कारोबार


फर्निचर तथा फर्निसिङ व्यवसायलाई धरासायी हुन नदिन आग्रह

फर्निचर तथा फर्निसिङ व्यवसायलाई धरासायी हुन नदिन आग्रह

नेपालखबर
मंसिर २५, २०८० सोमबार १८:९, काठमाडौँ

फर्निचर तथा फर्निसिङ व्यवसायमा आवद्ध व्यवसायीहरुले यस क्षेत्रलाई धरासायी हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन्। 

नेपाल फर्निचर तथा फर्निसिङ संघको २४ औं वार्षिक साधारण सभाका सहभागीहरुले काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी अवस्थामा पुगेको बताएका हुन्। 

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश अग्रवालले फर्निचर निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ–काठ तथा काठ जन्य वस्तु कुहिएर खेर गइरहेको अवस्थामा समेत सरकारले चासो नदिएको गुनासो गर्दै काठजन्य वस्तुको लिलामी प्रकृयामा फर्निचर तथा फर्निसिङ व्यवसायीलाई सहभागी हुने किसिमको नीति निर्माण गर्न सरकारसमक्ष आग्रह गरे।

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई पटकपटक आह्वान गर्दा समेत सरकारले नीति निर्माणमा ध्यान नदिएको अग्रवालको भनाई छ। 

प्लास्टिक, फर्निचर, कार्पेट, फ्लोरिङका सामाग्री उत्पादनमा नेपाल आत्मनिर्भर हुने चरणमा पुगे पनि काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा र व्यवसायीलाई काठ लिलामीमा सहभागी नगराउँदा आयातित कच्चा पदार्थमा निर्भर हुनु पर्ने बाध्यता रहेको अध्यक्ष अग्रवालले बताए। 

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसाय मूलतः काठमा आधारित व्यवसाय रहेका कारण काठको सहज पहुँचको सुविधा मिलाउन सरकारलाई आग्रह गरे। 

काठबाट निर्मित फर्निचरका लागि नेपालमै कच्चा पदार्थ उपलब्ध भएता पनि आवश्यक नीतिको अभावमा मुलुक अन्य देशमा भर पर्ने अवस्था बनेको बताउँदै उनले व्यवसायीहरुलाई उत्पादनको स्तर गुणस्तरीय बनाउन समेत आग्रह गरेका छन्। 

स्वदेशी फर्निचरको प्रयोग बढाउने उद्देश्यले उनले हरेक सरकारी कार्यालयमा स्वदेशी फर्निचरको प्रयोग गर्न र स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राख्न समेत अनुरोध गरेका छन्। 

'पछिल्लो समयमा व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने क्रम बढेको छ,” श्रेष्ठले भने। यसको समाधानका लागि जिल्लाका फर्निचर तथा फर्निसिङ व्यवसायी संघहरुले समन्वय गर्नुपर्ने उनको भनाई छ। दर्ता नगरी अनलाइनमार्फत हुने व्यापार पछिल्लो समयमा बढ्दै गएको बताएका उनले यसको नियमनका लागि पनि आग्रह गरे। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीले भोग्दै आएका समस्या समाधानका निमित्त नेपाल चेम्बर अफ कमर्सले सरकारी तथा निजी तबरबाट सहयोग गर्न तयार रहेको बताए।

नेपालमा आफ्नो उत्पादनको ब्रान्डिङ गर्ने, कम्पनीको लोगो बनाउने कार्य भएको पाइँदैन। जसकारण स्वदेशमै उत्पादित सामाग्री समेत भारतबाट आयात भएको हो कि भन्ने किसिमको आशंका बढ्दै गएको सत्यलाई बाहिर ल्याउँदै अध्यक्ष मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीहरुलाई ब्रान्डिङ र लोगो निर्माणमा काम गर्न सुझाएका छन्। 

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउन सुरु गरेका छन्। जुन उद्योगी तथा व्यवसाय सञ्चालनका लागि सहज हुने बताउँदै उनले बैंकबाट कर्जा लिँदा संयुक्त रुपमा लिन समेत सुझाव दिए।

यसका साथै उनले व्यवसायीहरु समस्यामा पर्नुको कारण उधारो कारोबार बढ्दै जानुलाई इङ्गित गरेका छन्। व्यवसायीहरुलाई डिजिटल रुपमा कारोबार गर्न पनि उनले प्रोत्साहन गरेका छन्। 

यस्तै काठ लिलामी प्रकृयामा सहभागी हुनका लागि कार्यविधि बनाएर सरकार समक्ष पेश गर्न र सामूहिक दबाब सिर्जना गर्न सुझाव दिएका उनले पछिल्लो समयमा निर्माण क्षेत्र सुस्ताउँदै जाँदा फर्निचर तथा फर्निसिङ उद्योग समेत सुस्ताएको र सबै एकजुट भएर समस्या समाधानमा लाग्नुपर्ने बताए। 

वर्तमान परिपेक्ष्यमा देशको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको र फर्निचर तथा फर्निसिङ व्यवसाय समेत घट्दो क्रममा रहेको व्यवसायीहरुको धारणा छ। करिब १ लाख ५० हजार मानिसहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने फर्निचर तथा फर्निसिङ क्षेत्रको समग्र विकासका लागि सरकारले नीतिगत सहयोग गर्नुपर्ने उनीहरुको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .