ad ad

कारोबार


रिलायन्स स्पिनिङ्सको आईपीओ रोक्न लगानीकर्ताको माग, छानबिन गर्न बोर्ड बैठक बस्ने

रिलायन्स स्पिनिङ्सको आईपीओ रोक्न लगानीकर्ताको माग, छानबिन गर्न बोर्ड बैठक बस्ने

नेपालखबर
असार २०, २०८१ बिहिबार १४:३५, काठमाडौँ

प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को अन्तिम चरणमा रहेको रिलायन्स स्पिनिङ्स मिल्सले तथ्यांकमा छेडखानी गरेको भन्दै लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेवोनमा ) उजुरी दिएका छन्।

लगानीकर्ताका ४ संगठनले गलत वित्तीय विवरणसहित आईपीओ निष्काशन गरेको भन्दै उजुरी दिएपछि बोर्डले छानबिन गर्न बैठक बोलाएको छ।

बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीका अनुसार लगानीकर्ताको उजुरीपछि बोर्ड बैठकबाट छानबिन गर्ने/नगर्ने निर्क्योल गरिने छ।

‘अब हामी बोर्डको सञ्चालक समितिमा यो कुरा उठाउनेछौँ, त्यसपछि छानबिन गर्ने/नगर्ने निष्कर्ष निस्किन्छ’, उनले नेपालखबरसँग भने। 

यसअघि असार १२ गते रिलायन्स स्पिनिङ मिल्सले संस्थापक सेयरधनी, सर्वसाधारण र वैदेशिक रोजगारीका लागि गएकाहरुका ११ लाख ५५ हजार ९६० कित्ता निष्काशनका लागि बोर्डबाट अनुमति पाएको थियो।

संस्थापकतर्फको सेयर निष्काशन गरिसकेको कम्पनीले वैदेशिक रोजगारीमा जानेहरुका लागि भने असार २७ गते आईपीओ निष्काशन गर्दै छ। 

त्योसँगै कम्पनीले गलत तथ्यांक राखेको वित्तीय विवरण प्रकाशित गरी बोर्डलाई झुक्याएको भन्दै लगानीकर्ताले उजुरी दिएका हुन्।

१७ गते नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघले बोर्डमा मौखिक उजुरी दिएका थिए।

पछि उनीहरुले लिखित रुपमै आईपीओ निष्काशनको रद्द गर्नुपर्ने मागसहितको उजुरी बोर्डमा दिएका थिए। लगानीकर्ताका संगठनले कम्पनीले पेस गरेको वित्तीय विवरण बढाइचढाइ गरेको र भविष्यमा कम्पनीले आम्दानी गर्ने रकम असम्भवप्राय: पूर्वानुमान गरिएकाले यस कम्पनीको प्रथामिक सेयर निष्काशन रद्द गरी आवश्यक छानबिन गरिपाऊँ भन्दै बोर्डमा लिखित उजुरी दिएका थिए। 

मिल्सले संस्थापक सेयरधनीबाट खरिदका लागि गरिएको बोलकबोलबाट प्रतिकित्ता ९१० रुपैयाँ कटअफ मूल्य निर्धारण गरेको थियो। बुक बिल्डिङ्स विधिबाट आईपीओ निष्काशनमा लागेका कम्पनीले सर्वसाधारणका लागी प्रतिकित्ता ९१० रुपैयाँ र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि १० प्रतिशत मूल्य कम गरेर ८२० रुपैयाँ प्रतिकित्तामा निष्काशन गर्दै छ। 

कम्पनीले चालू आवको पुस महिनासम्मको वित्तीय विवरणमा कम्पनीले प्रतिसेयर आम्दानी ९६ पैसा देखाएको छ भने आगामी वर्ष ३२.८९ रुपैया पुर्याउने उल्लेख गरेको छ।

बोर्डले यसअघि ९० पैसामाथिको प्रतिसेयर आम्दानी भएको कम्पनीको निष्काशन नरोक्ने निर्णय गर्दै आईपीओ स्वीकृत गरेको थियो।

तर लगानीकर्ताले ९१० रुपैयाँसम्मको मूल्यमा ९६ पैसाको प्रतिसेयर आम्दानी भएको कम्पनीलाई आईपीओ दिन नहुने भन्दै निष्काशन रद्द गर्न माग गरेका हुन्।

एक लगानीकर्ताले कम्पनीले बोर्डका कर्मचारी,अडिटरलगयतलाई प्रभावमा पारेर आईपीओ निष्काशन अनुमति लिएको बताए।

कम्पनीले विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने अर्बौँको बक्यौता रहँदारहँदै आउने एक वर्षमा नै प्रतिसेयर आम्दानी ९६ पैसाबाट ३२ रुपैयाँ पुर्‍याउनु असम्भव भएको उनको तर्क छ।

‘प्राधिकरणले आईपीओ दिँदै गर्दा प्रतिसेयर ९६ पैसालाई एक वर्षमा ३२ रुपैयाँसम्म पुर्‍याउने आधारलाई बेवास्ता गर्दै निष्काशनको अनुमति दिएको छ’, ती लगानीकर्ताले नेपालखबरसँग भने। 

आईपीओ निष्काशन रद्द गर्नुपर्ने माग चर्किँदै गएपछि बोर्डले सञ्चालक समितिको बैठकबाट निर्णय लिने जनाएको छ। निर्देशक अधिकारीले बोर्ड बैठकले छानबिन गर्ने नगर्ने र त्यसपछि मात्रै कारबाही हुने/नहुने निर्णय हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .