ad ad

कारोबार


बाढी र पहिरोले २० जलविद्युत् आयोजनामा साढे २ अर्ब बराबरको क्षति, चाडपर्वमा बिजुली कति सहज?

बाढी र पहिरोले २० जलविद्युत् आयोजनामा साढे २ अर्ब बराबरको क्षति, चाडपर्वमा बिजुली कति सहज?

नेपालखबर
असोज १३, २०८१ आइतबार १४:२, काठमाडौँ

भीषण वर्षातपछिको बाढी र पहिरोले २० जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ।

शुक्रबार र शनिबार अविरल परेको वर्षा र त्यसपछि गएको पहिरोका कारण माथिल्लो त्रिशूली जलविद्युत् आयोजनासहितका २० वटा आयोजनाहरुमा साढे २ अर्ब बराबरको भौतिक क्षति पुगेको हो। 

नेपाल ऊर्जा उत्पादक संघ (इप्पान) का अनुसार सम्पर्कमा आएका अधिकांश जलविद्युतहरु आयोजनाहरु बाढी र त्यसपछि गएको पहिरोमा परेर क्षतिग्रस्त भएका हुन्। संघले हालसम्म संकलन गरेको विवरण अनुसार १५ वटा जलविद्युत् कम्पनीमा मात्रै २ अर्ब ३१ करोड रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ।

अधिकांश जलविद्युत आयोजनाको पहुँचमार्ग नै पहिरोमा परेपछि क्षतिको एकीन विवरण आउन नसकेको संघका महासचिव बलराम खतिवडाले बताए। उनका अनुसार हालसम्म सम्पर्कमा आएकामध्ये २० वटा जलविद्युत् आयोजनामा भौतिक क्षति पुगेको हो। 

‘जलविद्युत् आयोजनामा सञ्चार सम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण प्राप्त हुनसकेको छैन’, उनले भने। 

संघका अनुसार हालसम्म ७०३.८५ मेगावाटका २० आयोजनाहरुमा भौतिक क्षति पुगेको छ। ८० मेगावाट माथिका चार ठूला आयोजनासहित १६ वटा साना आयोजनाहरु डुबानमा परेका हुन्। 

बाढी र पहिरोमा परेर २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत, १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत्, ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजना र ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजनासहित अन्य १६ वटा साना आयोजनाहरु क्षतिग्रस्त भएका छन्। 

जसमा माथिल्लो त्रिशूलीको क्याम्प हाउस र पहुँचमार्गमा क्षति पुर्‍याएको छ भने आयोजनाको ३ वटा कन्टेनर बाढीले बगाएको छ। यस्तै सुपर त्रिशूलीको बाढीले पावर हाउसको एक्स्काभेटर पुरेको छ भने बेलिब्रिज समेत बगाएको छ। यो आयोजनाको २ वटा एक्स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर पनि बगाएको जनाइएको छ। हालसम्म सो आयोजनाको करिब २५ करोड रुपैयाँबराबरको क्षति भएको जनाइएको छ।

लान्द्रुक मोदी जलविद्युत् आयोजनाको भने जाने बाटोमा क्षति पुर्‍याउँदा सोलु दुधकोशी जलविद्युतको भने हेडवक्र्समा क्षति पुग्दा उत्पादन नै बन्द भएको छ। 

यीबाहेक मकवानपुरमा रहेको मान्डु हाइड्रोपावरद्वारा सञ्चालित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना र पाँचथरमा रहेको २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना पूर्णरुपमा डुबेका छन्। यी दुवै आयोजनाको पावरहाउस बाढीले डुबाएको छ। गत वर्ष पनि डुबानमा परेको तल्लो हेवाखोला आयोजना पुन उठ्न नपाउँदै फेरि डुबानमा परेको हो। मान्डु हाइड्रोपावरमा १ अर्ब रुपैयाँ र तल्लो हेवाखोलामा करिब १० करोड रुपैयाँ बराबर क्षति पुगेको हो।

यस्तै, इलाममा रहेको सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगी विद्युत उत्पादन बन्द भएको छ भने सोही कम्पनीले सञ्चालन गरेको ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको पनि बाँध र प्रसारणलाइनमा क्षति पुगको छ। 

यता पाँचथरकै १ मेगावाटको फेमे खोला जलविद्युत आयोजनाको बाँध र विद्युतगृह पूणर्रुपमा क्षति पुगेको छ भने लमजुङमा रहेको ५ मेगाावाटको सिउरीखोला जलविद्युत आयोजनाको टेलरेस,इन्टेक र टनेलमा क्षति पुगेको संघले जनाएको छ। 

लमजुङमै रहेको अर्को ४० मेगावाटको सुपरन्यादी जलविद्युत आयोजनाको समेट पहुँचमार्थमा क्षति पुगेको छ भने आयोजनाको प्रोटेक्सन वालमा क्षति पुगेको बताइएको छ। संघका महासचिव खतिवडाका अनुसार आयोजनाहरुसँग सम्पर्कको प्रयास भइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ। 

यस्तै धादिङमा रहेको ३५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजना, पाँचथरको १५.१ र ६.३ मेगावाटको सभाखोला सी र बी दुवै जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ। सभाखोला बी को भने पावरहाउस पुरिनुका साथै अस्थायी रुपमा बनाइएको पुल बाढीले बगाएको हो।

यस्तै २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति पुगेको छ भने २ मेगावाटको खानीखोला जलविद्युत आयोजनाको पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्विचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग समेत क्षति पुर्याएको छ। संघका अनुसार खानीखोला आयोजनामा मात्रै करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको हो।

योबाहेक ४.३६ मेगावाटको टुङ्गुन ठोस्ने जलविद्युत आयोजनाको पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भइ करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको विवरण संघलाई प्राप्त भएको छ भने १४.९ मेगावाटको माया खोला जलविद्युत् आयोजनामा पनि २ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। 

विद्युत् आपूर्तिमा कति सहज? 
शुक्रबार र शनिबारको वर्षाका कारण देशका विभिन्न ठाउँमा सनिबार दिनभर जसो विद्युत अवरुद्ध हुन पुगे। विद्युत प्रसारण लाइन र उत्पादन गर्ने आयोजनाहरु नै बाढीमा परेपछि सनिबार दिनभर जसो विद्युत अवरुद्ध हुन पुगेको थियो। 

नेपाल विद्युत् प्राधिकरण उत्पादन निदेर्शनालयका उपकार्यकारी निर्देशक मदन तिम्सिना हालसम्म विद्युत अवरुद्ध हुने कुनै सम्भावना नरहेको बताउँछन्।

‘केही क्षेत्रमा प्रसारणलाइनमा समेत क्षति भएको भन्ने सूचना आए पनि त्यसले विद्युत नै अवरुद्ध हुन अवस्था र्सिजना गरेको छैन’, उनले भने।

प्राधिकरणले भने हालसम्म कति आयोजना प्रभावित भयो भन्ने सूचना राखेको छैन। प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले विद्युत नै अवरुद्ध हुनेगरी क्षति नभएको बताए। 

उनले क्षति ठूलो नभएकोका कारण आगामी दिनमा विद्युत आपूर्तिमा समस्या नहुने बताएका हुन्। तर निजी विद्युत उत्पादकहरुको संघ नेपाल ऊर्जा उत्पादक संघ (इप्पान)ले भने हालसम्म साढे २ अर्बमाथिको क्षति पुगेको जनाएको छ।

प्राधिकरणले भने हालसम्म आएको क्षतिका विवरणले आउँदो चाडमा हुने विद्युत् आपूर्तिलाई कुनै असर नगर्ने बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .