सातै प्रदेशमा चन्द्रागिरिजस्तै केलबकार निर्माण गर्ने घोषणा गरेका आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले त्यसको सुरुवात बुटबलबाट गरेका छन्।
कोरोना संक्रमणका कारण मुलुकमा ठूलो लगानी आउन नसकेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले बुटबल र पाल्पालाई जोड्नेगरी पाँचतारे होटलसहित केबलकार र मनोरन्जन स्थल निर्माण गर्ने घोषणा गरेका हुन्।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकारको शिलान्याससँगै यसको निर्माण सुरु भएको छ। २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनामा ३ अर्ब ५० करोड रुपैयाँ लगानी अनुमान गरिएको छ।
लुम्बनी केबलकार आयोजनामा १५ संस्थापक लगानीकर्ता छन्। जसमा आईएमई ग्रुप र शर्मा कन्स्ट्रक्सनजस्ता ठूला समूह छन्।
त्यसैले यो मुलुककै सफल आयोजनाको रुपमा अगाडि बढ्ने स्थानीय साझेदारका रुपमा रहेका संस्थापक जगतबहादुर पोखरेलले बताए। उनी भिजन लुम्बिनीका तर्फबाट यस आयोजनामा संस्थापक छन्। लुम्बिनी केबलकार निर्माणमा ९ जना स्थानीय साझेदारसमेत रहेको पोखरेलले बताए।
आईएमई समूहले चन्द्रागिरि केबलकार सफल भएसँगै सातै प्रदेशमा यस्तै आयोजना बनाउने घोषणा गरेको थियो।
शनिबार आयोजनाको निर्माण शिलान्यास कार्यक्रममा बोल्दै ढकालले बुटबललाई आर्थिक राजधानी बनाउने लुम्बिनी प्रदेश सरकारको घोषणालाई यस अयोजनाले सहयोग गर्ने बताए।
केबलकार निर्माण क्षेत्र
नेपालको आन्तरिक तथा बाह्य पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी केबलकार आयोजनाको बटम स्टेशन रुपन्देही जिल्लाको बुटबल उप–महानगरपालिका वडा न ३, बमघाटमा रहनेछ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ३ वसन्तपुर डाँडामा टप स्टेशन रहने छ। उक्त स्थानमा पाँचतारे होटल कम्प्लेक्स रहने आईएमई समूहले जनाएको छ। उक्त होटलमा १५० वटा कोठा हुनेछन्।
केबलकारको लम्बाइ ३ किलोमिटरको हुनेछ। केबलकारको यात्रा समय (बटम स्टेसनदेखि टप स्टेसनसम्म पुग्न लाग्ने समय) १० मिनेटको हुने र प्रतिदिन ६ हजार यात्रु बोक्ने बताइएको छ।
बटम स्टेसनबाट ९४० मिटर उचाइमा रहेको टप स्टेसनसम्म पुग्न ९ वटा टावर निर्माण हुनेछन्। गोन्डोलाको संख्या २४ रहने छ।
केबलकार उत्पादक तथा परामर्शदाता अन्तर्राष्ट्रिय कम्पनी डोपलमेयरसँग लुम्बिनी केबलकार बनाउने सम्झौता भइसकेको छ।
लुम्बिनी र भारतको सीमा क्षेत्रबाट नजिक भएकाले भारतीय पयर्टक तान्न यसले भूमिका खेल्ने आशा गरिएको छ। औद्योगिक केन्द्रका रुपमा रहेको लुम्बिनी प्रदेशको आर्थिक विकास गर्न यस आयोजनाले थप लगानीको वातावरण बनाउने विश्वास लगानीकर्ताको छ।
आयोजनाले स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने घोषणा गरेको छ। वसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तव्य बनाउने घोषणा गरिएको छ।
साथै, यस क्षेत्रमा मनोरन्जको लागि पार्क, पिकनिक स्पट र बाल उद्यान निर्माण गरिनेछ। १० मिनेटको केबलकार यात्राका क्रममा तराई, पहाड तथा हिमालको अनुभव र दृश्यावलोकन गर्न सकिनेछ।
उत्साहित छन् स्थानीय
बुटबलमा केबलकारको उद्घाटन भएसँगै स्थानीय उत्साहित भएका छन्। आर्थिक गतिविधि बढ्ने र थप रोजगारीको अवसर सिर्जना हुने भएकाले स्थानीय उत्साहित भएको पोखरेलले बताए।
१५ जना संस्थापक लगानीकर्तामध्ये अधिकांश स्थानीय भएकाले पनि थप उत्साह बढेको छ।
‘भिजन लुम्बिनीको तर्फबाट हजारौंलाई सहभागी बनाउने योजना हाम्रो छ,’ पोखरेलले भने, ‘हामीले स्थानीयको सहभागितामा यो आयोजना सम्पन्न गर्दैछौं।’
पर्यटनबाटै मुलुकको विकास हुने भएकाले यसले बुटबल क्षेत्रसहित प्रदेशकै विकासमा सहयोग पुग्ने उनी बताउँछन्।
‘एक त गौतमबुद्धको जन्मथलो नजिकै छ भने अर्कोतिर भारत नजिक भएकाले धेरै पर्यटक आउन सक्छन्,’ उनी भन्छन्, ‘पाँच नम्बर प्रदेशको राजधानी भएकाले पनि यो आकर्षणको केन्द्र हुनेछ।’
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ। यसले पनि लुम्बिनी केबलकारलाई सहयोग पुग्ने आशा गरिएको छ। आयोजना उद्घाटन कार्यक्रममा १२ देखि १५ महिनामा निर्माण सक्ने प्रतिबद्धता ढकालले गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि सरकारी अवरोध नहुने प्रतिबद्धता जनाएका छन्।
‘बुटबललाई आर्थिक राजधानी बनाउने गरी यसले टेवा पु¥याउँछ भन्ने हामीले आशा गरेका छौं,’ पोखरेलले भने।
तीनाउ गाउँपालिका र बुटबल उपनगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता दिएका छन्।
सातै प्रदेशमा केबलकार
ढकालले चन्द्रागिरि हिल्सजस्तै केबलकारसहितको पर्यटकीय गन्तव्य देशका सात वटै प्रदेशमा विस्तार गर्ने योजना बनाएका छन्। यो कामको सुरुवात लुम्बिनी केबलकारबाट भएको छ।
सातै प्रदेशमध्ये नवलपरासीको गैँडाकोट, पोखराको सिकलेस, बुटवलको वसन्तपुर, प्युठानको स्वर्गद्वारी, कर्णालीको चिसापानीमा केबलकार निर्माण हुनेछन्। प्रदेश १ र २ का लागि योजना तयार हुँदैछ।
कोरोना संकटले केबलकार निर्माण केही ढिला भएको सो समूहले जनाएको छ। बुटबलपछि अब नवलपरासीको गैँडाकोटमा निर्माण कार्य अगाडि बढ्नेछ।
सातै प्रदेशका यी योजनाहरुलाई अगामी पाँच वर्षभित्र सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। यी सबै स्थानमा चन्द्रगिरि जस्तै केबलकार, रिसोर्ट, मनोरञ्जन पार्क, रेस्टुरेन्ट लगायतका आन्तरिक पर्यटकलाई मनोरञ्जन तथा सेवा प्रदान गर्ने एकीकृत गन्तव्यका सबै पूर्वाधार हुनेछन्।
दीर्घकालीन रुपमा मुलुकको पर्यटन क्षेत्रलाई प्रभाव पार्ने भएकाले तत्कालको प्रतिफल हेरेर मात्र यो योजना नबनाएको ढकाल बताउँछन्।
त्यसैले नयाँ बन्ने पर्यटकीय क्षेत्रको लगानीको मोडालिटीमा केही फरक हुनेछ। यी सबै पूर्वाधारमा स्थानीय व्यवसायीहरुलाई पार्टनरका रुपमा सहभागी गराउने योजना उनको छ।
यसरी स्थानीय व्यवसायीहरुसँग काम गर्दा योजना निर्माण सहज हुने, स्थानीयको अपनत्व हुने र रोजगारी तथा अन्य काममा स्थानीयले प्राथमिकता पाउने हुन्छ।
यी योजनाले कोरोना संकटपछि तहसनहस मुलुकको आन्तरिक पर्यटनलाई सकारात्मक सन्देश दिने ढकालले बताए।
प्रतिक्रिया