ad ad

कारोबार


अनुगमन टोली आएपछि भागे नक्सालका तरकारी व्यापारी

अनुगमन टोली आएपछि भागे नक्सालका तरकारी व्यापारी

नेपालखबर
असोज ५, २०७७ सोमबार ७:१०,

सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी नक्साल तरकारी बजारको अनुगनका लागि आएको खबर सुनेपछि आलु र प्याजको व्यापार गर्ने किशोर पासवान पसल छोडेर भागेका छन्।

विष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेज नाममा दर्ता भएको पसल खुल्ला थियो। लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछका क्रममा उनी भागेको पत्ता लाग्यो। सापकोटा नक्साल तरकारी तथा फलफुल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्।

तरकारीको भाउ र बजारका जानकारी लिने क्रममा एकैछिन पछि अर्को सूचना आयो। पसल नं. ४०४१ का शिवलाल शाह पनि पसल छोडेर भागे। यो देखिरहेका नजिकैका अर्का व्यापारीले प्रति किलो ६० रुपैयाँमा प्याज बेच्न थाले। उनकोमा बाँकी भएको करिब २० किलो प्याज छिनमै रित्तियो।

अन्य तरकारी बजारमाजस्तै नक्साल तरकारी बजारमा पनि खरिद बिक्री बिल र दर्ताको मुख्य समस्या देखिएको महानगरको अनुगमन टोलीले बताएको छ।

बजारमा तोफु (भटमासबाट बनेको खाद्यवस्तु) बिक्री गर्ने मिश्र स्वाँरले भने, ‘यसको म्याद त सुँघेर थाहा हुन्छ। किन्नेले सुँघेरै किन्ने हुन्।’ तोफु प्लाष्टिकको बाटामा पानी हालेर खुल्ला रुपमा बेच्न राखिएको थियो । त्यसमा कुनै खालको लेवल राखिएको थिएन।

नक्सालमा सोमबार बिहानै बा.१८च ९९०१ नं. को सवारी साधनले प्याकेजिङ गरिएको चाउमिन वितरण गर्दै थियो। वितरित चाउमिनमा उत्पादन र उपभोग्य मिति केरमेट भेटिएपछि सामानसहितको सवारी नियन्त्रणमा लिइएको महानगरले जनाएको छ।

यस्तै ज्ञानेश्वरमा रहेको कुमारी मिल र मनोरमा ज्ञानेश्वर फ्लोर एण्ड राइस मिलमा लेवल नभएका सबै खाद्यबस्तु बिक्रीमा रोक लगाइएको छ। मिलबाट सामान कहिले उत्पादन गरिएको हो? खाद्य वस्तु उत्पादन गर्न ल्याइएको कच्चा पदार्थको उपभोग्य मिति के थियो? एकीन नभएपछि सामान बिक्रीमा रोक लगाइएको हो। यी मिलहरुमा बाहिरबाट ल्याएको अन्नलाई कुटाइ गरेर बिक्री वितरण हुँदै आएको छ।

महानगरको कृषि विभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .