ad ad

कारोबार


अटो व्यवसायी–महानिर्देशक भेट : विभागले माग्यो भन्सार परिसरमा अड्किएका गाडीको विवरण

अटो व्यवसायी–महानिर्देशक भेट : विभागले माग्यो भन्सार परिसरमा अड्किएका गाडीको विवरण

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १८:३५, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापा नेतृत्वको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट वार्ता गरेको छ। 

सो टोलीले भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीसाधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेको हो।

छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारीसाधनहरुको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो आयात प्रतिबन्ध लगाउनु अघिदेखि नै नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद बिक्रीमा कुनै सुधार हुन नसकेको भन्दै यसै कारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफना सवारी साधनहरु उठाउन नसकेको बताए। 

सोही क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जिप र भ्यानजस्ता सवारीसाधनहरुको बजार वार्षिक १७÷१८ हजार रहेकोमा अहिले त्यो घटेर ७/८ हजारमा झरेको बताउँदै कुल सवारीसाधनहरुको बिक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताए। 

त्यसैगरी सो छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आइरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दै सन्दर्भ मूल्यसूचीले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्यसूचीलाई खारेज गर्नुपर्ने धारणा राखे। 

उक्त छलफलको अन्तमा महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भइसकेको जानकारी दिँदै नेपालका कुन कुन भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु (दुई पांग्रे तथा तीनपांग्रेबाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन्, त्यसको विवरण यथाशीघ्र विभागमा पठाइदिन अनुरोध गरे। 

यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्याङ्कन गोष्ठीको आयोजना गर्न लागेको समेत जानकारी दिए। सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .