कारोबार


मन्त्री भएको एक साताभित्रै वर्षमानको एक्सन : दुग्ध किसानले तत्काल भुक्तानी पाउने

मन्त्री भएको एक साताभित्रै वर्षमानको एक्सन : दुग्ध किसानले तत्काल भुक्तानी पाउने

अर्थमन्त्री वर्षमान पुन


नेपालखबर
चैत २, २०८० शुक्रबार १३:५६, काठमाडौँ

अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ। 

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। 

त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए। भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलित छन्।

किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो। तर, अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन। मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन्।

‘देशभरका हजारौं किसान भुक्तानी नपाएर तड्किएको अवस्था रहेछ। राज्य जनताको अभिभावक  भएकाले किसानका पीडा हेरेर बस्न सक्दैन। विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ’, पुनले भने।

पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायी लगायतको भुक्तानी रोक्न नमिल्ने स्पष्ट गरे। जनतालाई डेलीभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरण बदलेको उल्लेख गर्दै पुनले ‘केही गरौं’ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले काम थालिसकेको बताए।

उनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो। चालु आर्थिक वर्षमा ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ। 

मन्त्री पुनले बजेट समर्पणका लागि शुक्रबारै पत्राचार गर्न कृषीमन्त्री र सचिवहरुलाई भनेका छन्। मन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने सचिव डा. घिमिरले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .