ad ad

कारोबार


ग्वान्जाओमा १४ दिन क्वारेन्टिन बसेर शाङहाई एक्स्पोमा पुगेका नेपाली व्यवसायी भिड देखेर उत्साही

ग्वान्जाओमा १४ दिन क्वारेन्टिन बसेर शाङहाई एक्स्पोमा पुगेका नेपाली व्यवसायी भिड देखेर उत्साही

चेतनाथ आचार्य
कात्तिक २२, २०७७ शनिबार ७:१६,

गत बिहीबार शाङहाईमा सुरु भएको तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी नेपाली व्यवसायीहरु उत्साही बनेका छन्। एक्स्पो सुरु भएको पहिलो दिन बिहीबार सीमित मानिसलाई मात्र प्रवेश दिइएको थियो। निकै कम संख्यामा मानिसहरु प्रदर्शनी कक्षमा आएको देखेर निरास भएका नेपाली व्यवसायीहरु दोस्रो दिन शुक्रबारको भिड देखेर उत्साही बनेका हुन्। एक्स्पो आगामी मंगलबारसम्म चालु रहनेछ।

कोरोना महामारीपछि चीनले आयोजना गरेको यो एक्स्पो विश्वकै सबैभन्दा ठूलो आयात प्रवर्द्धन मेला हो। स्वास्थ्य सुरक्षालाई उच्च ध्यान दिँदै अत्यन्त व्यवस्थित रुपमा एक्स्पो संचालन भइरहेको नेपाली व्यवसायीहरु बताउँछन्। कोरोना महामारीका बीचमा पनि चालु एक्स्पोमा विदेशी सहभागीको संख्या गतवर्षकोभन्दा उल्लेख्य रुपमा बढेको छ। सहभागीले पहिले नै दर्ता गराएका नाम अनुसार आयोजकले गत वर्षभन्दा तीस हजार वर्ग मिटरले प्रदर्शनी क्षेत्रलाई बिस्तार गरेका छन्।

एक्स्पोमा ६ वटा नेपाली कम्पनीका ८ वटा प्रदर्शनी कक्ष रहेका छन्। गत वर्षको नोभेम्बरमा आयोजित दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी नेपाली व्यवसायीको संख्याको तुलनामा यसपटक उल्लेख्य रुपमा बढेको छ। तर, गत वर्ष नेपालको प्रतिनिधित्व गर्ने पेभिलियन ‘नेपाल मण्डप’ को आकर्षण थियो।

ShanghaiExpo Nepali3

यसपटक कोरोना महामारीले गर्दा नेपाल पर्यटन बोर्ड तथा नेपाल उद्योग वाणिज्य महासंघजस्ता ठूला संस्थाहरुले सहभागिता जनाउन सकेनन् र नेपालको पेभिलियन पनि एक्स्पोमा छैन। जति नेपाली व्यवसायीहरु एक्स्पोमा आइपुगेका छन् उनीहरु आफ्नै इच्छा र चाहनाबाट सहभागी भएका हुन्।

नेपाली प्रदर्शनकर्ताले तीन मिटर चौडाइ र तीन मिटर लम्बाई भएको कक्षको प्रदर्शनी अवधिभरका लागि तीस हजार चिनियाँ युआन अर्थात् पाँच लाख रुपैयाँभन्दा बढी शुल्क तिरेका छन्।

नेपाली प्रदर्शनी कक्षमा अधिकांशः थाङ्का रहेका छन्। त्यसपछि पस्मिना, सिङ्गिङ बोल, मूर्तिहरु र हस्तकलाका सामग्री रहेका छन्। एक्स्पोमा सहभागी भएका श्रीगोपाल श्रेष्ठले थाङ्का र मूर्तिहरु प्रदर्शनीमा राखेका छन्। श्रेष्ठको प्रदर्शनी कक्षमा राखिएका मूर्तिहरुले चिनियाँको ध्यान तानेको छ।

ShanghaiExpo Nepali2

चिनियाँहरुले धेरैजसो जाम्बलाको मूर्ति रुचाएको उनले सुनाए। जाम्बला तिब्बती बौद्धधर्ममा धनका देवता कुबेर जस्तै हुन्। त्यसपछि लोकेश्वर, मञ्जुश्री लगायतका मूर्तिहरु चिनियाँले रुचाउँछन्। अहिले चीनमा नयाँ गुम्बाहरुको निर्माण भइरहेकाले पनि नेपाली मूर्तिको बजार राम्रो भएको श्रेष्ठले बताए। आफूले ल्याएका मूर्तिहरु उच्च कोटीको भएकाले सस्तोमा एक लाख रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मको भएको उनले सुनाए। तामाको बेसमा बनेका मूर्तिमा सुनको जलप लगाइने भएकाले त्यस्ता मूर्ति गुणस्तरीय र मङ्गा पर्ने उनले स्पष्ट पारे।

गत वर्ष एक करोड रुपैयाँको मूर्ति र थाङ्का बेचेका श्रेष्ठले यसपटक त्यो परिमाणभन्दा बढीको व्यवसाय हुने आशा गरेका छन्। तर यसपटक त्यति सहज नहुने कारण खुलाउँदै श्रेष्ठले भने, ‘यसपटक कोरोनाले गर्दा अवलोकनकर्ताको संख्या कम हुन सक्ने संभावना छ भने नेपाली थाङ्का व्यवसायीबीचमै प्रतिस्पर्धा हुने भएकाले व्यापार कम हुने संभावना पनि रहेको छ।’

सोही एक्स्पोमा पाँचसयभन्दा बढी थाङ्का लिएर आएका छन् प्रकाशरत्न तुलाधर। तुलाधरले सस्तोमा पाँचसय रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मका थाङ्का ल्याएका छन्।

‘पहिलो दिन बिहीबार त खासै मान्छे नदेखेपछि हामी निरास भएका थियौँ तर दोस्रो दिन शुक्रबार थामिनसक्नुको भिड देखेपछि उत्साही भएका छौँ’, तुलाधरले नेपालखबरसँग भने, ‘आगामी दिनमा राम्रो व्यापार हुने कुरामा आशावादी छौँ।’

ShanghaiExpo Nepali4

तुलाधर निकै लामो समयदेखि चीनमा आयोजित प्रदर्शनीहरुमा थाङ्का लिएर आउने गर्छन्। कोरोना महामारीपछि १० महिनाको ग्यापमा पहिलोपटक थाङ्का लिएर आएका उनी अलिक लामै समय चीनमा बसेर विभिन्न मेलाहरुमा भाग लिने सोचमा छन्।

चीनमा नेपाली थाङ्का निकै लोकप्रिय र सस्तो रहेको तुलाधरले बताए। चीनमा पाइने तिब्बती थाङ्काहरु महङ्गा पर्छन्।

‘तिब्बत तथा छिङहाईमा थाङ्का कोर्ने कलाकार सीमित संख्यामा छन् तर नेपालमा थाङ्का कोर्ने कलाकारहरु ठूलो संख्यामा भएकाले नेपाली थाङ्का सस्तो भएका हुन्’, तुलाधरले भने, ‘चीनमा नेपाली थाङ्का सस्तो भएकाले तिब्बत तथा छिङहाईका थाङ्का व्यवसायीहरु नेपाली व्यवसायीसँग त्यति खुशी हुँदैनन्।’

थाङ्का किन्ने व्यक्ति शौखिन हुने र थाङ्काको पारखी पनि हुने भएकाले राम्रो र गुणस्तरीय थाङ्का महङ्गो भए पनि सहजै बिक्री हुने तुलाधरले बताए। कोही सस्तो खोज्ने पनि हुन्छन् त्यसैले आफूले सस्तो थाङ्का पनि ल्याएको बताउँदै ग्राहकले छानेर किन्ने पाएपछि उनीहरु पनि सन्तुष्ट हुने बुझेरै सस्तो र महङ्गो सबै प्रकारको थाङ्का आफूले ल्याएको उनको भनाइ छ।

क्वाङचौमा १४ दिन कोरिन्टिनमा बस्नु पर्ने भएकाले यो एक्स्पोको सहभागितामा निकै ठूलो लगानी भएको श्रेष्ठले बताए।

‘अरु बेला भए तुरुन्तै आएर प्रदर्शनी गर्न सकिन्थ्यो तर यसपटक कोरोनाले गर्दा दुई साता अगाडि आएर क्यारेन्टिनमा बस्नुपर्दा त्यसको समेत खर्च जोड्नुपर्ने भएकाले नेपाली व्यवसायीको लगानी बढेको छ’, श्रेष्ठले भने, ‘त्यसैले यसपछि चीनका अन्य भागमा आयोजना हुने प्रदर्शनीमा समेत भाग लिने सोचमा छौँ।’

कोरोनाले गर्दा नेपालमा पनि खासै व्यापार नभएको समयमा चीन आइपुगेका नेपाली व्यवसायीहरुले शाङहाई एक्स्पोपछि चच्याङ प्रान्तको यियु र निम्पो, हाइनान प्रान्तको सान्या, बेइजिङ र अन्य केही भागमा आयोजना हुने प्रदर्शनीमा भाग लिने सोच बनाएका छन्। यसका लागि उनीहरु लगभग आगामी डेढ महनासम्म चीनमै रहनेछन्।

बेइजिङस्थित नेपाली दूताबासका इकोनोमिक मिनिष्टर छवीन्द्र पराजुलीले पनि नेपाली व्यवसायीलाई शाङहाई एक्स्पोपछि अन्य ठाउँमा आयोजना हुने मेलामा सहभागी गराउनका लागि सम्पर्क गराउँदै आफूले सहजताको भूमिका निर्वाह गरिरहेको नेपाल खबरलाई बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .