ad ad

कारोबार


‘ठमेल र दरबारमार्गको स्थिति हेरेर नयाँ बसपार्क पनि चौबिसै घण्टा खुलाउँछौँ’

‘ठमेल र दरबारमार्गको स्थिति हेरेर नयाँ बसपार्क पनि चौबिसै घण्टा खुलाउँछौँ’

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १९:२३, काठमाडौँ

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थिति हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताएका छन्।

मित्रनगर विकास तथा सुधार समिति आज नयाँ बसपार्कमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ मा बोल्दै ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताएका हुन्।

‘देशभरका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४ सै घण्टा सञ्चालन गर्नु जरुरी छ,’ उनले भने, ‘वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ। त्यहाँको स्थितिलाई हेरेर नयाँ बसपार्क पनि २४ सै घण्टा सञ्चालन गछौँ, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ।’

रातभर बजार खुलाउँदा स्थानीयवासीलाई असर पर्न नहुने उनको भनाइ थियो।

वडाध्यक्ष तिवारीले अबको दुई महिनाभित्र नयाँ बसपार्क आसपासका सडक कालोपत्रे भइसक्ने जानकारी पनि दिए।

काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा ठमेलसहित नयाँ बसपार्कसमेत पर्छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठमेल र नयाँ बसपार्कलाई एकआपसमा जोड्न सके मात्र नयाँ बसपार्क क्षेत्रको अर्थतन्त्र चलायमान हुने तर्क गरे। ‘रातको समयमा नयाँ बसपार्कमा सवारी साधन ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रको बजार २४ घण्टा खोल्नु जरुरी छ,’ उनले भने।

मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष गंगा पन्तले नयाँ बसपार्क क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउन समितिले काम गरिरहेको उल्लेख गरे।

उनले नयाँ बसपार्क क्षेत्रको विकृति विसंगति अन्त्यका लागि स्थानीय टोलबासी, तीनै तहका सरकार र प्रहरीबीच सहकार्यमा जोड दिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .