काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ।
अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भए पनि कोरोना महामारीका कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ।
रेल विभागले उनीहरूलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयसँग अनुरोध गरेको छ।
तर कोरोना संक्रमण फैलिरहेकाले तत्काल उनीहरूलाई नेपाल आउन दिने अवस्था नरहेको मन्त्रालयले जनाएकाे छ। मन्त्रालय स्राेतका अनुसार अझै एक–दुई महिनासम्म टोलीलाई बोलाउन सकिने अवस्था छैन।
दुई वर्ष पहिले नेपालमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा रेलमार्ग निर्माणको सम्झौता भएको थियो।
भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर यसको अध्ययन गर्ने सहमति भएको थियो।
नेपाल र भारत पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो।
भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको छ। सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढिसकेको छ।
सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरू तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगन्जरोड–नेपालगगन्ज छन्। रासस
प्रतिक्रिया