ad ad

कारोबार


सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश, जोगियो सेयर सदस्यको रकम

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश, जोगियो सेयर सदस्यको रकम

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८० बुधबार १०:६, धादिङ

धादिङको साना किसान कृषि सहकारी संस्था (सुनौला बजार) का सेयर सदस्य कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लीलादेवी पोखरेल  अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाई भराई पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाका पक्षमा फैसला भएको छ। 

विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धक पोखरेलले सेयर सदस्यबाट लिएको रकम हिनामिना भएको भन्दै सहकारीका तर्फबाट २०७८ असार ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। 

जिल्ला अदालतका  न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले २१ पटकको पेसीपछि मङ्गलबार मुद्दाको फैसला गर्दै सहकारीमा कबुल गरेको रु ५९ लाख २७ हजार सहकारीमा तिर्नुपर्ने फैसला सुनाएको श्रेस्तेदार खुम भण्डारीले जानकारी दिए। सहकारीले साना किसान विकास बैंकको सहयोगमा हिसाब गरी साँवा र ब्याजसहित असुलका लागि मुद्दा दिएको थियो। मागदाबीबमोजिम आंशिक दाबी पुग्ने भन्दै फैसला भएपछि किसानको रकम जोगिएको सहकारीका सदस्य नरबहादुर भण्डारीले बताए। 

सहकारीका व्यवस्थापकले साना किसान विकास बैंकमा हिसाब बुझाउने गर्दा समस्या देखिएपछि सञ्चालक समितिसमेत बसेर जिल्ला अदालतमा मुद्दा सुरु हुनुअघि हिसाब जाँच गरिएको र हिनामिना भएको रकम फिर्ता गर्न अनुरोध गरिए पनि फिर्ता नगरेपछि मुद्दा दायर गरिएको भण्डारीको भनाइ छ। यसअघि सहकारीका व्यवस्थापक लीलादेवी पाखरेल अधिकारीले लेखा समितिका अध्यक्ष दीपक श्रेष्ठसमेत १० जनाविरुद्ध आपराधिक बल प्रयोगबाट गरिएको करकापको लिखत बदर गरी सजाय गरी पाऊँ भनी जिल्ला अदालतमा २०७७ फागुन ४ गते मुद्दा दर्ता गराएका थिए। 

यसैगरी २०७७ फागुन १० गते हिसाब जाँच गरी दायित्व बहन गराइ पाऊँ भनी जिल्ला अदालतमा अधिकारीले मुद्दा दर्ता गराएकामा जिल्ला न्यायाधीश पराजुलीको २०८० जेठ १८ गतेको एकल इजलासले दाबी नपुग्ने ठहर गरेको छ।

सुनौला बजार साना किसान कृषि सहकारी संस्थाले सहकारीका व्यवस्थापक अधिकारीलाई २०७७ देखि नै निलम्बन गरेको थियो। सेयर सदस्यको रकम भएकाले व्यवस्थापकले रकम उपलब्ध गराएपछि सेयर सदस्य किसानको मागबमोजिम आवश्यकतामा आधारित कृषि ऋण उपलब्ध गराउन सकिने सहकारीले जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .