ad ad

कारोबार


उपत्यकाबाट बाहिरिए ७०१ सवारीसाधन, ५८७ वटा भित्रिए, १८ सय मानिस बाहिरिँदा १५ सय जना काठमाडौं आए

उपत्यकाबाट बाहिरिए ७०१ सवारीसाधन, ५८७ वटा भित्रिए, १८ सय मानिस बाहिरिँदा १५ सय जना काठमाडौं आए

नेपालखबर
असोज १, २०७७ बिहिबार ६:५०,

लामो दूरीको सार्वजनिक यातायात आजबाट खुलेपछि बिहानैदेखि उपत्यका छाड्ने र भित्रिनेको चलहपहल बढेको ट्राफिक प्रहरीले जनाएको छ।

चैत ११ देखि बन्द भएको लामो दूरीको सार्वजनिक यातायात सोमबार बसेको मन्त्रिपरिषदले आजबाट खोल्ने निर्णय गरेको हो।

बिहीबार (आज)देखि चल्ने गाडीले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने व्यवस्था छ। व्यवसायीले थप ५० प्रतिशत बढी भाडा लिन पाउनेछन्।

ट्राफिक प्रहरीले यातायात व्यवसायीले सरकारको नियम पालना गरे/नगरेको अनुगमन गरिरहेको बताएको छ।

‘यातायातमा सामाजिक दूरी कायम गरेको छ कि छैन। सहचालकले फेस भाइजर प्रयोग गरेको छ कि छैन, अनुगमन गरिरहेका छौँ’, ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले भने, ‘बसमा यात्रु राख्नुपूर्व डिसिन्फेक्सन गरेको छ कि छैन हेर्ने गरेका छौँ।’

उनले कसैले ५० प्रतिशतभन्दा बढी यात्रु राख्ने र ५० प्रतिशतभन्दा बढी भाडा लिएको भेटिए कारबाही गर्ने बताए। बसपार्कमा यात्रुको भीडभाड नहुने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले बताएको छ।

यातायात व्यवसायीले स्थानीय तह तथा जिल्लाले निषेधाज्ञा नगरेको ठाउँमा यातायात सुचारु गरेको बताएका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले व्यवसायी प्रोटोकल पालना गरी सार्वजनिक यातायात सञ्चालन गरेको दाबी गरेका छन्।

उनले मुग्लिङ–नारायणगढ खण्डमा सडक अवरोध भएकाले अहिले केही समस्या भइरहेको बताए। कर्माचार्यले दशैंको अग्रिम टिकट बुकिङको लागि भने कुनै निर्णय नभएको बताए।

‘भर्खर यातायात खुलेको छ। यो वर्ष दशैँमा बाहिर जाने धेरै हुँदैन होला। हामी छलफलमै छौँ’, कर्माचार्यले भने।

त्यस्तै, उपत्यकाबाट १२ बजेसम्म ७०१ वटा सवारीसाधन बाहिरिएका छन्। त्यसमा १८ सय ३२ जना मानिस पनि बाहिरिएका छन्।

त्यस्तै काठमाडौंमा ५८७ सवारीसाधन भित्रिएका छन्। ती सवारीसाधनमार्फत १४ सय ९९ जना उपत्यका भित्रिएका छन्। नागढुंगाबाट १२ बजेसम्म एउटामात्रै बस बाहिरिएको छ।

फर्पिंगबाट १० वटा टाटा सुमो बाहिरिएका छन् भने सातवटा काठमाडौं भित्रिएका छन्। भक्तपुरबाट १८ वटा बसले उपत्यका छोडेका छन् भने १५ वटा भित्रिएका छन्। जगातीबाट ३७ सवारीसाधनले उपत्यका छोडेको ट्राफिक प्रहरीले जनाएको छ।

नारायणगढ मुग्लिङ सडक अवरुद्ध हुँदा सो रुट हुँदै बाहिरिने बस नगएको ट्राफिक प्रहरीको भनाइ छ।

नयाँ बसपार्क ‘डिजिटाइज’
ल्होत्से बहुउद्देश्यले व्यवस्थापन गरिरहेको काठमाडौंको नयाँ बसपार्क पूरै डिजिटाइज हुने प्रक्रियामा रहेको छ। कोभिड १९ पछि ल्होत्सेले नयाँबसपार्कमा यात्रु लाइनमा बस्दा मार्किङ गरेको ठाउँमा बस्नुपर्छ।

यात्रुको लागि डिजिटल बोर्ड स्थापना गरिएको छ। त्यसमा यात्रुको कुन बसको टिकट लिने त्यहाँ हेरेर भन्न सक्छन्।

आफूले तिरेको रसिद भएको टिकट उपलब्ध हुनेछ। यात्रुले टिकट काउन्टरमा बढी समय खर्च गर्नुपर्नेछैन।

‘अहिले सबै डिजिटाइज गर्दै छौँ। अहिले सबै बस अनलाइनमा रेकर्ड नभएको हुँदा यात्रु बसपार्क आउनुपर्ने अवस्था छ’, ल्होत्सेका एचआर पंकज मल्लले भने, ‘केही समयपछि घरमै बसेर टिकट काट्ने व्यवस्था हामी मिलाउँदै छौं।’

उनले त्यसको लागि नयाँ एपको डेभलप भइरहेको जानकारी दिए।

‘अहिले भीडभाड नहोस् भनेर सुरक्षाकर्मीको बढी प्रयोग गरेका छौँ। सबै बस डिस्इन्फेक्सन गरेका छौं। सामाजिक दूरी कायम गर्दै टिकट काट्ने व्यवस्था मिलाएका छौ’, मल्लले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .