ad ad

कारोबार


वैदेशिक सहायता : कमजोर तर गत वर्षभन्दा बढी

यी हुन् वैदेशिक सहायतामा प्रक्रिया अघि बढेका आयोजना
वैदेशिक सहायता : कमजोर तर गत वर्षभन्दा बढी

दीपक भट्ट
फागुन १८, २०७९ बिहिबार १५:०, काठमाडौँ

चालू आवमा सरकारको आम्दानी निकै कमजोर छ। सोही कारण खुलेर खर्च गर्न सक्ने स्थितिसम्म छैन। बुधबारसम्म संघीय सरकारको खाता १ खर्ब ४९ अर्ब घाटामा छ। 

यसरी खर्च व्यवस्थापनमा सकस पर्नुमा वैदेशिक सहायता पनि मुख्य कारणमा पर्छ। किनभने सरकारको आम्दानीमा वैदेशिक ऋण र वैदेशिक अनुदानलाई पनि प्रमुख मानिन्छ। जुन गत वर्ष निकै कमजोर बन्यो। 

यद्यपि वैदेशिक सहायता चालू आवमा गत आर्थिक वर्षभन्दा अधिक नै देखिएको छ।  

चालू आवको बजेटमा विकास सहायताअन्तर्गत अनुदानबाट ५५ अर्ब ४५ करोड ८३ लाख र ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड ११ लाख गरी जम्मा २ खर्ब ९७ अर्ब ७१ करोड ९४ लाख परिचालन हुने लक्ष्य छ। यो कुल बजेट रकमको १६ दशमलव ६ प्रतिशत हो। 

सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब १४ अर्ब छ। चालू आवको ६ महिनामा १ खर्ब ३७ अर्ब रुपैयाँको प्रतिबद्धता आएको छ। 

गत वर्षको अवस्था हेर्ने हो भने ६ महिना अवधिमा विकास आयोजना कार्यक्रम कार्यान्वयन गर्न अनुदान सहायतातर्फ ६ अर्ब, सहुलियत ऋण सहायतातर्फ १ खर्ब ४ अर्ब र १ खर्ब १० करोड रुपैयाँबराबरको मात्र प्रतिबद्धता प्राप्त भएको थियो। 

सहायता प्राप्तिको विषय हेर्ने हो भने पनि त्यस्तै छ। चालू आर्थिक वर्षमा वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड र वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड प्राप्ति हुने अनुमान गरिएकोमा ६ महिनामा अनुदानबाट ८ अर्ब १२ करोड र ऋणतर्फ २६ अर्ब ४६ करोड रुपैयाँ मात्र प्राप्त भएको छ। यो अनुमानको ११ दशमलव ६१ प्रतिशत मात्रै हो। 

चालू आर्थिक वर्षमा सहायताको शोधभर्ना स्थिति हेर्ने हो भने चालू आर्थिक वर्षको सुरुमा वैदेशिक सहायतातर्फ ३६ अर्ब ९० करोड शोधभर्ना प्राप्त गर्नुपर्ने रकम रहेकोमा खर्च १७ अर्ब २२ करोड जोड्दा ५३ अर्ब ९४ करोड पुगेको छ। त्यसमा अहिलेसम्म २७ अर्ब २२ करोड रुपैयाँ ६ महिनामा प्राप्त भएको बताएको छ। अब २६ अर्ब ७२ करोड रुपैयाँ शोधभर्ना लिन बाँकी रहेको अर्थ मन्त्रालयले जानकारी गराएको छ। 

तर गत आर्थिक वर्षमा १० अर्ब ८६ करोड वस्तुगत सहायता प्राप्त भएको थियो। त्यसका साथै शोधभर्ना गत आर्थिक वर्षको सुरुमा २३ अर्ब ९३ करोड रहेकोमा उक्त वर्षको ६ महिनामा सकिँदा ३९ अर्ब ६६ करोड पुगेको थियो। त्यसमा ६ महिना अवधिमा ३१ अर्ब ८९ करोड प्राप्त भएको थियो।

वैदेशिक सहायतामा प्रक्रिया अघि बढेका आयोजना 
हाइवे इम्प्रुभमेन्ट प्रोजेक्टअन्तर्गत काँकडभिट्टा–लौकही खण्ड कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर ३० करोड (करिब ३९ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता सम्पन्न भएको छ।

स्कुल सेक्टर ट्रान्फरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करिब १३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ताको चरणमा छ।

त्यस्तै क्वालिटी हेल्थ सिस्टम प्रोजेक्टका लागि विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करिब १३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न आयोजना दस्तावेज भएको छ।

दोस्रो फिस्कल डीपीसी२ अन्तर्गत विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करिब १३ अर्ब) बराबरको बजेटरी सहायताको रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त हुने गरी तयारी भइरहेको छ।

यता फाइनान्स ग्रोथ परियोजनाअन्तर्गत विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करिब १३ अर्ब रुपैयाँ) बराबरको बजेटरी सहायताको रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त हने गरी तयारी भइरहेको छ। 

दूधकोशी जलविद्युत् जलाशययुक्त आयोजना (६३५ मे.वा.) कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर ५८ करोड (करिब ७५ अर्ब ४० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने आशय प्राप्त भएको छ। सोसहित अन्य दातृसंस्थाबाट लगानी जुटाउन समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, माथिल्लो अरुण जलविद्युत् अर्धजलाशययुक्त आयोजना ( १०६१ मे.वा.) को विकास र कार्यान्वयनका लागि विश्व बैंकबाट अमेरिकी डलर ५० करोड (करिब रू. ६५ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता जुटाउन गृहकार्य भएको तथा बाँकी रकम जुटाउन अन्य सम्भाव्य लगानीकर्तासँग समन्वय भइरहेको छ।

तीबाहेक कस्टुम र लजिस्टिक रिफर्म कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर ५ करोड (करिब ६ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने क्रममा रहेको छ।

सार्वजनिक वित्त व्यवस्थापन तथा सेवा प्रवाहलाई सहज बनाउने कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर १० करोड (करिब १३ अब रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने क्रममा पूर्वतयारीको काम भइरहेको छ। 

लोकल संरचना सहयोग कार्यक्रम कार्यान्वयनका लागि बेलायत सरकारबाट अनुदान सहायताको रूपमा पाउण्ड स्टर्लिङ्ग ९ करोड (करिब १४ अर्ब ४० करोड रुपैयाँ) प्राप्त गर्न समझदारी पत्रको मस्यौदा तयार भएको छ।

यता विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन लगायत अन्य क्षेत्रका लागि युरोपियन युनियनबाट बजेट सहायताका रूपमा ४ करोड युरो अनुदान प्राप्त गर्ने सन्दर्भमा सम्बन्धित मन्त्रालयबाट राय प्रतिक्रिया प्राप्त भएको र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राय प्रतिक्रिया प्राप्त हुने चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ। 

कृषि र ग्रामीण विकासका लागि योगदानमार्फत युरोपियन युनियनबाट १ करोड ५६ लाख रुपैयाँ अनुदान प्राप्त गर्न क्रममा कृषि विकास रणनीतिको प्रगति विवरण माग भएकोमा सो अनुसारको विवरण पठाई निकासाका लागि युरोपियन युनियनलाई अनुरोध गरिएको र सहायता प्राप्त हुने प्रक्रियामा पुगेको छ। 

ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर ८ करोड ८ लाख (करिब १ अर्ब १९ करोड रुपैयाँ) अतिरिक्त लगानीबापत सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा द्विपक्षीय वार्ताको चरणमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .