ad ad

कारोबार


आयात प्रक्रियामा रहेकालाई छुट दिए युरो ६ मापदण्ड लागू गर्न व्यवसायी तयार

आयात प्रक्रियामा रहेकालाई छुट दिए युरो ६ मापदण्ड लागू गर्न व्यवसायी तयार

निराकार, आकाश, करण र राजन (बायाँबाट क्रमश:)


वसन्त अर्याल
माघ ११, २०८० बिहिबार १६:५४, काठमाडौँ

सरकारले सवारी प्रदूषण मादपण्ड युरो ६ लागू गर्ने तयारी गरेको छ। वन तथा वातावरण मन्त्रालयसँगै अर्थ मन्त्रालय पनि सकारात्मक बनेपछि युरो ६ बराबरको मापदण्ड लागू हुने भएको हो। 

सरकारले मापदण्ड परिवर्तनको तयारी गर्दा व्यवसायीले पनि अहिले आयात प्रक्रियामा रहेकालाई छुट दिएर लागू गर्न सुझाव दिएका छन्। 

वन तथा वातावरण मन्त्रालयले युरो-६/बीएस-६ मापदण्ड लागू गर्न करिब २ वर्ष अघिदेखि नै तयारी गरेको थियो। अटो व्यवसायीले बीएस ६ लागू गर्न २ वर्षको समय माग गरेका थिए।  

नेपालमा हाल युरो ३ बराबरको मापदण्ड लागू रहेको छ। करिब १२ वर्षअघि लागू भएको यो मापदण्ड अहिलेसमम्म परिवर्तन भएको छैन।

वन तथा वातावरण मन्त्रालयले युरो ६ मापदण्डको प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले अध्ययनको लागि भन्दै लामो समय रोकेको थियो। तर अब लागू गर्न तयार भएको छ।  

युरो ६ बराबरको मापदण्ड लागू गर्न अर्थ मन्त्रालय सकारात्मक भइसकेको वनमन्त्री डा. वीरेन्द्र महतोले जानकारी दिए। 

‘अर्थ मन्त्रालयमा केही दिनअघि छलफल भएको थियो। अब लागू गर्न सकारात्मक भएको छ’, मन्त्री महतोले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिक विषय हेरेपछि टुंगिन्छ।’

वातावरणमन्त्री महतले सबै सवारी साधनको लागि बीएस६ वा युरो ६ मापदण्ड बराबरको लागू हुने बताए। 

विश्व बैंकको २०२३ काे रिपाेर्टअनुसार कुल गार्हस्थ्य उत्पादनमा प्रदूषणको प्रभाव ६ प्रतिशत रहेकाे उल्लेख गरेकाे छ। 

वातावरणविद् भूषण तुलाधारले काठमाडौंकाे प्रदूषणमध्ये ३० प्रतिशत यातायात क्षेत्रबाट हुने गरेकाे बताए। 

तुलाधारले २०७६ मा काठमाडौंमा १ वर्षभित्र युराे ४ लागू गर्ने नीति लिए पनि लागू गर्न नसकेकाे बताए। अहिले २०२४ भित्र लागू गर्ने भनिए पनि स्पष्ट व्यवस्था नभइसकेकाे बताए। 

नेपाल अब जति सक्दो छिटाे युराे ६ मापदण्डमा जानुपर्ने बताए। उनले  डिजेलबाट चल्ने गाडीकाे प्रदूषण बढी रहेकाे बताए। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले युरो६ लागू हुँदा गाडीको मूल्य बढ्ने देखिएकाले लागू गर्न हतार नगरेको स्पष्ट पारे।  

‘युरो ६ लागू गर्नेबित्तिकै गाडीको मूल्य बढ्ने देखिएकाले अध्ययन गरेका हौँ। अब अघि बढछ्’, मन्त्री महतले भने। 

नाडा अटाे माेबाइल्स एसाेसिएसन अफ नेपालका अध्यक्ष करण चाैधरीले  युराे ६ मापदण्ड लागू गर्ने विषयमा विराेधी नभए पनि समय दिनुपर्ने बताए। 

नाडाकै वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले १ वर्षको समय दिएर मापदण्ड लागू गर्नुपर्ने बताए। 

‘हामीले २०२४ को वार्षिक गाडी खरिद गर्ने प्लानिङ उत्पादक कम्पनीलाई बुझाइसकेका छौँ’, गोल्छाले भने,‘२०२५ बाट लागू हुने गरी सरकारले अहिले नै निर्णय गर्दा फरक पर्दैन।’

उनले भारतबाट आयात हुने गाडीमा कुनै समस्या नहुने भए पनि तेस्रो मुलुकबाट आउने गाडीको मूल्य बढ्ने बताए। भारतबाट फोर्डका गाडी ल्याउँदा अप्ठ्यारो नभए पनि अहिले थाइल्यान्डबाट ल्याउँदा नेपालको मापदण्डअनुसार मात्रै आएको उनको भनाइ छ।  

गाेल्छा ग्रुपका निर्देशक समेत रहेका नाडा वरिष्ठ उपाध्यक्ष गाेल्छाले फेरि लामाे समय माग गर्नु उपयुक्त नरहेकाे बताए। बीएस ६ लागू गर्न अप्ठ्याराे नभएकाे उनको भनाइ थियो। 

हाेन्डाका साेहन श्रेष्ठले ३-४ महिनाकाे समय दिएर  लागू गर्न सुझाव दिए। 

वातावरण मन्त्रालयका सीडीई शिवजी शर्माले केही समय दिएर लागू गर्ने बताए। मन्त्रालयले एलसी खाेलेका र आयातका प्रक्रियामा रहेकालाई समय दिने वातावरण रहेकाे छ। 

अटो व्यवसायीका अनुसार २ पांग्रे र चारपांग्रेका अधिकांश कम्पनीलाई अप्ठ्यारो नभए पनि कमर्सियल गाडीको मूल्य बढ्ने व्यवसायीले बताएका छन्।

टाटाले भारतमा बीएस६ का गाडी उत्पादन थाले पनि आईचर, अशोक लेल्यान्ड, भारत बेन्जका गाडीको मूल्य बढ्ने व्यवसायीको भनाइ छ। 

टाटाकाे आधिकारिक विक्रेता सिप्रदी टेड्रेङका प्रमुख राजनबाबु श्रेष्ठले युराे ६ मापदण्ड लागू गर्न जनशक्तिमा तयारी गरिरहेकाे बताए।

उनले भारतबाट बीएस ६ कै गाडी आयात भइरहेकाले अब समस्या नहुने बताए।

लक्ष्मी समूहका निर्देशक निराकार श्रेष्ठले पनि नेपालको सवारी प्रदूषण मापदण्डलाई अपग्रेड गर्नैपर्ने देखिएको तर व्यवसायीको समस्यालाई पनि सरकारले हेर्नुपर्ने बताए। 

उनले भने, ‘व्यवसायीले गाडी अर्डर गरेको हुन्छौँ, आयातको प्रक्रियामा समेत छन्। त्यसकारण पनि सरकारले युरो ६को लागि मनासिब समय दिनैपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .