ad ad

कारोबार


अब फराकिलो बन्ला हेटौंडाका मुख्य बजारको सडक?

सिंहदरबारमा जनप्रतिनिधिको छलफल, उपमहानगर सकारात्मक
अब फराकिलो बन्ला हेटौंडाका मुख्य बजारको सडक?

फाइल तस्बिर


सुनिता विष्ट
जेठ २४, २०८० बुधबार १९:४१, हेटौंडा

राजमार्गको दायाँबायाँ २५–२५ मिटरभित्रका घरटहरा भत्काउनेबारे हेटौँडामा दशकौंदेखि संघीय सरकारले प्रयास अघि बढाए पनि दिगो कार्यान्वयन हुन सकेको छैन। 

सडक विभागबाट पटकपटक सूचना जारी गरे पनि घर–टहरा नभत्काउँदा हेटौँडाको मुख्य बजार क्षेत्र साँघुरो छ। 

सूचना निकालेपछि व्यवसायीको आन्दोलन र घरधनीले सर्वोच्च अदालतमा मुद्दा दायरा गर्दा हेटौँडाको सडक विस्तार बर्सेनि रोकिएको हो। 

यसपटक पनि हेटौंडाको सडक विस्तारको चर्चा सुरु भएको छ। बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा बजारको साँघुरो सडकले प्रदेशको राजधानी भन्नै नसुहाँउदो छ। 

बजार क्षेत्रमा अस्तव्यस्त पार्किङ तथा पैदलयात्रीलाई हिँड्ने बाटोसम्म नहुँदा हेटौंडा फराकिलो सहर हुन पाएको छैन। 

हेटौंडा बजार क्षेत्रको सडक फराकिलो बनाउने पटक/पटक कुरा उठे पनि अवरोध हुँदै आएको अवस्थामा संघीय सरकारको बजेटमै हेटौंडाको सडक हुँदै विस्तार योजना अघि बढाएको छ। 

सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि तर्जुमा गरेको बजेटमा पूर्व–पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नति योजना ल्याएको छ। 
उक्त योजनाले हेटौंडा बजार क्षेत्रका त्यस्ता स्थानीयहरुमा त्रास फैलाएको छ जसको सडकमै छुने गरी घरहरु निर्माण भएका छन्।

पूर्व–पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नति योजनाअन्तर्गत उक्त सडक पथलैया–नारायणगढ सडकखण्डमा हेटौँडा बजार क्षेत्र पनि पर्दछ। 

उक्त योजना कार्यान्वयनमा हेटौँडा बजार क्षेत्र मुख्य चुनौती देखिने भएपछि मकवानपुरका संघीय सांसददेखि प्रदेश सांसदसम्म भौतिक पूर्वाधार विकास मन्त्रालयमा छलफलका लागि पुगेका छन्। 

जब हेटौंडा भत्कने बिषयमा छलफल सुरु हुन्छ, तब वैकल्पिक सडकको अवधारणा लिएर संघीय मन्त्रालय धाउनेको ताँती पनि उत्तिकै हुने गरेको छ। 

हेटौंडा बजारभित्र पर्ने सडक विस्तार तथा बाइपास सडक निर्माणको विषयमा छलफल भएको छ। बुधबार मकवानपुरका प्रतिनिधि सभा सांसद एवंम् एमालेका सचेतक महेशकुमार बर्तौला, राप्रपाबाट निर्वाचित सांसद दीपकबहादुर सिंह, बागमती प्रदेश सांसद एवंम् पूर्व मन्त्री एकालाल श्रेष्ठ लगायतले संघीय भौतिक पूर्वाधार विकास मन्त्रालयमा छलफल गरेका हुन्। 

बैठकमा हेटौंडा बजार क्षेत्रको सडक केही फराकिलो र बाइपास सडकको स्तरीकरण गर्ने बिषयमा छलफल भएको बागमती प्रदेशका सांसद श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाइपासको सडकलाई प्रयोगमा ल्याउन मुख्य छलफल भएको हो। 

‘हेटौंडा बजारलाई २५/२५ मिटर बढाउनेभन्दा केही फराकिलो गर्ने बिषयमा छलफल भयो। त्यसका साथै बाइपासको सडकको पनि स्तरीकरण गरेर प्रयोग गर्न छलफल गरेका हौँ। दुवै सडकको आवश्यक छ। त्यसैले संघीय मन्त्रालयमा छलफल गर्न पुगेका हौं,’ उनले भने।

सकारात्मक छ उपमहानगर
हेटौंडा उपमहानगरपालिकाको मुख्य सडक दायाँबायाँ २५/२५ मिटर फराकिलो पार्न उपमहानगर नेतृत्व सकारात्मक देखिएको छ। 

यसअघि बारम्बार प्रयासका बाबजुद बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग फराकिलो पार्न नसकेको उपमहानगर केही समयअघि सडक विस्तारको योजनामा कस्सिएका थियो। 

तत्कालीन मेयर हरिबहादुर महत पनि हेटौंडाको मुख्य सडक फराकिलो पार्नुपर्ने अडानमा थिए। तर उनको अडान टिकेन।

यद्यपि, गठबन्धनबाट मेयरमा निर्वाचित मीनाकुमारी लामाले नगरको अस्तव्यस्त यातायात व्यवस्थापन हटाउन सडक फराकिलो पार्नुपर्ने भन्दै सकारात्मक देखिएकी छिन्।

यसैअनुरुप हेटौंडा उपमहानगरपालिकाले गत साउनमा बजार क्षेत्रको घरटहरा हटाउन निर्देशनसमेत दिएको थियो।

भत्किएला हेटौँडा?
२०७३ साल पुस १४ गते हेटौंडा बजार क्षेत्रमा पहिलो पटक सडक विस्तारका लागि डोजर चलेको थियो। 

५२ वर्षअघि २०२१ सालमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतका क्षेत्रहरूमा सडकको बीचबाट दायाँबायाँ २५–२५ मिटर फराकिलो बनाउने घोषणा भएको थियो। 

उक्त समयमा मनहरी देखि राप्ती रोडसम्मका घरटहरामा डोजर चल्यो। तर जब राप्तीरोडको नेपाल टेलिकमदेखि  बजार क्षेत्रमा डोजर प्रवेश गर्न खोज्यो तब, त्यसक्षेत्रबासी र व्यापारीको आन्दोलनले सडक डिभिजन ‘ब्याक’ भयो।

त्यही बेलादेखि सडक फराकिलो पार्ने बहसले व्यवहारमा रुपान्तरण हुन पाएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .