काठमाडौं कागेश्वरी, थलीमा रहेको उपत्यकाकै पुरानो कान्ति भैरव माध्यमिक विद्यालयलाई नेपालकै सुविधा सम्पन्न नमुना बनाइने भएको छ।
चीनको सहयोगमा ऐतिहासिक दरबार हाइस्कुल पुनर्निर्माणपछि कान्ति भैरवलाई देशकै सुविधा सम्पन्न विद्यालयका रूपमा परिणत गर्न भारतले अनुदान दिने भएको हो।
भारतले यो विद्यालय पुनर्निर्माणका लागि ३१ करोड (करबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१) रुपैयाँ सहयोग गर्ने भएको हो।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका अनुसार भारतको अनुदानमा पुनर्निर्माण गर्न लागिएको यो सबैभन्दा ठूलो बजेटको विद्यालय हो।
बिहीबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रूपमा विद्यलाय भवन शिलान्यास गरे।
२०७२ सालको भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएको हो। हाल अस्थायी भवन (टीएलसी) बनाएर पढाइ सञ्चालन भइरहेको छ।
पुरानो भवन भूकम्पअघि नै २०७० सालमा प्रबलीकरण गरिएको थियो। तर प्रबलीकरण राम्रोसँग नहुँदा कक्षा कोठामा पानी चुहिने समस्या थियो।
‘पानी पर्दा बाल्टिन थापेर राख्नुपथ्र्यो,’ कान्ति भैरव माध्यमिक विद्यालयका प्राधानाध्यापक तीर्थ कोइरालाले नेपालखबरसँग भने। त्यसमाथि २०७२ को भूकम्पकारण अझ क्षति गरेको हो।
पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वय एकाइ, (शिक्षा) आयोजनाका उपदिर्नेशक डा. युवराज पौडलेले बृहत्तर रूपमा नमुना स्कुल बनाउने गरी पुनर्निर्माण सुरु गरिएको जानकारी दिए।
‘नयाँ बन्ने भवन भौतिक रूपमा सुविधा सम्पन्न हुनेछन्,’ पौडलेले भने, ‘छात्रामैत्री शौचालयदेखि किन्डर गार्डेनका विद्यार्थीका लागि विशेष सुविधा, आधुनिक लाइब्रेरीलगायत सुविधा हुनेछन्।’
क्षेत्रफल र विद्यार्थी संख्याका हिसाबले एक ठूलो स्कुलका रूपमा चिनिन्छ, कान्ति भैरव। जुन ५८ रोपनी जग्गामा फैलिएको छ।
प्रधानाध्यापक कोइरालाका अनुसार २०२५ सालमा औपचारिक रूपमा सञ्चालन भएको विद्यालयमा अहिले ८ सय विद्यार्थी पढिरहेका छन्। १२ कक्षासम्म पढाइ हुन्छ।
फर्निचर तथा प्रयोगशाला सुविधासहित पुनर्निर्माण गर्न लागिएको विद्यालय पाँचतले हुनेछ। ६० कोठामध्ये ३० वटा कक्षा तथा प्रयोगशाला र पुस्तकालयका लागि ५ वटा छुट्याइएका छन्।
त्यस्तै प्रधानध्यापकका लागि १, अभिभावक भेटघाटका लागि २, प्रशासन र लेखाका लागि १/१, शिक्षक/शिक्षिकाका लागि ८ र विद्यालयको आवश्यकताअनुसार प्रयोग गर्न ८ कोठा रहनेछन्।
त्यसैगरी क्यान्टिन, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीन वटा ब्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्च पनि निर्माण गरिनेछन्। हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग–अलग शौचालय हुनेछन्।
१५ महिनामा बनाइसक्ने गरी योगी हनुमान जेभीसँग सम्झौता भएको छ। गत माघ २६ गते निर्माण सुरु गरिएको हो।
विद्यालय पुनर्निर्माणका लागि भारतले कूल ५ करोड अमेरिकी डलर अर्थात् करिब ५ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ।
जसबाट ८ जिल्लामा ७१ भवन निर्माण हुनेछन्। तीमध्ये आठवटा बनिसकेका छन् भने ५६ वटा पुनर्निर्माणका विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ।
कान्ति भैरव स्कुल काठमाडौं उपत्यकाको ऐतिहासिक स्कुल हो। यो २००४ सालदेखि भाषा पाठशालाका रूपमा सञ्चालन भएको भनिन्छ।
२०२५ सालदेखि भने यो औपचरिक रूपमा स्थापना गरिएको हो। त्यसपछि क्रमशः प्राथमिक, निम्न माध्यमिक, माध्यमिक हुँदै अहिले कक्षा १२ सम्म पढाइ हुन्छ।
पहिला कान्ति र भैरव भन्ने दुइटा स्कुल थिए। दुवै मिलाएर कान्ति भैरव स्कुल बनाइएको बताइन्छ। विद्यार्थी संख्या र पढाइका हिसाबले पनि यो स्कुल कागेश्वरी मनोहरा क्षेत्रको चलेको स्कुलमा पर्छ।
नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी–नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ। दुवै सेक्सन सञ्चालन भइरहेका छन्। स्कुलमा ४० कर्मचारी छन्।
माध्यमिक तहमा १०, निम्न माध्यमिकमा ७ र प्राथमिक तहमा १५ शिक्षक छन्। नर्सरीका विद्यार्थी पढाउन थप २ शिक्षक छन्।
भौतिक सुविधा भयो भने अध्ययनको गुणस्तर बढ्ने कोइरालाको आशा छ।
प्रतिक्रिया