कारोबार


निजी क्षेत्रलाई निरुत्साहित हुन नदिनु मेरो कर्तव्य हो : अर्थमन्त्री

निजी क्षेत्रलाई निरुत्साहित हुन नदिनु मेरो कर्तव्य हो : अर्थमन्त्री

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०८० शुक्रबार ११:२६, काठमाडौँ

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आफूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन पुगेको नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले उच्च मनोबलका साथ ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे। 

अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्र, सरकार र आमजनताबीच सहकार्य जरुरी रहेकामा जोड दिँदै उनले नीतिगत र व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए। 

धितोपत्र बजार, घरजग्गा कारोबार तथा सहकारीमा आएका समस्याका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिरेको उल्लेख गर्दै पुनले समस्या समाधानका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने विश्वास दिलाए। 

अर्थतन्त्रमा परेको दबाबको कारण आन्तरिक र बाह्य दुवै रहेको मन्त्री पुनको भनाई थियो। ०७२ को महाभूकम्म र कोरोना महामारीपछि तंग्रिँदै गरेको अर्थतन्त्र रुस–युक्रेन र इजरायल–महास युद्धका कारण फेरि दबाबमा परेको चर्चा पुनले गरे।

‘उद्योगी–व्यवसायी र समग्र निजी क्षेत्रलाई निरुत्साहित हुन दिन्न । यो मेरो जिम्मेवारी हो,’ पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी नीतिगत व्यवस्था र व्यवहारिक सहजीकरण गर्छ । सरकार, निजी क्षेत्र र आमजनताको हातेमालोमा अर्थतन्त्रका समस्या समाधान भएर जान्छ भन्ने आत्मविश्वासका साथ १२ वर्षपछि दोश्रोपटक मन्त्रालयमा आएको छु।’


पुनले कानूनको पूर्ण पालना गरेर व्यवसाय गर्न निजी क्षेत्रलाई अपिल गर्दै गल्ती नगर्ने कोही पनि सरकार र नियामक निकायसँग तर्सिनु नपर्ने स्पष्ट गरे । तर, नियामक निकायले पनि सहजीकरण गर्नुपर्नेमा अनावश्यक समस्या सिर्जना गर्न नहुने उनको भनाइ थियो। 

एउटा सेक्टरका कसैले गल्ती गर्दैमा सो क्षेत्रका सबैलाई उत्तिकै दोषी देख्ने प्रवृत्ति समाजमा देखापर्न थालेको चर्चा गर्दै पुनले सबै मिलेर त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

 ‘एउटा राजनीतिज्ञले गल्ती गर्दा राजनीतिमा लागेका सबै खराब, एउटा व्यवसायीले गल्ती गर्दा व्यवसायीजति सबै खराब, सुरक्षा निकायको एउटा व्यक्तिले गल्ती गर्दा सिंगो सुरक्षा संयन्त्र नै खराब भन्ने जस्तो प्रवृत्ति समाजमा देखिन थालेको छ’, पुनले भने, ‘आफूमाथि सार्वजनिक रुपमा उठेका प्रश्नको जवाफ सबैले दिनुपर्छ । तर, कुनै एक जनाले गल्ती गर्दा पूरै सेक्टर नै गलत भन्ने प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ।’ 

मन्त्री पुनले ‘पहिला सुन्ने, अनि थुन्ने’ भन्ने उद्योगी–व्यवसायीका मागमा आफ्नो समर्थन रहेको स्पष्ट गरे । राज्य नागरिकको अभिभावक भएकाले सबै नागरिकले आफू, परिवार र निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्नेमा आफू अडिग रहने पनि पुनले बताए । राज्य जनताको अभिभावक भएकाले एउटा सेक्टरको कसैले गल्ती गर्दैमा त्यस सेक्टरका सबैलाई ठीक पार्छु भनेर तर्साउन नमिल्ने तर्क उनको थियो।

नेतृत्वको परीक्षण संकटकै बेला हुने भन्दै उनले चुनौती सामना गर्न तत्पर भएरै अप्ठ्यारो समयमा आफूले मन्त्रालयको नेतृत्व सम्हालेको पुनले बताए। पहिलोपटक सन् ००८ को विश्व आर्थिक मन्दीको प्रभाव कायमै रहेका बेला ०११ म आफू मन्त्री भएको र त्यतिखेरको आर्थिक संकट समाधानका लागि गरेका प्रयासहरुको अनुभवका आधारमा अर्थतन्त्रका विद्यमान संकट पार लगाउन सक्षम हुने विश्वास उनको थियो। 

फरक प्रसंगमा पुनले राजनीतिक रुपले प्रधानमन्त्रीको कुर्सी कम्तिमा एक वर्षका लागि सुरक्षित भए पनि जनतामा आशा जगाउन र सुशासनको अभियानलाई निरन्तरता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर गठबन्धन परिवर्तन गरेको उनले बताए।

 ‘पुरानो गठबन्धन कायम राख्दा पनि प्रधानमन्त्री कम्तिमा एक वर्षका लागि सुरक्षित हुनुहुन्थ्यो । कसैले पनि उहाँको कुर्सी हल्लाउन सक्ने अवस्था थिएन’, पुनले भने, ‘ नतिजा आउने गरी आमजनतामा आशा जगाउनुपर्ने भएका कारण गठबन्धनमा परिवर्तन गरिएको हो । सरकार पक्कै पनि यसलाई अवसरका रुपमा बदल्न सफल हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .