ad ad

कारोबार


भारतसँग तीन मुख्य जलविद्युत् आयोजनाको सम्झौता गर्ने तयारी

भारतसँग तीन मुख्य जलविद्युत् आयोजनाको सम्झौता गर्ने तयारी

भारत भ्रमणका क्रममा पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (फाइल तस्बिर)


दीपक भट्ट
चैत ५, २०७९ आइतबार १३:७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमण जाने तयारीमा छन्।

संसदबाट विश्वासको मत लिएर मन्त्रीमण्डल विस्तारसँगै भारत भ्रमणको तयारी भइरहेको हो। 

सो क्रममा प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा ठूलो सम्झौता गर्ने तयारी गर्न ऊर्जासम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। 

गत शुक्रबार प्रधानमन्त्रीले लगानी बोर्डका सूचीकृत आयोजनामा देखाएको चासोलाई पनि यसैसँग जोडेर हेरिएको छ। 

लगानी बोर्डका अध्यक्षसमेत रहेका उनले बोर्डमै पुगेर आयोजनाबारे जानकारी लिएका थिए। जहाँ उनको विशेष चासो जलविद्युत् आयोजनामा बढी थियो।

बोर्डमै पुगेका उनले परियोजना विकासकर्ताहरूसँग समेत भेटघाट र अन्तर्क्रिया गरेका थिए। 

तत्काल सम्झौता अघि बढाउन सकिने आयोजनाबारे बुझेपछि उनले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई आवश्यक निर्देशन समेत दिएका थिए। 

अन्तर्क्रियाका क्रममा अरुण तेस्रो तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी सिमेन्ट, हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजना, माथिल्लो मर्स्याङ्दी २ अर्धजलाशययुक्त जलविद्युत् परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी ६ अर्धजलाशययुक्त जलविद्युत् परियोजना र माथिल्लो त्रिशूली१ जलविद्युत् परियोजनाबारे छलफल भएको थियो।

त्यस्तै डाबर नेपाल, चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीबारे जानकारी गराएको सीईओ भट्ट बताउँछन्। 

उनका अनुसार समग्रमा लगानीबोर्डमा विभिन्न चरणमा काम भइरहेका आयोजनाको प्रगतिबारे समेत छलफल भएको थियो।

त्यसका साथै ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना र ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाबारे प्रधानमन्त्रीले विशेष चासो दिएका थिए। 

उक्त छलफलपछि प्रधानमन्त्रीले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन र लगानी बोर्डको भावी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिएका थिए।

भारत भ्रमणमा ३ सम्झौताको तयारी 
लगानी बोर्डका एक अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मुख्य तीन आयोजनाको सम्झौता गर्ने तयारी गरेका छन्। 

तिनमा ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना, ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना र नेपाल–भारत हुँदै बंगलादेशसम्मको प्रसारणलाइन छन्। 

यसबाहेक नेपालले बंगलादेशसम्मको डेडिकेटेड प्रसारणलाइनको प्रस्ताव समेत गर्ने भएको छ। 

सो क्रममा ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन लिमिटेड)लाई दिने तयारी गरिएको छ। 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको गत वर्ष भएको भारत भ्रमणमा संखुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाचल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। 

त्यस्तै आगामी भ्रमणको क्रममा ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना अघि बढाउने सम्झौता हुने सम्भावना समेत रहेको बोर्डका ती अधिकारी बताउँछन्। 

उनले भने, ‘भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई फुकोट कर्णाली दिनेबारे केही पहिलेदेखि नै तयारी भइरहेको छ। प्रधानमन्त्रीको अब हुने भारत भ्रमणका क्रममा सम्झौता हुनसक्छ।’ 

यही कमपनीले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत् आयोजना विकास गर्ने जिम्मेवारी पाइसकेको छ। 

यीबाहेक अरु आयोजना र अन्य एजेन्डा समेत रहनसक्ने र त्यसको तयारी परराष्ट्र मन्त्रालय तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने ती अधिकारी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .