कारोबार


नेपाल र बंगलादेशबीच ३ महिनाभित्र व्यापार सहजीकरण समिति बनाउने सहमति

नेपाल र बंगलादेशबीच ३ महिनाभित्र व्यापार सहजीकरण समिति बनाउने सहमति

नेपालखबर
माघ १, २०८२ बिहिबार १५:४४, काठमाडौँ

नेपाल र बंगलादेशका वाणिज्य सचिवस्तरीय वार्ता मंगलबार र बुधबार ढाकामा सम्पन्न भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाएको थियो भने बंगलादेशी टोलीको नेतृत्व वाणिज्य सचिव महबुबुर रहमानले गरेका थिए। 

२०२४ अप्रिलमा काठमाडौंमा भएको बैठकपछिको प्रगतिबारे समीक्षा गरिएको जनाइएको छ। सचिव घिमिरेले दुई देशबीचका व्यापार अवरोध घटाउँदै द्विपक्षीय व्यापार सम्बन्ध बढाउन अपरिहार्य भएको बताएका थिए।

उनले व्यापार शुल्कहरु घटाउनुपर्नेमा जोड दिएका थिए। अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरुमा दुवै देशका चाहनालाई प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। 

उनका समकक्षी रहमानले व्यापार, लगानी, कनेक्टिभिटी र पर्यटनजस्ता क्षेत्रमा सहकार्यका माध्यमबाट आर्थिक साझेदारीलाई गहन बनाउन मिलेर काम गर्न आवश्यक रहेको उल्लेख गरेका थिए। उनले द्विपक्षीय आर्थिक सहकार्यमा नयाँ अवसर खोज्न यातायात पूर्वाधारको सुधार, भन्सार प्रक्रिया सहज र व्यापार सुविधाका लागि बंगलादेश प्रतिबद्ध रहेको उल्लेख गरेका थिए। 

बैठकमा दुवै पक्षले आगामी तीन महिनाभित्र व्यापार सहजीकरण समिति गठन गर्ने सहमति गरेको छ। यसले पीटीए टेक्स्ट र उत्पादनको मूल स्थानसम्बन्धी नियम र उत्पादन सूचीबारे छलफल गर्नेछ। त्यसैगरी दुवै पक्ष व्यापार र लगानीका क्षेत्रमा भन्सार सहजीकरण गर्न, अन्तर्सीमा भुक्तानी सहज पार्न र गैरशुल्क अवरोधका समस्या समाधान गर्न तयार भएका छन्।

नेपालको जलविद्युत्मा संयुक्त उपक्रम बनाएर लगानी गर्ने समेत सहमति भएको छ। यसबाहेक पर्यटन प्रवर्द्धनमा समेत सहकार्य गर्ने सहमति भएको बताइएको छ। 

दुई देशबीच भएका सहमतिको माइन्युटमा दुवै वाणिज्य सचिवले हस्ताक्षर गरेका थिए। नेपाली टोलीमा वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र ढाकास्थित नेपाली दूतावासका अधिकारी सहभागी थिए।  

सचिवस्तरीय अर्को बैठक काठमाडौंमा हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad