ad ad

कारोबार


ठमेललाई चलायमान बनाउन ‘सस्तो प्याकेज’ ल्याउँदै व्यवसायी, छैन दशैँ तिहारको उत्साह

ठमेललाई चलायमान बनाउन ‘सस्तो प्याकेज’ ल्याउँदै व्यवसायी, छैन दशैँ तिहारको उत्साह

सन्तोष न्यौपाने
असोज १५, २०७७ बिहिबार ११:३८,

कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा प्रभावित पर्यटकीय क्षेत्र ठमेललाई ‘रिभाइभ’ गर्ने योजनासहित सस्तो प्याकेज घोषणा गर्ने तयारीमा व्यवसायी जुटेका छन्।

सरकारले लकडाउनलाई हटाइसकेको अवस्थामा ठमेलको व्यवसायलाई बचाउने र अर्को सिजनमा राम्रो व्यवसाय गर्ने आशासहित सस्तो प्याकेज घोषणा गर्नलागेका हुन्।

छ महिनादेखि शून्यप्रायः व्यवसाय भएको ठमेल क्षेत्रमा आगामी सिजनलाई गतिशील बनाउने गरी अगाडि बढ्न योजना बनाइरहेको ठमेल पर्यटन विकास परिषद् उपाध्यक्ष भवीश्वर शर्माले बताए।

‘यो सिजन त्यत्तिकै गयो। ठमेलका अधिकांश व्यवसायीले छ महिनादेखि बोहनी गरेका छैनन्’, शर्माले नेपालखबरसँग भने, ‘आगामी दिन र अर्को सिजनसम्म यहाँको गतिविधि राम्रो बनाउने गरी योजना ल्याउने प्रयासमा छौँ।’

Bhabishwar Thamel main

अन्य क्षेत्रको बजार दशैँतिहारमा चलायमान हुने भए पनि ठमेल क्षेत्रमा यी पर्वको प्रभाव नपर्ने शर्माले बताए। दशैँतिहारमा केही होला भन्ने आशा नभएकाले योजनाबद्ध प्याकेजको आवश्यकता परेको उनको भनाइ छ।

अहिले यस क्षेत्रका ४० देखि ५० प्रतिशत व्यवसाय खुलेका छन् भने अरु पनि खोल्ने क्रम बढ्दै गएको छ। पसल, होटल, रेष्टुरेन्ट खुलेका छन् भने ठूला रेष्टुरेन्ट खोल्न दिएको छैन। व्यवसाय खुले पनि ग्राहक नै छैनन्। रेष्टुराँमा कफी खाने अलिअलि भए पनि अन्य व्यवसायीले सफा गरेर बस्ने मात्र काम गरेका छन्।

शून्यप्रायः गरेको व्यवसायीलाई चलायमान गराउन व्यवसायीहरु व्यक्तिगत रुपमा विभिन्न प्याकेज घोषणा गरेका छन् भने संस्थागत रुपमा प्याकेज ल्याउने तयारी भइरहेको परिषद्का उपाध्यक्ष शर्माले जानकारी गराए।

‘ठमेलका सबै व्यवसायीले सस्तो र केही घाटा खाएर भए पनि प्याकेज बनाउने तयारीमा छौँ’, शर्माले भने, ‘हरेक व्यवसायमा ५० प्रतिशतभन्दा धेरै छुट दिने छलफल भइरहेको छ।’

2Thamel sunsan New year

अन्य ठाउँभन्दा ठमेलमा बस्दा सस्तो हुने प्याकेज बनाउनलागेको उनले बताए। यसमा सबै व्यवसायी सहमत भएको र एक महिनाभित्र संस्थागत रुपमा प्याकेज घोषणा गर्ने शर्माले बताए।
स्वदेशी र विदेशी पर्यटकलाई सस्तो र आकर्षणको केन्द्र बनाउने योजना उनले सुनाए।

‘ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले प्रत्येक व्यवसायीसँग छलफल गरेर सस्तोभन्दा सस्तो, खाने, बस्ने, सपिङ गर्न स्वदेशी र विदेशी पर्यटकलाई हुने गरी प्याकेज ल्याउने तयारीमा छौँ’, शर्माले भने।

व्यवसायीले प्याकेज घोषणा गर्ने तयारी गरिरहँदा पुनः लकडाउन हुने हो कि भन्ने चिन्तामा छन्। सरकारले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्नसक्ने भनिरहेकाले दशैँको आसपासमा पुनः लकडाउन घोषणा होला कि भन्ने चिन्तामा रहेको शर्माले बताए। सरकारले पुनः लकडाउन गरेमा पर्यटन व्यवसायको अर्को वर्षको सिजनलाई पनि असर गर्ने शर्माले बताए।

यो वर्षको सिजन सकिए पनि अर्को वर्ष हुने आशामा बसेका व्यवसायी अर्को वर्षको सिजनको प्रतीक्षामा छन्। पर्यटन व्यवसायीले अहिले सरकारले अवलम्बन गरेको नियमलाई पनि विरोध गरेका छन्। हालको नियमअनुसार विदेशबाट आउने पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट लिएर आएपछि यहाँ आएर एक हप्ता क्वारेन्टिनमा बस्नुपर्ने नियम छ।

Thamel hotel 2

‘हामीले यो नियम हुँदैन भनेका छौँ’, शर्माले भने, ‘नेपालमा विदेशी पर्यटक सरदर दुई हप्ता बस्छन्। एक हप्ता क्वारेन्टिनमा बस्ने हो भने कुनै पनि पर्यटक आउँदैन।’

यसेको सट्टामा व्यवसायीले ७२ घण्टाको पीसीआर लिएर आउने पर्यटकलाई एयरपोर्टमा चेक गर्ने र अर्को दिन रिपोर्ट निकालेर त्यसका घुम्न जानसक्ने व्यवस्था मिलाउनुपर्ने व्यवसायीको सुझाव छ। पोजिटिभ आए आइसोलेसन र नेगेटिभ आएमा घुम्न जान पाउनुपर्छ भनेर राज्यलाई सुझाव दिएको उनले बताए।

मुलुकमा लकडाउन सुरु भएको पछिल्लो छ महिनाको बीचमा ठमेलबाट आठ सय व्यवसायी पलायन भइसकेका छन्। अझै पनि ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गोजस्ता अनलाइनबाट चल्ने व्यवसाय ठमेलबाट हट्नेक्रम जारी रहेको शर्माले बताए।

Thamel hotel 4

‘अब पनि लकडाउन बढ्दै जाने हो भने ठमेलबाट ठूलो संख्यामा व्यवसायी विस्थापित हुन्छन्’, उनले भने।

यसरी व्यवसाय छोडेर घर नै खाली हुनथालेपछि घरधनीले भाडा समायोजन गरेका छन्। अहिलेसम्म ठमेल क्षेत्रमा ८० प्रतिशत घरधनीले ३० देखि ७० प्रतिशतसम्म भाडा घटाएको शर्माले बताए। जसले घटाएका छैनन् उनीहरुको घर खाली हुँदै गएका छन्।

ठमेल क्षेत्रमा १० हजार व्यवसायी छन् भने २ हजार घरधनी छन्। यस क्षेत्रका व्यवसायीले १५ हजारदेखि २५ लाखसम्म भाडा तिर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .