ad ad

कारोबार


नाडाले भन्सार विभागलाई सोध्यो भ्याटबारेको अन्योल, महानिर्देशकले भने– भूलवश भयो

मूल्यांकनका समस्या समाधान गर्न र एक्जिम कोडको नवीकरण अवधि ५ वर्ष पुर्‍याउन माग
नाडाले भन्सार विभागलाई सोध्यो भ्याटबारेको अन्योल, महानिर्देशकले भने– भूलवश भयो

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १५:१५, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग बिहीबार भेट गरेको छ।

पछिल्लो समय देखिएको भन्सार मूल्याङ्कनसम्बन्धी समस्याहरु विषयमा छलफल भएको नाडाले जनाएको छ। 

सो छलफलमा चौधरीले वर्तमान बजेटमा सवारी साधनहरुमा मूल्यअभिवृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरुले मूल्यअभिवृद्धि कर लिने वा नलिने अन्योल भएको बताए। 

सोही छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले यही जेठ २१ मा मालवस्तु छुटाई जैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै वर्तमान समयमा सो तोकिएको समयमा भन्सार विन्दुहरुमा रहेका सवारी तथा ढुवानीहरुको जाचपास गर्न नसकिने बताउँदै समय थपका लागि आग्रह गरेका थिए। 

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भन्सारसँग सम्बन्धित ७ बुंदे लिखित सुझावहरु प्रस्तुत गर्दे  टायर लुव्रिकेण्टस जस्ता अटोमोबाइल बस्तुहरुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरु आयात गर्न सरकारले प्राथमिकता दिनुपर्ने माग राखेका थिए। 

यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने उनको भनाइ थियो। छलफलमा महासचिव उप्रेतीले नेपाल मै सिकेडी मोडेलमा अटोमोबाइल वस्तुहरु पनि उत्पादन गर्न सकिने भएकाले भारतबाट अटोमोबाइल कवाडी सामानहरु समेत आयात हुदा व्यवसायमा असर परिरहेको बताए। सोही क्रममा महासचिव उप्रेतीले एक्जिम कोडको नवीकरण अवधि १ वर्षबाट ५ वर्ष पुर्‍याउने व्यवस्थाका लागि समेत आग्रह गरे।

सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोबाइल वस्तुहरुको अनधिकृत आयात हुने गरेको बताउँदै एअरपोर्ट कुरियरमार्फत पनि नेपालमा अटोमोबाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नु पर्नेे धारणा राखे।
नाडाका हेलमेट समितिका उपसभापति नारायणप्रसाद पौडेलले हेलमेट जस्तो वस्तु जनताको जीवन सुरक्षासँग सम्बन्धित भएकोले नेपालमा गुणस्तरिय हेलमेटहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्र समेत राख्नुपर्ने धारणा राखे।

छलफलको अन्त्यमा महानिर्देशक निरौलाले नेपालका अटोमोबाइल क्षेत्रका समस्याहरुका विषयमा आफू जानकार रहेको र नाडाका सुझावहरु मनननीय रहेको बताउँदै सवारी साधनमा मूल्यअभिवृद्धि कर नलाग्ने व्यवस्था भूलवश भएको बताए। 

त्यसैगरी उनले आउँदो असार मसान्तसम्म भन्सार विन्दुहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको जाँचपास गरी दिन अनुरोध गरे।

उक्त छलफलहरुमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .