ऊर्जा, वाणिज्य तथा आपूर्ति मन्त्री दामोर भण्डारी र नेपालका लागि रोमानियाका राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित उद्योग मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हित र सहयोग विषयमा छलफल भएको थियो ।
भेटमा उद्योगमन्त्री भण्डारीले नेपालको आर्थिक सामाजिक विकासमा लागि रोमानियाले द्धिपक्षीय रुपमा ईयुमार्फत प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको लागि धन्यवाद प्रदान गरे ।
उनले हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्रहरु पहिचान गरेको र लगानी मैत्री नीतिगत कानुनी व्यवस्था गरेको जानकारी दिंदै राजदूतमार्फत रोमानियाका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
भेटमा उनले भने, ‘नेपालको व्यापार पूर्वाधार र अन्य प्राथिकमताका विकास क्षेत्रमा थप युरोपेली लगानी आउनेमा म आशावादी छु। रोमानियामा निर्यात हुने वस्तुको पहिचान र विकास गर्न द्धिपक्षीय व्यापारको पर्याप्त सम्भावना छ । आगामी दिनमा थप सहकार्य गर्न हामि इच्छुक छौं । ’
राजदूत तानेले भेटमा रोमानियाका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको धारणा राखे। उनले दुई देशबीचको आर्थिक सम्बन्ध मजबूत बनाउनेमा जोड दिए।
राजदूत तानेले रोमानियामा हजारौं श्रमिकहरु रोजगारीको लागि पुगेको र उनहरुलाई कुनै विभेद नभएको भन्दै अहिले दुवै देशबीच करिव ११ मिलियन डलरको व्यापार रहेको जानकारी दिए। उनले रोमानियामा हस्तकलाका सामग्री निर्यातको सम्भावना समेत रहेको बताए।
Shares
प्रतिक्रिया