ad ad

कारोबार


ठमेलमा व्यवसाय सञ्चालन अनुमति माग्दै व्यवसायी

ठमेलमा व्यवसाय सञ्चालन अनुमति माग्दै व्यवसायी

नेपालखबर
पुस २३, २०७७ बिहिबार १३:२७,

ठमेल क्षेत्र सञ्चालनमा ल्याएर पर्यटन उद्योगलाई विस्तारै पुनर्स्थापना गर्नुपर्ने व्यवसायीले माग गरेका छन्। यस क्षेत्रका अधिकांश व्यवसाय पर्यटनसँग सम्बन्धित छन्। कोविड १९ को संक्रमण सुरु भएपछि लकडाउन (बन्दाबन्दी) का कारण यो क्षेत्र अहिलेसम्म ठप्प छ।

दिवाकालीन व्यवसाय सञ्चालनमा आए पनि व्यापारिक लाभ लिन नसकेको ठमेल पर्यटन परिषद्ले जनाएको छ। यसबाट पर्यटन व्यवसायमा चुलिँदै गएको आर्थिक संकट व्यवस्थापनका गर्न ठमेल खुल्ला गर्नु पर्ने र रात्रीकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनु पर्ने व्यवसायीको माग छ। यता प्रशासनतर्फबाट भने घरधनी र व्यवसायीको आपसी समझदारी, भौतिक तथा स्वास्थ्य सुरक्षाका लागि मजवुत संयन्त्र निर्माण गरेर व्यवसाय चलाउन सकिने धारणा आएको छ।

आज ठमेल पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रको समसामयिक विषयमा छलफल गर्न आमन्त्रण गरेका अधिकारी र व्यवसायीबाट यस्ता धारणा आएका हुन्। 

ठमेलका समस्या फेरिएका छन्। पहिले लागुऔषध दुव्र्यसनको ठूलो समस्या थियो। अहिले चर्को आवाज, सार्वजनिक स्थानमा लुकीछिपी हुने यौनजन्य क्रियाकलाप, भौतिक र स्वास्थ्य सुरक्षा चुनौती हुन्।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले भने, ‘सरकारले दिएन भनेर गुनासो गरेसँगै व्यवसायीले पालना गर्नुपर्ने व्यवसायिक धर्मका विषयमा पनि मनन गरौं। ठमेलका होटलमा बस्न आउने पाहुना र घरधनी ढुक्कसँग सुत्न पाउँछन्? लाइभ व्याण्ड र गीतसंगीतसँग सम्बन्धित रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायीले उत्तर दिनुपर्छ। सडकमा अवैध यौन गतिविधि भयो भनेर गुनासो गर्दै गर्दा कुन ठाउँ र समयमा यस्ता धन्धा भएका छन्। सूचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्छ। जहाँसम्म रातभर ठमेल खोल्ने माग छ। यसका लागि जिल्लाहुँदै केन्द्रीय विपद् संकट व्यवस्थापन केन्द्रसम्म छलफल चलाउनु पर्छ।’

उनले आपसी समझदारी बढाएर दिवा व्यवसायलाई क्रमशः विस्तार गर्दै रातको ११ बजेसम्म व्यवसाय सञ्चालनका लागि वातावरण बन्दै गएको बताएका थिए।

ठमेलमा व्यवसायी र घरधनीका आफ्ना-आफ्नै गुनासा र समस्या छन्। छुट्टा-छुट्टै सुृन्दा कुरा सबैका जायज लाग्छन्। तर, दुवै पक्षले समझदारी नगरी व्यवसाय अघि बढाउन सकिँदैन।

कार्यक्रममा वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले भने, ‘ठमेलका सडकमा अमर्यादित गतिबिधि भएको खवरले नकारात्मक सन्देश गएको छ। यसलाई वैकल्पिक पेशा र व्यवसायको सिर्जना गरेर समाधान गर्ने दिशामा महानगरको सोच छ। जहाँसम्म व्यवसाय निरन्तरताको कुरा छ, यसका लागि प्रचलित मापदण्डको पालना गर्ने गरी अघि बढ्न घरधनी र व्यवसायीको एउटै मत हुनुपर्छ। यहाँका सबैका आफ्ना-आफ्नै स्वार्थ भएर पो समस्या भयो। वहालका विषयमा भोलि सिर्जना हुने सम्भावित विवाद अहिले नै समाधान गरौं।’

‘ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ। यो कतिञ्जेल सहने? त्यसैले यसलाई क्रमशः खोल्दै लानु पर्छ भन्ने ठमेल पर्यटन विकास परिषद्को सरकारसँग माग हो। परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणा भन्छन्, ‘यो माग सरकारसँग पुर्‍याउन महानगरले सहजीकरण गरिदिनुपर्छ।’

परिषद्का महासचिव भविश्वर शर्माका अनुसार ठमेलमा साना साना चिया पसलदेखि ५ तारे होटलसम्मका सुबिधा छन्। यस क्षेत्रमा करीब १० हजार व्यवसायी र २ हजार घरधनी छन्। सिजनमा ठमेलले दैनिक ३० देखि ३५ करोड रुपैयाँसम्म र अफसिजनमा १८ देखि २० करोड रुपैयाँसम्म कारोबार गर्ने गरेको थियो। अहिले त्यो कारोबार शुन्य छ।

शर्मा भँछन्, ‘व्यवसायी व्यापार घाटा सहन नसक्ने अवस्थामा पुगेर तुरुन्त व्यवसाय खोल्नु पर्ने अवस्थामा पुगेका छन्। व्यवसायबाट आम्दानी छैन। बैंकले ऋण दिँदैन। दिए पनि कसरी तिर्ने?’

छलफलका संयोजक राजेन्द्र तुलाधर भन्छन्, ‘ठमेलमा दैनिक ज्यालादारी गरेर खानेदेखि तारे होटल चलाउने सबैमा समस्या चुलिँदै गएको छ। यसलाई नखोली भोलि अर्को समस्या ठडिन सक्छ।’

छलफलमा व्यवसायीहरु सपेन्द्र गौत्तम, अमित पौडेल, भीम श्रेष्ठलगायत व्यवसायीले समसायिक अवस्थाका बारेमा टिप्पणी गर्दै भने, ‘अहिले पार्टी प्यालेस, सार्वजनिक यातायात, काठमाडौंकै नयाँ सडक र इन्द्रचोक सबै खुलिसकेका छन्। अनि ठमेल मात्र बन्द किन?’

त्यस क्रममा व्यवसायीले, रात्रीकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्‍यो, भन्ने आवाजलाई एक मत बनाएका थिए। कुनै ठाउँमा ९ बजे, कतै १० बजे र कतै ११ बजे बन्द गर्ने व्यवहार असमान भयो । सबै खुल्दा ठमेल बन्द यहाँ पनि अन्याय भयो, भनेका थिए।

छलफलमा सहभागी घरधनीहरुले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लिल गतिबिधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए।

ठमेलको पर्यटन व्यवसाय फैलिएर पकनाजोल, कालधारा, धोवीचौर र नरदेवीसम्म पनि विस्तार भएको व्यवसायीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .