ad ad

कारोबार


तीन दिनमा २५७ जनाले अनलाइनबाट काठमाडौं महानगरलाई भुक्तानी गरे ३६ लाख कर

तीन दिनमा २५७ जनाले अनलाइनबाट काठमाडौं महानगरलाई भुक्तानी गरे ३६ लाख कर

नेपालखबर
असोज ५, २०७७ सोमबार ७:१,

काठमाडौं महानगरले आजदेखि थप १० वटा वडामा राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणाली सुरु गर्दै छ।

आजबाट अनलाइन सेवाबाट राजस्व निर्धारण तथा संकलन गर्ने वडाहरुमा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ रहेको छन्।

असोज १ गते वडा २६ मा यसको औपचारिक सुरुवात गरिएको थियो। त्यसै दिनदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ म प्रणाली सञ्चालन गरिएको थियो । असोज १ गते बिहीबार, २ गते शुक्रबार र ४ गते आइतबार ३ दिन गरेर यस प्रणालीबाट २५७ जना करदाताले ३६ लाख रुपैयाँ राजस्व तिरेका छन्।

विद्युतीय सुशासनलाई स्थानीयकरणको पूर्वाधार बनाउँदै लैजाने क्रममा महानगरले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो । राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले यो कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली भएको बताए। यसलाई नेपाल सरकारले सञ्चालनमा ल्याउन लागेको नागरिक एपमा इन्टिग्रेसन गराइसकिएको र यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुली सम्बन्धी कामलाई स्वचालित बनाउनु रहेको उनको भनाइ छ। अधिकारीका अनुसार यो हप्ताको अन्त्यसम्ममा महानगरका सबै वडामा प्रणाली प्रयोगमा आइसक्नेछ ।

प्रणाली जडान भएका वडामा बसोबास गर्ने करदाताले इसर्भिस डट काठमाडौं डट जिओभि डट एनपि मा लगइन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलबाट आफूले तिर्नु पर्ने करको आफैं निर्धारण गर्नसक्नेछन्। करदाताले विवरण भरेपछि प्रणाली आफैंले कति कर तिर्नु पर्ने हो अङ्क दिन्छ । प्रणालीमा करदाताले दिएको सूचनाका आधारमा यस अघि नै राखिएका करका दर, करसम्बन्धी प्रचलित कानुन विश्लेषण गरेर प्रणालीले तिर्नु पर्ने रकम अङ्क उपलब्ध गराउँछ । तर यो नै अन्तिम अङ्क भने होइन।

पब्लिकले भरेको सूचना कर अधिकृतले रुजु गरेर हो भने पछि करदाताले तिर्नु पर्ने कर रकम एकिन हुन्छ। त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकमको रसिद इमेलमा प्राप्त गर्न सकिन्छ भने छोटो सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ।

कोभिड १९ को महामारीको यस समयमा सम्भावित संक्रमणबाट बच्न व्यक्ति—व्यक्तिबीच भौतिक दुरी राख्नुपर्ने अवस्थामा अनलाइन कर प्रणालीलाई सेवाग्राहीले प्रशंसा गरेका छन्। यसका विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रालिका अध्यक्ष बसन्त वनले राजस्व सेवाबाट थालनी गरिएको यस प्रणालीमा महानगरका अन्य सेवा पनि आबद्ध गर्न सकिने बताए।

यस प्रणालीको पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक करको अङ्क प्राप्त गर्नेलगायत सुबिधा लिन सकिन्छ ।

सेवा कसरी लिने ?
अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन्। यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ।

करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ ।

यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो? करदातालाई थाहा हुन्छ। करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धि भएको महानगरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .