गत हप्ता काठमाडौँको पेप्सीकोलाको एक सानो तरकारी बजारमा भेटिएकी एक गृहिणीले आलु किन्दै थिइन्।
आलु पसलेले तीन प्रकारका आलु देखाए। एउटा आलु भारतबाट आएको र बाँकी दुई नेपाली। भारतबाट आएको आलु १५० र नेपाली एक थरी आलुको मूल्य १७० रुपैयाँ धार्नी थियो। दुवै प्रकारका आलु स्टकमा राखेको लामो समय भएकाले चाउरिएका थिए।
अर्को एक काठको बक्समा थियो स्थानीय नेपाली आलु। एकदिन अघिमात्र खनेर ल्याएको उक्त आलु ताजा र ओसिलो माटोसहित थियो।
‘यो आलु धार्नीको ३ सय रुपैयाँ हो,’ पसलेले भने, ‘यो लेलेको आलु हो, सुरुमा त ३२० सम्म बेचेको।’
‘ओहो कति महँगो हो,’ ती गृहिणीले भनिन्, ‘यो त मासुभन्दा पनि महँगो भयो त?’ पसलेका अनुसार मुढेको आलु आउन छोडेपछि स्थानीय राम्रो आलु महँगिएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्य हेर्ने हो भने शनिबार स्थानीय रातो आलुको थोक मूल्य ९४ रुपैयाँ उल्लेख गरिएको छ। यो एक महिनाको अवधिमा २ रुपैयाँ मात्र महँगो हो।
आलु मात्र होइन, पछिल्लो समय बजारमा अधिकांस तरिकारीको मूल्य आकासिएको छ। ती गृहिणीजस्तै हरेक उपभोक्ता तरकारीलाई मासुभन्दा महँगो भएको बताउँछन्।
अहिले कुखुराको मासु प्रतिकेजी १६० देखि १७० सम्ममा बिक्री भइरहेको छ। गएको हप्ता यो १३० देखि १४० रुपैयाँ प्रतिकेजी कारोबार भएको सम्बन्धित व्यवसायी बताउँछन्।
तरकारीको भाउ हेर्ने हो भने भान्सामा धेरै प्रयोग हुने सिमी, काउली, साग, लौका, घिरौंला, बरेला, स्कुस, तिते करेला, मकै बोडी महँगिएका छन्। धेरैको रोजाइमा पर्ने अधिकांस तरिकारीको मूल्य प्रतिकेजी सय रुपैयाँभन्दा माथि छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले पनि बजारमा स्कुसभन्दा अरु तरकारी प्रतिकेजी सय रुपैयाँभन्दा महँगा भएको बताए।
‘स्कुसबाहेक कुनै पनि तरकारी प्रतिकेजी सयभन्दा कममा पाइँदैन,’ तिमल्सिनाले भने, ‘विचौलिायको तह धेरै हुँदा हरेक समयका तरकारीको मूल्य अकासिएको छ।’
तरकारीको ढुवानी धेरै हुने, विचौलियाले ढुवानीको रकम धेरै उठाउँदा पनि महँगो परेको छ।
केही सरकारी नियकाले अनुगमन गरे पनि उपभोक्ताले उक्त अनुभव गर्न पाएका छैनन्। अनुगमन देखावटी मात्रै भएको उनी बताउँछन्। काठमाडौं महानगरपालिकाले पनि अनुगमन गरेको छ तर त्यो प्रभावकारी छैन।
सम्बन्धित निकायले कालिमाटी, बल्खुजस्ता तरकारी बजारलाई मात्र नभएर खुद्रा बजार, स्थानीय पसलमा पनि तरकारीको मूल्यको अनुगमन गर्नुपर्ने माग उठाउँदै आएको तिमल्सिनाले बताए।
बजारमा महँगो, कालिमाटीमा सस्तो
पछिल्लो केही महिनादेखि बजारको तरकारीको भाउ हेर्दा नियणन्त्रण बाहिर गएको जस्तो देखिन्छ। काठमाडौंमा तरिकारी वितरण हुने सबैभन्दा ठूलो थोक बिक्रेता कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्यसँग धेरै नै फरक पर्न थालेको छ।
कालिमाटीबाट थोकमा बिक्री भएको तरकारीको मूल्य बजारमा आउँदा दोब्बरभन्दा धेरैले महँगो भइसकेको हुन्छ।
सय रुपैयाभन्दा माथि पर्ने हरेक तरकारीको कालिमाटीको थोक मूल्य ५० रुपैयाभन्दा कम छ।
शनिबार कालिमाटीको थोक मूल्यमा स्थानीय काउलीको मूल्य प्रतिकेजी ७८ रुपैया छ। बजारको मूल्य हेर्ने हो भने यो काउली सयदेखि १२० रुपैयाँ पर्ने व्यापारी नै बताउँछन्।
विभिन्न प्रकारका सिमीको थोक मूल्य प्रतिकेजी ४० देखि ४५ रुपैयाँ छ। यस्तो सिमीको मूल्य प्रतिकेजी सय रुपैयाँको हाराहारीमा छ।
बजारमा प्रतिकेजी सय रुपैयाँ हराहारीमा बिक्री भएको स्थानीय गोलभेंडा शनिबारको कालिमाटीको थोक मूल्य औसत प्रतिकेजी ७५ रुपैयाँ उल्लेख छ।
कालिमाटी, बल्खुजस्ता ठूला तरकारी बजारको भन्दा बजारमा दोब्बर महँगोमा उपभोक्ता ठगिएको तिमल्सिना पनि बताउँछन्। कालिमाटी बजारका बिक्रेताले बिल नकाट्ने र किन्नेले पनि बिल नबनाउने समस्याले गर्दा तरकारीको मूल्य आफूखुसी भइरहेको छ।
खुद्रा व्यापारीहरुले कालिमाटीजस्ता बजारबाट किनेको तरकारीमध्ये तीन भागमा एक भाग नष्ट हुने भएकाले महंगो परेको व्यवसायीको भनाइ रहेको तिमल्सिना बताउँछन्।
थोकभन्दा खुद्रामा दोब्बर महँगोमा तरकारी किन्नु पर्ने बाध्यतालाई सरकारले जसरी पनि सम्बोधन गर्नुपर्ने उनी बताउँछन्।
यसको लागि स्थानीय तहले खुद्रा र थोक दुवैको अनुगमन गर्नुपर्ने उनको बिचार छ।
‘तरकारीको मूल्य किसानदेखि उपभोक्तासम्म उचित बनाउन उत्पादन गर्ने किसान, ढुवानी, खरिद कर्ता, खुद्रा पसलसम्म अनुगमन हुनुपर्छ,’ तिमिल्सिनाले भने।
महिना दिनमा अधिकांस तरकारीको मूल्य सस्तो
बजारमा मूल्य बढिरहेको भए पनि कालिमाटी बजारको थोक मूल्य हेर्दा अधिकांस तरकारीको मूल्य भने घटेको छ। महिना दिनको अवधिमा तरकारीको मूल्य ६० प्रतिशतसम्म घटेको छ।
हाइब्रिड घिउ सिमी असोज १ गते थोकमा ११५ रुपैयाँ रहेकोमा शनिबार ४५ रुपैयाँ भएको छ।
यो अवधिमा गोलभेडा ११५ बाट ७५, बन्दा ६२ बाट ४८, स्थानीय काउली ११५ बाट ७८, काँक्रो ५८ बाट ४५ भएको छ।
Shares
प्रतिक्रिया