ad ad

कारोबार


एमसीएले सक्यो विद्युत् प्रसारणलाइन र सबस्टेसनका सबै टेन्डर

एमसीएले सक्यो विद्युत् प्रसारणलाइन र सबस्टेसनका सबै टेन्डर

प्रतिनिधिमूलक तस्बिर


वसन्त अर्याल
चैत १०, २०७९ शुक्रबार १२:३९, काठमाडौँ

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले प्रसारण लाइन्स र सबस्टेसनसम्बन्धी सबै ठेक्का आह्वानको काम सकेको छ। 

एमसीएले विद्युत् प्रसारणसम्बन्धी आवश्यक ३ वटै टेन्डर आह्वान गरिसकेको हो। 

एमसीए नेपालले ट्रान्समिसन लाइन (प्रसारणलाइन) र सबस्टेसन निर्माणसँगै तिनको सुपरभिजन इन्जिनियरको लागि छुट्टै टेन्डर आह्वान गरिसकेको जनाएको छ। 

३ वटा टेन्डरमध्ये महत्वपूर्ण सबस्टेसनको टेन्डर शुक्रबार आह्वान गरेको हो। एमसीए नेपालले ३ वटा सबस्टेसन बनाउन ग्लोबल टेन्डर आह्वान गरेको छ। 

एमसीएले आयोजनाको डिजाइन, सप्लाई, डेलिभरी, निर्माण र परीक्षण गर्ने गरी ३ वटा सबस्टेसन निर्माण गर्ने भएको हो। 

पहिलो लटमा रातामाटे सबस्टेसन निर्माण हुनेछ। यसको ठेक्का लिनेले लप्सीफेदी र न्यू हेटौंडा सबस्टेसनको काम पनि गर्नुपर्छ। 

‘नुवाकोटको रातमाटेमा सबस्टेसन बनाउनेले काठमाडौंको लप्सीफेदी र न्यू हेटौंडा सबस्टेसनमा पनि काम गर्नुपर्छ’, ती अधिकारीले भने, ‘लप्सीफेदी र हेटौंडामा विद्युत् प्राधिकरणका सबस्टेसनमा एमसीएको लाइन जोड्ने काम हो।’

दोस्रो लटमा ४०० केभीकै न्यू बुटवल सबस्टेसनको लागि टेन्डर आह्वान गरेको छ। तेस्रो लटमा ४०० केभीको न्यू दमौली सबस्टेसन बन्नेछ। 

एमसीएले गत मंसिरमा प्रसारणलाइनको ३१५ किलोमिटर प्रसारणलाइनको टेन्डर आह्वान गरेको थियो। लप्सीफेदी–रातमाटे–हेटौंडा ११७ किलोमिटर, रातमाटे–न्यू दमौली ९० किलोमिटर र न्यू दमौली–न्यू बुटवलसम्म ९० किलोमिटरको लागि टेन्डर आह्वान भएका छन्। 

एमसीएका अनुसार जग्गा अधिग्रहणको काम ३ चरणमा गर्दै छ। नुवाकोटको रातमाटेमा सबस्टेसनको लागि पहिला नै अधिग्रहण गरिसकेको छ। 

एमसीएले अब प्रसारणलाइनको जग्गा अधिग्रहण गर्दै छ। पहिलो चरणमा चितवन, नवलपुर र नवलपरासी पश्चिममा प्रक्रिया अगाडि बढाइसकेको छ। 

दोस्रो चरणमा धादिङ, तनहुँ र पाल्पामा अधिग्रहण गरिएको छ। तेस्रो चरणमा मकवानपुर र नुवाकोटको लागि सूचना जारी गरेको छ। अब काठमाडौं र सिन्धुपाल्चोकमा प्रसारणलाइनको जग्गा अधिग्रहण सूचना जारी गर्न बाँकी छ। 

‘काठमाडौं र सिन्धुपाल्चोक सबस्टेसन बनाउँदा स्थानीयबाट प्राधिकरणको विरोध भइरहेको छ’, उनी भन्छन्, ‘प्राधिकरणले सबस्टेसनको समस्या समाधान गरेसँगै हामीले प्रसारणलाइनको जग्गा अधिग्रहण सुरु गर्छौँ।’

शुक्रबार मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले   मकवानपुरमा जग्गा प्राप्तिको लागि सूचना जारी गरेको छ। डबल सर्किट ४०० केभी क्षमताको प्रसारणलाइन आयोजनाअन्तर्गत विद्युत् प्रसारणलाइनको टावर निर्माण गर्न जग्गा प्राप्ति गर्ने सूचना जारी गरेको हो। 

मकवानपुर जिल्लाका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, कैलाश र राक्सीराङ गाउँपालिकामा स्थायी रुपमा जग्गाप्राप्ति गर्ने भएको छ। 

एमसीएले उक्त क्षेत्रमा पर्ने जग्गाको नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्न प्राविधिक टोलीसहित सम्बन्धित वडामा जानेछ। चैत २ गते बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकबाट कारबाही चलाई जग्गाप्राप्तिको कार्यअगाडि बढाउने निर्णय भएको छ। 

एमसीएले जग्गा अधिग्रहणको प्रक्रिया पूरा गर्न अझै ६ महिना लाग्ने भएको छ। 

जग्गा अधिग्रहण गर्दा खाद्यान्न बाली, फलफूल खेती भए त्यसैअनुसारको क्षतिपूर्तिसहित मुआब्जा वितरण गर्ने एमसीएले जनाएको छ। 
 
२४ मार्चमा पहिलोपटक आह्वान भएको टेन्डरमा जुन ३० सम्म टेन्डरमा आवेदन दिन सक्नेछन्। लट नम्बर १ को लागि ४ लाख २५ हजार अमेरिकी डलर, लट १ को लागि २ लाख ६० हजार डलर र तेस्रो चरणको लागि २ लाख ७० हजार डलर बिड सेक्युरिटी रकम रहेको छ। 

‘हामीले बनाउने ३ वटा सबस्टेसन हो। ३ वटै सबस्टेसनको टेन्डर आह्वान गरेका छौँ’, एमसीएका एक अधिकारीले भने, ‘अब सबस्टेसन र प्रसारणलाइनसम्बन्धी टेन्डर आह्वानको काम सकिएको छ।’

नेपालको अर्थ मन्त्रालय र अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसनबीच सम्झौता भई २०१७ मा ५०० मिलियन डलर नेपाललाई अनुदान दिने र १३ मिलियन डलर नेपालले लगानी गर्ने सम्झौता भएको थियो। 

२०२३ को अगस्टबाट ‘इन्ट्रि इन्टु फोर्स’मा जाँदै छ। अर्थात् यही मितिले ५ वर्षभित्र यो परियोजना कार्यान्वयन भइसक्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .