ad ad

कारोबार


भदौदेखि अनलाइनबाटै कम्पनी दर्ता गरिने, यस्तो हुनेछ प्रक्रिया

भदौदेखि अनलाइनबाटै कम्पनी दर्ता गरिने, यस्तो हुनेछ प्रक्रिया

नेपालखबर
साउन २८, २०७७ बुधबार ७:५९,

कम्पनी रजिष्ट्राको कार्यालयबाट हुने सेवा प्रवाह भदौ १ देखि अनलाइनबाटै हुने भएको छ। कार्यालयका प्रवक्ता तुल्सीराम गैरेले भदौ १ देखि हुने नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनबाट पेस गरेका कागजातलाई नै आधिकारिक मानेर कार्य गरिने बताएका हुन्।

यसका लागि प्रस्तावित प्रबन्धपत्र र नियमावलीको दुईप्रतिबाहेक अन्य कागजी विवरण आवश्यक नपर्ने उनले बताए। उनका अनुसार यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल खडा नगरिने र अर्कोपटक कार्यालयमा उक्त कम्पनीको सम्बन्धमा काम गर्नुपर्दा कम्पनीले अनलाइनबाट पेस गरेका विवरण र विद्युतीय अभिलेखलाई नै आधार मानिनेछ।

सबैखाले नयाँ तथा पुराना कम्पनीले पनि अब उप्रान्त कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन लगायतका सबै विवरण अनलाइनमार्फत मात्र बुझाउनुपर्ने कार्यालयको भनाइ छ। छुट्टै हार्डकपी बुझाउनु नपर्ने भएकाले कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालयमा त्यस्ता विवरण सक्कलसहित राख्नुपर्नेछ।

त्यस्तै सेयर लगत अभिलेख दर्ता गर्दा अनलाइनमार्फत कम्पनीले पेस गरेपछि कार्यालयबाट अभिलेख जनाई एक प्रति लगत कम्पनीले लाने र एक प्रति कार्यालयले विद्युतीय अभिलेख राख्नेछन्। कम्पनी ऐनअनुसार सेयर दर्ता किताब सम्बन्धित कम्पनीले नै तयार गरी राख्नुपर्ने व्यवस्था भएकाले कम्पनीले कार्यालयमा अभिलेख दर्ता गरेको विवरणमा कुनै फरक परेमा सम्बन्धित कम्पनी नै जवाफदेही हुनेछ।

कम्पनीले डाटा इन्ट्री गरेको सेयर लगतलगायतका विवरण र स्क्यान कपीमा कुनै फरक परी अद्यावधिक गर्नुपरेमा सञ्चालक समितिको निर्णय गरी कार्यालयमा सम्पर्क गर्न कार्यालयले सूचना जारी गरी अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .