी जलविरे सडकको लागि झण्डै १ अर्ब रुपैयाँ गैरबजेटरी पैसा बाँडेका छन्।

त्यसैगरी असोजमा उनले गोठाटार वृद्धाश्रम बनाउन, सन्धिखर्च गुल्मिी सडक खण्ड, पुरानकोट सडक सिन्धुपाल्चेक, काकरभित्ता रिङरोड,गाईघाट मुर्कुची सडक, कर्णलीको सुभाघाट घुमखोरे रोड, खोलापास रोड, कोहलपुर रंगशाला, कीर्तिपुर रंगशाला, भेरी करिडोर, राजविराज छिन्नमस्ता सडक, धोबीखोला सडक, जाजरकोट सडक, चौरासे गैगटे  सडक, रुकुम पश्चिमको खानेपानी, रुकुम फुटबल रंगशालामा गरेर १० अर्ब ४६ करोड रुपैयाँ विनियोजनभन्दा बाहिरको रकम बाँडेका छन्।

शर्माले कात्तिकमा अन्तःशुल्क स्टिकर छपाइको लागि, मुसिकोट मैकोट सडक, डुम्रे बेसीसहर सडक, थवाङ मुसिकोट सडक, गुटु कर्णाली सडक, रीडी तम्घास सडक, तमोर अरुण करिडोरलगायतका आयोजनामा गरी १३ अर्ब ३० करोड रुपैयाँ बाँडेका छन्।

मंसिरमा उनले सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाको लागि २ अर्ब र रक्षा मन्त्रालयको राष्ट्रिय प्रतिरक्षा विद्यालय बनेपा स्थापना प्रयोजनको लागि २ अर्ब रुपैयाँ बजेटमा नपरेको पैसाँ बाँडेका छन्। 

यता पुस महिनामा अर्थ मन्त्रालयको कमान सम्हाल्न आएका विष्णु पौडेलले पनि गैरबजेटरी रकम वितरणलाई कायमै राखेको देखिएको छ। 

उनले अर्थ मन्त्रालय सम्हालेपछि १७ अर्ब ८३ करोड रुपैयाँ गैरबजेटरी रकम बाँडेका छन्। त्यसमा १५ अर्ब २३ करोड रुपैयाँ रासायनिक मलको लागि पैसा स्रोत सुनिश्चित गरेको देखिन्छ। 

पौडेलले गैरबजेटरी निकासा दिएका अन्य आयोजनाहरुमा भने सर्लाही घाँसेबाली भवन निर्माणको लागि ८० करोड, नारायणचार मानेभन्ज्याङ सडकको लागि २ करोड ५० लाख, गुल्मीको रुरुक्षेत्र सडकको लागि २० करोड, सशस्त्र प्रहरीको बीओपी स्थापनाको लागि १ अर्ब ७५ करोड, सशस्त्र प्रहरीको पोशाकको लागि ३५ करोड रुपैयाँ र त्रिशूली बजारको ढल निकासको १९ करोड रुपैयाँ गैरबजेटरीको लागि सहमति दिएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको हो। 

त्यस्तै चालू आर्थिक वर्षमा एक बजेट शीर्षकबाट अर्को बजेट शीर्षकमा १ करोडभन्दा बढी रकमान्तर गरेको देखिएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको हालसम्म २२ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर भएको देखिएको छ। 

त्यस्तै अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार साढे ४ करोड रुपैयाँ हाराहारीमा सहायता रकम निकासा गरेको छ। 

त्योबाहेक बजेटमा परेभन्दा विविध शीर्षकमा निकासा भएको रकम पनि ठूलो अंकमा देखिएको छ। त्यो भनेको निर्वाचनदेखि भइपरी आएको रकममा खर्च गर्दा धेरै खर्च भएको देखिएको छ। 

यस्तो खर्च भदौ महिनामा २ अर्ब २५ करोड, असोज महिनामा ८८ करोड, कात्तिक महिनामा १७ अर्ब ३० करोड रुपैयाँ निकासा भएको देखिएको हो। 

त्यस्तै मंसिर महिनामा ४२ करोड रुपैयाँ खर्च भएको देखिएको छ भने पुसमा २९ करोड र माघमा ५ करोड ४५ लाख रुपैयाँ निकासा भएको देखिएको छ। 

यी तथ्याङ्कले चालू आर्थिक वर्षमा करिब १ खर्ब हाराहारीमा विनियोजित बजेट शीर्षकभन्दा बाहिर गएर खर्च भइसकेको देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .