ad ad

कारोबार


सहकारीको तनावले ढोरपाटनका मेयर बेपत्ता, विदेश जान सरकारको प्रतिबन्ध

धमाधम पर्दै छ निक्षेपकर्ता र सेयर सदस्यहरुको उजुरी
सहकारीको तनावले ढोरपाटनका मेयर बेपत्ता, विदेश जान सरकारको प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८० सोमबार १३:४६, काठमाडौँ

बागलुङको ढोरपाटन नगरपालिकाको मेयर पदमा दोस्रो कार्यकाल सम्हालिरहेका देवकुमार नेपाली अध्यक्ष रहेको इमेज बचत तथा सहकारी संस्थाले गत वैशाख ६ गते सबै कारोबार बन्द भएको सूचना निकाल्यो।

बागलुङ बजारमा मुख्य कार्यालय खोलेर ढोरपाटन नगरपालिका-१, पोखरा र बागलुङ नगरपालिका-२ मा पनि शाखा कार्यालय सञ्चालन गरिरहेको उक्त सहकारीलाई लिएर अध्यक्ष नेपाली त्यसअघि नै तनावमा थिए।

देशमा बढ्दो आर्थिक संकटसँगै अन्य जिल्लका सहकारीहरुमाथि पनि रकम हिनामिनाको आरोप लागिरहेका बेला मेयरसमेत रहेका नेपालीले पनि त्यही कुरा खेप्नुपर्यो। 

निक्षेपकर्ताको करिब ४० करोड रुपैयाँ बचत रहेको उक्त सहकारीमा डेढ महिनाअघि नै तनावको अवस्था आएको थियो। एकै पटक धेरै निक्षेपकर्ताले पैसा फिर्ता माग्न थालेपछि अध्यक्ष नेपालीले त्यतिबेलै सबैलाई भुक्तानी दिन नसकिएको बताएका थिए। 

इमेज सहकारीले पनि वैशाख ६ मै विज्ञप्ति निकालेर एकै पटक धेरैजना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको जनाएको थियो। अध्यक्ष नेपालीले पनि बचतकर्तालाई धैर्य राख्न भनेका थिए।। 

ढोरपाटनका मेयर नेपालीले एकैपटक पैसा निकाल्नेको भीड लागेपछि पैसा फिर्ता दिन मुस्किल परेको स्वीकारेका थिए। 

‘हामीसँग निक्षेपकर्ताको करिब ४० करोड रुपैयाँ छ। ५० प्रतिशत रकम लिक्वीडिटी थियो’, उनले भनेका थिए, ‘एकै पटक धेरै निक्षेपकर्ता फिर्ता माग्न आएपछि पैसा दिन सकिएन। धान्नै नसकिने दबाब आएको छ।’

सहकारीले गत वैशाखदेखि नै तरलता अभाव कारण देखाउँदै कारोबार रोकेको थियो। त्यसपछ गत वैशाखदेखि नै बचतकर्ता धर्नामा बसेका थिए। 

यो सहकारीले १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभन निक्षेपकर्तालाई दिएको खुलेको छ। कतिपयले त्यहीकारण बैंकमा जम्मा गरेको रकम पनि झिकेर सहकारीमा हालेका थिए। 

प्रशासन घेर्न पुगेका निक्षेपकर्ता
विवादबीच वैशाखमै आफू तनावमा रहेको बताएका मेयर नेपाली जेठ ५ देखि गायब भएका छन्। निक्षेपकर्ताको दबाब झेल्न नसकेपछि उनले आर्थिक समस्या भएकाले मानसिक तनाव बढेको भन्दै उनले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा पत्र नै पठाएका थिए। 

प्रहरीलाई लेखेको उक्त पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्योपचार गर्न बाहिर जानुपर्ने भन्दै व्यहोरा उल्लेख गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले उल्लेख गरेकी छन्। प्रजिअ श्रेष्ठका अनुसार नेपालीले प्रहरीसँग आफ्नो सम्पत्तिको रक्षा गरिदिन पनि भनेका थिए। 

‘मेयर नेपाली अध्यक्ष रहेको इमेज सहकारीका निक्षेपकर्ताहरु अहिले धमाधम हामीकहाँ आइरहनु भएको छ। निक्षेप गायब भएको भन्दै निवेदन दिइरहनु भएको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘इमेज सहकारीका सेयर सदस्य/ निक्षेपकर्ताले मेयर नेपाली भागेको भन्दै निवेदन दिनु भएको छ। तर उहाँलाई सम्पर्क गर्दा अहिले पनि मोबाइल फोन बन्द छ।’

प्रजिअ श्रेष्ठले प्रशासनमा आएका उजुरीहरुलाई सहकारी विभागमा पठाइरहेको जानकारी दिएकी छन्। ‘हामीले यो समस्याबारे सहकारी विभागलाई पनि भनिसकेका छौँ। निक्षेपकर्ता र सेयर सदस्यहरुको उजुरी पनि उतै फरवार्ड गरिरहेका छौँ’, उनले भनिन्, ‘सहकारी अध्यक्ष नआएसम्म यसबारे निर्णय लिन पनि समस्या भएको छ। उहाँको खोजीका लागि प्रहरी पनि सक्रिय छ।’

२०७४ मा नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि एमालेमा प्रवेश गरेर नेपाली ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। अघिल्लो वर्षको वैशाख ३१ गते उनी एमालेबाटै दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए। 

जेठ ५ गतेदेखि सम्पर्कविहीन उनी नेपालबाहिर पनि जान सक्ने भन्दै खोजीका लागि गृह मन्त्रालयमा पनि पत्र पठाइएको प्रजिअधि श्रेष्ठले  बताइन्। प्रहरीका अनुसासर इमेज सहकारीको मुख्य कार्यालय रहेको बागलुङबाट अध्यक्ष नेपाली यही जेठ १ गते बुर्तिबाङ गएका थिए। 

अध्यक्ष नेपाली आफ्ना गाडी चालकसँगै सम्पर्कविहीन भएका हुन्। प्रहरीका अनुसार नेपालीसँगै उक्त सहकारीका अरु संचालक पनि मोबाइल बन्द गरेर गायब भएका छन्। 

यात्रा अनुमतिमा प्रतिबन्ध 
तीन दिनदेखि गायब भएका अध्यक्ष नेपालीलाई प्रहरीले खोजिरहेको छ। उनको अत्तोपत्तो नभएपछि देशबाहिर जान नदिने गरी गृहमन्त्रालयले पत्र काटेको छ।

अध्यक्ष नेपालीलाई गृहमन्त्रालयले आइतारदेखि विदेशको यात्रा अनुमतिमा रोक लगाएको छ।

जिल्ला प्रशासन बागलुङको पत्रअनुसार गृहले अध्यागमन विभागलाई नेपालीसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको हो। गृहमन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलले विभागलाई पत्र लेखेर यस्तो निर्देशन दिएका हुन्। 

इमेज सहकारीकाअध्यक्ष मेयर नेपाली भागेर विदेशिन सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालय बागलुङले गृहलाई पत्र लेखेको थियो।

गृहले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द गरेको छ। 

यात्रा अनुमति रोकिएका विक गलकोट नगरपालिका-११ निवासी हुन्। उता शाही निसीखोला गाउँपालिका-३  निवासी हुन्। नेपालीसहित अन्य ढोरपाटन नगरपालिका- १ निवासी हुन्। 

सहकारी संकटमा पर्दै गएपछि मेयर नेपालीले २०७९ चैतमा राजीनामा दिएका थिए। त्यसपछि कार्यवाहक अध्यक्षका रुपमा परियारले सहकारी सम्हालिरहेका थिए। 

विदेश जान रोक्न अध्यागमनलाई गृहको पत्र

दोस्रो जित
नेपाली ढोरपाटन नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए। सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई उनले हराएका थिए। 

नेपाली ५ हजार सात सय ३५ मतसहित विजयी भएका थिए। अर्यालले ५ हजार एक सय ३५ मत ल्याएका थिए।  

नगरपालिकाको उपमेयरमा भने सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेसका धनबहादुर कायत कल्याण विजयी भएका थिए। 

नगरपालिकाका नौ वडामा एमाले ६ वडामा विजयी भएको थियो। कांग्रेस एक, माओवादीका एक र राष्ट्रिय जनमोर्चा एक वडामा मात्रै विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .