ad ad

कारोबार


नेपालमा सञ्चालित हाम्रा सबै आयोजना सुरक्षितरुपले चलिरहेका छन् : एडीबी

नेपालमा सञ्चालित हाम्रा सबै आयोजना सुरक्षितरुपले चलिरहेका छन् : एडीबी

नेपालखबर
असोज १५, २०७७ बिहिबार १२:१९,

कोभिड–१९ महामारीले विकास आयोजना प्रभावित भइरहेका बेला एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सञ्चालित सबै विकास परियोजनाहरुमा निर्माणकार्य निर्बाध रुपमा अगाडि बढिरहेको जनाइएको छ।

कार्यस्थलमा निर्माणकार्य सञ्चालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडि बढाइएको हो। बैंकले आफ्ना शतप्रतिशत लगानी रहेका विकास परियोजनामा यो एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाएकोे जनाएको हो।

एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको पनि एडिबीले जनाएको छ। यसरी बनेको एसओपी अन्तर्राष्ट्रिय उत्तम अभ्यास तथा बिभित्र अन्तर्राष्ट्रिय स्वास्थ्य तथा विकाससँग सम्बन्धित संस्थाहरुले जारी गरेका निर्देशिकाहरुलाई पालन गरी बनाइएको हो।

कोभिड १९ जोखिमका कारण अहिलेसम्म पनि अन्य स्रोतहरुबाट संचालित धेरै विकास परियोजनाहरु अगाडि बढ्न सकिरहेका छैनन् । एडिबीले अन्तरर्राष्ट्रिय उत्तम अभ्यासहरु अवलम्बन गर्दै कार्य शुरु गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर मे देखि नै लागू गर्न आयोजना कार्यान्वयन निकायहरुलाई परिपत्र गरेको थियो।

मार्चमा लकडाउन (बन्दाबन्दी) सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाईएको बैंकले जनाएको छ।

कोभिड जोखिम व्यवस्थापन सम्बन्धि सरकार तथा अन्य आधिकारिक निकायहरु जस्तै डब्लुएचओ, आइएलओ, आइएफसीले तोकेका मापदण्डहरु अपनाई रोकिएका काम सुचारु गर्न एडीबीले मेको सुरुदेखि नै आयोजना कार्यान्वयन निकायलाई परिपत्र गरेको थियो।

त्यसका लागि एडिबीले सबै परियोजना कार्यान्वयन निकायसँग दु्रत सर्वेक्षण गरी ती निकायले माग गरे अनुुसार जुलाई २१ देखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण ब्यवसायीहरुलाई एससोपी कार्यान्वयनबारे अभिमुखीकरण तथा परामर्श दिएको एडिबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले बताए।

एसओपीमा निर्माण कार्य शुरु गर्दा व्यवस्था गर्नुपर्ने मूख्य दुई क्षेत्रहरु कार्यस्थलको व्यवस्थापन र कर्मचारीहरुको जनस्वास्थ्यको व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरु स्पष्ट रुपमा दिइएको बैंकले जनाएको छ ।

निर्माण व्यवसायीको कार्यालय व्यवस्थापनमा कार्यालय क्षेत्रको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यतिmगत अभ्यासहरु पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सुरु गरिएको थियो । त्यसक्रममा भौतिक दुरी, व्यतिगत व्यवहार, बैठकमा भाग लिदा गर्नुपर्ने नियम, निर्माण क्षेत्रमा जाँदा अपनाउनु पर्ने उपाय स्पष्ट रुपमा जानकारी गराइएको थियो ।

त्यसैगरी निर्माण कार्य सुचारु गर्दा अपनाइ कार्यविधिहरुमा काम सुरु गर्नु अघि कामदारको व्यवस्थापन, प्रवेशद्घारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलिकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरुको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको सिंहले बताए। आतकालीन प्रोटोकलतर्फ आकस्मिक उपचारको तयारी, संक्रमणयुक्त केसमा आकस्मिक प्रोटोकल एवं क्वारेन्टिनको व्यवस्था पनि आयोजनाहरुमा गरिएको छ ।

एसओपीको उद्देश्य भनेको नै भाईरस संक्रमणबाट बच्न रोकथाम, संक्रमण परिक्षण तथा आपत्कालिन प्रकृयाको प्रणालीगत व्यवस्था गर्नु रहेको एडीबीले जनाएको छ। कार्यक्रममा एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए।

एडीबीसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको वेभिनारमा उनले बैंकले तयार पारेको एसओपी आयोजनाहरुमा लागू भईरहेको र एउटा राम्रो सुरुवात भएको जानकारी दिए। यसले निर्माण क्षेत्रमा कोभिड १९ को जोखिम कम गराउन र कर्मचारीहरुमा संक्रमण फैलिन नदिएको उनले बताए ।

कार्यक्रममा एडिबीले बनाएको जस्तै एसओपीबनाएर अन्यविकास परियोजनालाई अगाडि बढाउन सकिने पुर्व अर्थसचिवसुमन शर्माले बताए। ‘सरकारले सुरक्षित भएर काम गर्नुहोस त भनेको थियो तर परियोजनाका कसरी काम गर्ने भन्ने प्राक्टिकल विषयबारे केही भनिएको थिएन् । एसओपीको खाँचो थियो। यो एउटा राम्रो सुरुवात हो’, उनले भने।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वार्षिक आठ खर्ब बराबरको विकास निर्माणको काम हुन्छ। निर्माण क्षेत्रले करिब ८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा सहयोग गर्छ र ३५ प्रतिशत बजेट उपयोग गर्छ । करीब ३० लाख मानिसहरुले निर्माणका आयोजनाहरुमा काम गर्छन्। कोभिडले सबै निर्माण आयोजनाहरुलाई कम्तिमा एक बर्ष पछाडी धकेलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .