एनआरएन इन्फ्रास्ट्रक्चरले यही साउन १६ गते झण्डै ३४ करोडको प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पुँजीमध्ये ३३ करोड ९८ लाखको अर्थात् ३० प्रतिशत रकमको आईपीओ जारी गर्नलागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाइसकेको छ। कम्पनीको जारी पुँजी १ अर्ब १३ करोड २६ लाख रहेको छ। प्रतिकित्ता १ सय रुपैयाँका ३३ लाख ९८ हजार कित्ता सेयर सर्वसाधारणले खरिद गर्न पाउनेछन्।
उक्त सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। उक्त सेयर जारी गर्न कम्पनीले गत फागुनमै अनुमति पाएको थियो। एनआरएन आईडीका कार्यकारी प्रमुखमा जीवनाथ लामिछाने रहेका छन्। कम्पनीले दोर्दी खोला हाइड्रोपावर, मध्यतमोर हाइड्रोपावर, तल्लो लिखु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनामा लगानी गरेको छ।
सुरुमा कम्पनी एनआरएन इन्भेष्टमेन्ट लिमिटेडका रुपमा दर्ता भए पनि कम्पनीको नाम पछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा परिवर्तन गरिएको थियो। खासगरी नेपालको ऊर्जा क्षेत्रमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने उद्देश्यले कम्पनीको स्थापना गरिएको थियो।
प्रतिक्रिया