ad ad

कारोबार


एक महिनामै सवा १२ करोडको सेनिटाइजर आयात, छैन नियमन

एक महिनामै सवा १२ करोडको सेनिटाइजर आयात, छैन नियमन

सन्तोष न्यौपाने
असोज ३, २०७७ शनिबार १३:१०,

नेपाली बजारमा गुणस्तरहीन सेनिटाइजरको बिगबिगी भइरहेकै बेला विदेशबाट करोडौं रुपैयाँको सेनिटाइजर आयात भएको छ।

प्रयोगशाला नै नभएका उद्योगहरुले पनि सेनिटाइजर उत्पादन गरिरहेको अवस्थामा विदेशी आयात झनै उच्च भएको हो।

औषधि व्यवस्था विभागले औषधिबाहेकका अन्य उद्योगलाई पनि उत्पादनको अनुमति दिएका कारण गुणस्तरहीन उत्पादन भइरहेको आरोप लागिरहँदा विदेशबाट उच्च परिणाममा सेनिटाइजर आयात हुन थालेको छ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सेनिटाइजर र मास्कको आयात ह्वात्तै बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा मात्रै १२ करोड २४ लाख १७ हजार रुपैयाँको सेनिटाइजर आयात भएको हो। उक्त मूल्यमा २ लाख ८८ लाख ९ सय ३३ केजी सेनिटाइजर आयात भएको तथ्यांकमा उल्लेख छ।

जबकी गत वर्षको चार महिनामा साढे २४ करोड रुपैयाँको सेनिटाइजर आयात भएको थियो। गतवर्ष चीनबाट कोरोना भाइरस सुरु भएको खबर आएसँगै नेपालमा पनि सेनिटाइजरको बिक्री बढेको थियो। त्यो बेला मुलुकमा स्वदेशी सेनिटाइजर उद्योग नहुँदा पूर्णरुपमा विदेशमा भर पर्नुपर्ने अवस्था थियो।

भन्सार विभागको तथ्यांकअनुसार गतवर्ष कोरोना भाइरसको संक्रमण देखिएपछि २४ करोड ५४ लाख ६९ हजार रुपैयाँ बराबरको ५३ लाख ९ सय ८९ किलो सेनिटाइजर आयात भएको थियो।
कोरोना संक्रमणबाट जोगिनका लागि प्रयोग गरिने सेनिटाइजरको उच्च आयात विदेशबाट भइरहेका बेला त्यसरी आयातित र स्वदेशी उत्पादनहरु गुणस्तरहीन भेटिन थालेका छन्।
गएको हप्ता औषधि व्यवस्था विभागले गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने उद्योगलाई कारबाही गरेको जनाएको छ।

नेपालमा गुणस्तरहीन सेनिटाइजर आयात भइरहेको र स्वदेशी पनि कमसल भएको भनेर चार महिनाअघि जानकारी गराए पनि विभागले बल्ल अनुगमन सुरु गरेको नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले बताए।

‘हामीले चार महिनाअघि नै गुणस्तरहीन उत्पादन आइरहेका छन् भनेर जानकारी गराएका थियौं,’ दाहालले नेपालखबरसँग भने, ‘बल्ल उहाँहरुले कारबाही सुरु गर्नुभएको छ।’
विभागसँग इथानोल र मिथानोल छुट्याउने ल्याब नहुँदा लामो समय लगाएको उनको भनाइ छ।

पछिल्लो समय भारत, चीनबाट आएका सेनिटाइजर र स्वदेशी उत्पादनमा पनि स्वास्थ्यका लागि हानिकारक मानिने मिथानोल मिसिएको भेटिएका छन्।

विभागले औषधिबाहेकका अन्य उद्योगलाई पनि सेनिटाइजर उत्पादन गर्ने अनुमति दिँदा यस्तो स्थिति आएको उनको भनाइ छ। ‘प्रयोगशाला नै नभएका साबुन उद्योगहरुले पनि सेनिटाइजर उत्पादन गर्दा गुणस्तरहीन भइरहेका छन्,’ दाहालले भने, ‘उनीहरुसँग इथानोल र मिथानोल छुट्याउने प्रयोगशाला नै छैनन्।’

विदेशबाट करोडौं रुपैयाँका सेनिटाइजर आइरहेको भए पनि उनीहरुले भने नियामक निकायमा दर्ता भएका छैनन्। विदेशबाट आएको त्यस्ता सेनिटाइजर कुन स्तरका छन् भनेर जानकारीसमेत नहुने औषधि व्यावसायी बताउँछन्।

विभागले विदेशबाट आउनेलाई पनि दर्ता भएरमात्र बेचबिखन गर्न भनेको छ। दर्ता नभईकन बेचबिखन भइरहेका त्यस्ता सेनिटाइजरको गुणस्तरमा भने शंका हुन्छ। विदेशीबाट आयात हुने सेनिटाइजर पनि दर्ता हुनुपर्ने र अहिले उनीहरुलाई समय दिइएको विभागले जनाएको छ।

औषधि उत्पादकहरुले केही समयअघि विदेशबाट गुणस्तरहीन सेनिटाइजर आयात भइरहेको भन्दै आयात रोक्न विभागलाई अनुरोध गरेका थिए। विभागले भने आयात रोक्नेभन्दा पनि गुणस्तरीय सेनिटाइजर मात्र आयात गर्न दिने जनाएको छ।

त्यस्तै साउन महिनामा मास्कको आयात पनि उच्च छ। साउनको महिनामा मात्रै ११ लाख ४१ हजार ८ सय ७० ओटा मास्क ७ करोड ७२ लाख ७० हजार रुपैयाँमा आयात भएको थियो।

याे पनि: 
बजारमा खुलेआम बिक्री भए गुणस्तरहीन सेनिटाइजर, कुनै पनि विदेशी ब्रान्ड दर्ता भएनन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .