ad ad

कारोबार


नेपाली टेलिभिजनले नै बजाए भारतीय डबिङ विज्ञापन, कारबाही गर्ने प्रक्रियामा मन्त्रालय

नेपाली टेलिभिजनले नै बजाए भारतीय डबिङ विज्ञापन, कारबाही गर्ने प्रक्रियामा मन्त्रालय

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार ११:१८,

भारतीय डबिङ विज्ञापन प्रशारण गर्न नपाइने ऐन लागू भएको एक वर्ष बितिसक्दा पनि केही नेपाली टेलिभिजनले अहिलेसम्म त्यस्ता विज्ञापन बजाइरहेको पाइएको छ।

विदेशी टेलिभिजन च्यानलमा समेत विज्ञापनरहित कार्यक्रम (क्लिनफिड) नीति लागू भइसकेको अवस्थामा पनि केही टेलिभिजनमा त्यस्ता विज्ञापन प्रसारण भइरहेका छन्।

अधिकांश टेलिभिजनले भारतीय डबिङ विज्ञापन प्रसारण नगरेको भए पनि राष्ट्रिय प्रसारणका रुपमा रहेको केही र क्षेत्रीय प्रसारणमा रहेका केही टेलिभिजनमा त्यस्ता विज्ञापन देखिएको सम्बन्धित व्यवसायी बताउँछन्।

नेपाली टेलिभिजनले नै त्यसरी भारतीय डबिङ विज्ञापन बजाउनु उनीहरु कै लापरवाही भएको नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजालले बताए।

त्यसरी डबिङका विज्ञापन प्रसारण हुनुमा विज्ञापन एजेन्सीको संलग्न नभएको र सम्बन्धित मिडियाले नै जिम्मवारी लिएर प्रसारण गरेको उनको भनाइ छ।

‘त्यस्तो विज्ञापन एजेन्सीबाट नभएर ग्राहकले सिधै लिएको देखिन्छ,’ रिजालले नेपालखबरसँग भने, ‘मिडियाले विज्ञापन बजाउँछौं, कारबाही गरे हामीलाई गर्छ। हाम्रो जिम्मेवारी भयो भनेको छ।’

सरकारले विदेशी च्यानलमा समेत क्लिनफिड लगाएको अवस्थामा नेपाली टेलिभिजनले नै डबिङ विज्ञापन बजाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित टेलिभिजनलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ।

मन्त्रालयमा यस सम्बन्धमा उजुरीसमेत परिसकेको छ। अहिले विज्ञापन बोर्ड पूणरुपमा तयार नभइसकेको अवस्थामा मन्त्रालयले टेलिफोनबाट जानकारी गराउने र नमानेमा कारबाही गर्ने तयारीमा गरिरहेको जनाएको छ।

सम्बन्धित मन्त्रालयले अनुगमनलाई राम्रो नबनाएका कारण त्यसरी विज्ञापन बजेको टेलिभिजन सेवा प्रदायक डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए। मन्त्रालयले के पो गर्ला र भनेर त्यसरी टेलिभिजनले लापरबाही गरेको हुनसक्ने व्यवसायीको बुझाइ छ।

क्लिनफिड लागू भइसकेको र डबिङका विज्ञापन प्रसारण गर्न नपाउने ऐन आएपछि विज्ञापन एजेन्सीहरुले त्यस्ता खालका डबिङ विज्ञापन रोकिएको जनाएका छन्।

‘हामीले मुलुकको कानुनलाई पालना गर्नुपर्छ’, रिजाल भन्छन्, ‘यही ऐन कै कारण हामीसँग आएका कतिपय विज्ञापन हामीले राकेर राखेका छौं।’ उनले आफ्नो विज्ञापन एजेन्सीबाट दैनिक साढे तीन लाख विज्ञापन रोकेको बताउँछन्।

तर, कतिपय मिडियाले आफ्नो जिम्मेवारी भयो भनेर विज्ञापन बजाएको उनीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .