ad ad

कारोबार


स्प्रिङ मिनरलसहित उपत्यकाका ११ ब्रान्डका पानीमा भेटियो कोलिफर्म : २ लाख जरिवाना, बिक्रीमा रोक

स्प्रिङ मिनरलसहित उपत्यकाका ११ ब्रान्डका पानीमा भेटियो कोलिफर्म : २ लाख जरिवाना, बिक्रीमा रोक

नेपालखबर
असोज १३, २०८१ आइतबार १३:५०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको बिक्रीवितरणमा रोक लगाएको छ।

बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ। यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ। 

यस्तै कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ। यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शुन्य देखिएपछि बिक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ। 

भदौ १२ गतेदेखि २८ गतेका बीचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो। यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो। प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो। कोलोनी फर्मिङ् युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो। 

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ। फिकल कोलिफर्म दिशामा पाइन्छ। दिशामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ। जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्राण्डहरुमा ब्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सीएफयु) देखियो। उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमूना लिइएको थियो। पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भइरहेको छ। 

भदौ १२ गते नमूना लिइएका पानीमध्ये ब्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ युनिट (सीएफयु) देखियो। अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन. एस. वेभरेजले उत्पादन गरेको पानी हो। 

व्याच नं. ६ को कोलभोतेश्वर ब्रान्डको भदौ २४ गते नमूना लिइएको हो। यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सिएफयु) छ। यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड बेभरेजले उत्पादन गरेको हो। 

भदौ २४ गते नै नमूना लिइएका पानीहरुमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिबी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटियो। अक्वा डिबीमा ५, अकुवामा १७, व्याच नं. २०० को क्युब प्रोसेस ड्रिङ्किङ वाटरमा ३ सयभन्दा धेरै र व्याच नं. ४२ को अक्वा माइल्ड व्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट (सीएफयु) भेटिएको छ।

भदौ २८ गते संकलन गरिएका नमूनामध्ये अक्वा कपन र अक्वा गौरीशंकरमा कोलिफर्म भेटियो। अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ। अक्वा कपन एम. के. मिनरल वाटर उद्योगले बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ। अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .