कारोबार


आजियटा बाहिरियो, थप लगानी लिएर को विदेशी आउला?

आजियटा बाहिरियो, थप लगानी लिएर को विदेशी आउला?

नेपालखबर
पुस २, २०८० सोमबार १२:१२, काठमाडौँ

तीन महिनापछि नेपालले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दै छ। यसअनुसार आगामी वैशाख ९ र १० गते विदेशी लगानीकर्ताहरुलाई काठमाडौंमा स्वागत गर्ने तयारी गरिएको छ।

निजी क्षेत्रको सफल दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लगानीकर्ता आजियटा ‘नेपालमा लगानीको वातावरण नभएको’ भन्दै बाहिरँदै गर्दा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन कति सफल होला भन्ने प्रश्न उठेको छ। 

नेपालका विभिन्न आयोजनाहरु उनीहरुसामु शोकेस गरी तिनबारे जानकारी दिनलागेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताइसकेका छन्। तर स्वयं अर्थमन्त्री पनि लगानीको वातावरण र सरकारको प्राथमिकताबारे प्रष्ट देखिँदैनन्। 

विदेशी लगानीसँग सम्बन्धित नीति र कानुनी व्यवस्थाहरु संशोधन र कन्ट्री रेटिङको काम समेत सम्पन्न गरिने भनिए पनि त्यसका लागि पर्याप्त गृहकार्य नै भएको छैन।

मन्त्री महतले भनेजस्तो सजिलै लगानी ल्याउन धेरै चुनौती रहेको बताउँछन् अर्थविद् डिल्लीराज खनाल। किनकि लगानीको लागि नेपालको वर्तमान अवस्था औसत मात्र रहेको उनको भनाइ छ। 

खनालका अनुसार उनी र उनका साथीहरुको संलग्नतामा भएको एक अध्ययनले नेपाल लगानीको लागि अत्यन्त राम्रो वा अत्यन्तै नराम्रो पनि हैन भन्ने देखाएको छ।  

त्यसकारण स्वतः विदेशीहरु आकर्षित भइहाल्न गाह्रो रहेको बताउँछन् उनी। 

‘सम्मेलनलाई सफल पार्ने हो भने सरकारले आवश्यक नीतिहरु संशोधन गरेर जानुपर्ने देखिन्छ’, उनले नेपालखबरसँग भने, ‘किनभने यो औपचारिकतामा मात्रै सीमित हुन भएन। त्यसको लागि धेरै पूर्वतयारी गर्नुपर्ने देखिएको छ।’

एनसेल खरिदबिक्रीको प्रभाव
विज्ञले यसो भन्दै गर्दा नेपालमा फेरि एनसेल खरिदबिक्री प्रकरणले बहस तातिरहेको छ। निजी क्षेत्रको सफल मानिने दूरसञ्चार सेवाप्रदायक कम्पनीको लगानीकर्ताले नेपालमा बाह्य लगानीको वातावरण नै नभएको आरोपसहित आफ्नो सेयर बेलायती कम्पनीलाई बेचेर बाहिरिने प्रक्रियामा गएको छ।

एनसेलमा ८० प्रतिशत हिस्सेदार मलेसियाली आजियटा समूहले त्यसको आधिकारिक जानकारी समेत गराइसकेको छ। दुई हप्ताअघि कम्पनीले एक प्रेस विज्ञप्तिबाट खरिदबिक्रीबारे बताउँदै सेयर हस्तान्तरणको प्रक्रियामा गएको जानकारी गराएको थियो। 

सन् २०१६ मा १.३६ बिलियन (अर्ब) डलरमा एनसेलको सेयर खरिद गर्दै नेपाल प्रवेश गरेको आजियटा अहिले ५ करोड डलरमै सेयर बेचेर नेपालबाट बाहिरिन लागेको हो। सस्तो मूल्यमा सेयर बेचे पनि यो समूहले सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आफैँले पाउने सम्झौता गरेको छ। बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडसँग रेनोल्ड्स होल्डिङ लिमिटेडको सम्झौता भएको हो। 

रेनोल्ड्स आजियटा ग्रुपअन्तर्गतकै कम्पनी हो भने सेयर खरिदकर्ता स्पेक्ट्रलाइटचाहिँ करिब दुई महिनाअघि मात्रै खुलेको कम्पनी हो। २६ सेप्टेम्बर २०२३ मा खुलेको यो कम्पनीको कार्यालय लन्डनमा छ। यसका निर्देशक सतिशलाल आचार्य हुन् र एनसेलको बाँकी २० प्रतिशत सेयर स्वामित्वकर्ता पनि उनकै कम्पनी हो।

विदेशमा भएको यो किनबेचप्रति शंका उठेपछि सरकारले छानविन समिति बनाएको छ र, खरिदबिक्री मुद्दा अदालतसम्म पुगेको अवस्था छ।

एनसेलले सन् २०१६ देखि २०२० सम्म ४७ अर्ब नेपाली रुपैयाँ पुँजीगत लाभकर तिरेको बताउँदै आजियटाका प्रमुख कार्यकारी अधिकृत विवेक सूदले व्यावसायिक चुनौतीको कारण नेपालबाट बाहिरिएको बताएका छन्। साथसाथै उनले २०२९ मा एनसेलको लाइसेन्स सकिने र नियामकको अनिश्चिताको कारण पनि बाहिरिनुपरेको दाबी गरेका छन्। 

सुदका अनुसार योसँगै अब ‘एनसेलको पूर्ण दायित्व खरिदकर्ताको हुनेछ।’ आजियटा ग्रुपका अध्यक्ष टन श्री शाहरिल रिड्जा रिडजुवानले पनि आजियटा र एनसेलले नेपालको राष्ट्रिय विकासमा ठूलो योगदान गरेको उल्लेख गरेका छन्। एनसेल दर्तादेखि नै अघिल्लो आर्थिक वर्षसम्म एनसेलले २ खर्ब ८३ अर्ब रुपैयाँ कर तिरेको उनको भनाइ छ। 

एनसेलमा लगानीपछि ग्रुपले २ दशमलव २ अर्ब मलेसियन रिंगिट कमाएको उनले बताएका छन्। अहिले आजियटाको रणनीति र प्राथमिकताको कारण नै नेपालबाट बाहिरिएको उनको दाबी छ। 

१ करोड ७० लाख प्रयोगकर्ता भएको एनसेलले नेपालमा २५ हजार बढीलाई रोजगारी समेत दिएको छ। यस अर्थमा नेपालमा एनसेलको व्यवसाय राम्रो रहेको देखिन्छ।

सरकारले सिक्ला आजियटाबाट पाठ?
खरिदबिक्रीबारे नेपालमा चौतर्फी सवाल उठेपछि आजियटाले नेपालमा रोजगारी, कर सेवा र लगानीका दृष्टिकोणले धेरै योगदान गरे पनि लगानीको वातावरण नभएको उल्लेख गरिदिँदा सम्मेलनको संघारमा अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश गएको टिप्पणी अर्थविज्ञहरूले गरेका छन्। 

अर्थविद् अनलराज भट्टराई पनि लगानी सम्मेलन नजिकिँदै गर्दा एनसेलको विदेशी लगानीकर्ताले त्यसरी बोल्दा नराम्रो सन्देश जाने बताउँछन्। यद्यपि नेपाल लगानीको लागि त्यति धेरै खराब देश नभएको उनको भनाइ छ। आफू बाहिरिँदा एनसेलका लगानीकर्ताले गरेको टिप्पणीलाई संसारले हेर्ने भए पनि नेपालमा लगानीको वातावरणै नभएको आजियटाको तर्कमा उनी सहमत देखिँदैनन्। 

भट्टराईका अनुसार नेपालमा धेरै लगानीकर्ताहरु आइरहेका छन्। उदाहरणका लागि, राष्ट्र बैंकले एकै वर्षमा ३/४ सय लगानीकर्ताको लगानी स्वीकृति गरिरहेको तथ्याङ्क रहेको उनी बताउँछन्। 

चालू आर्थिक वर्षको साउनदेखि मंसिर समान्तसम्मको अवस्था हेर्ने हो भने १९९ विदेशी कम्पनीहरुको लगानी नेपालले स्वीकृत गरेको छ। त्यसमा २० अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता भएको र यसबाट १ हजार १ सय २० जनाले रोजगारी पाउने अवस्था रहने उद्योग विभाग र लगानी बोर्डको तथ्याङ्कले देखाएको छ।  

सामान्य, अनअराइभल र बिजनेस भिसामा एकदमै सहज रहेको बताउँदै भट्टराई लगानीका लागि सहज अवस्था रहेको ठान्छन्।

‘समग्रमा नेपाल बाह्य लगानीको लागि नराम्रो देश होइन। एनसेलको लगानीकर्ता कम्पनीले नेपालमाथि आरोप लगाउँदा संसारले हेरिरहेको हुन्छ’, उनी भन्छन्, ‘कुनै ठाउँमा युद्ध भयो भने एक पक्षको कुरा मात्रै हेर्ने होइन, दुईवटै पक्षलाई हेर्नुपर्छ।’

लगानी सम्मेलनमा नेपालमा लगानीको लागि अवसर छ भन्ने देखाउनुपर्ने मात्र नभई ठूला लगानीकर्ता ल्याउनुपर्ने चुनौती रहेको उनी बताउँछन्। यसका लागि केही कानुनहरु भने सुधार गर्नुपर्नेमा उनको जोड छ। 

‘नेपालमा धेरै पुराना कानुनहरु छन्। त्यसलाई संशोधन गर्नुपर्ने छ’, उनी भन्छन्, ‘त्यसको संशोधन नै हुनुपर्छ वा त्यसको लागि प्रतिबद्धता लिनुपर्छ।’

तर एनसेल खरिदबिक्रीको प्रक्रिय सुरु नहुँदैदेखि नेपालमा विदेशी लगानीको वातावरणबारे धेरै बहस भएको छ। बारम्बार सरकार फेरिइरहने अस्थिर राजनीतिक अवस्था, विश्वकै सुस्तमध्येको कर्मचारीतन्त्र, भ्रष्टाचार र कमिशनले ग्रस्त नेतृत्व र प्रशासन, दशकौँ पुराना असान्दर्भिक कानुनहरूले गर्दा विदेशी लगानीकर्ताहरू नेपालमा आकर्षित हुन सकिरहेका छैनन्। लामो समयदेखि नेपालमा लगानी गरेर बसेकाहरू पनि फर्किने क्रममा छन्। 

आजियटा मात्रै होइन, सिंगापुरस्थित इन्फ्राको एशिया हिमालयन हाइड्रो पीटीई लिमिटेड जलविद्युत आयोजनामा रहेको ५० करोडको शेयर सस्तोमै बेचेर हालै फर्किएको छ। नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरू कतिपय फर्किने क्रममा छन् भने नयाँ लगानी ल्याउन सरकारले आकर्षण देखाउन सकिरहेको छैन। 

एनसेलको लगानीकर्ता आजियटाले लगाएको आरोपले राजनीतिक वृत्त तातेपनि सरकारले वास्तवमा यसबाट पाठ सिकेर विदेशी लगानीको वातावरण बनाउन लाग्नु पर्ने अवस्था छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .