काठमाडौं तराई फास्ट ट्रयाकको निर्माणकार्य आगामी आर्थिक वर्षभित्र सक्याउनुपर्ने अवस्था छ।
नेपाली सेनाले निर्माण गरिरहेको परियोजना आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न गर्नुपर्ने समयसीमा छ।
यसलाई समयमै सम्पन्न गर्ने उद्देश्यका साथ सेनाले पछिल्लो समय २४ करोड अमेरिकी डलरबराबरको एक सडकखण्डको लागि टेण्डर आह्वान गरेको थियो।
यसअनुसार १२ कम्पनीले बोलपत्र पेश गरेका छन्। बोलपत्र पेस गर्नेमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्प लि., सीआरसीसी १४–सीसीईसीसी–एफएसडीआई जेभी, शर्मा रसुवा–जिन जी जेभी, एसडीएलक्यु–सीएएमसीई जेभी, गायत्री प्रोजेक्ट्स लिमिटेड, अफकोन इन्फ्रास्ट्रक्चर लिमिटेड, पोलि चांग्दा इन्जिनियरिङ को.लि., चाइना फर्स्ट हाइवे इन्जिनियरिङ को.लि., कोभेक सीआरईजीसी ज्वाइन्ट भेन्चर, चाइना गेजुबा ग्रुप को.लि., चाइना रेलवे १२ ब्युरो ग्रुप को.लि. र सिनो हाइड्रो पीसीसीडी जेभी रहेका छन्।
तीमध्ये गायत्री प्रोजेक्ट्स लिमिटेड र अफकोन इन्फ्रास्ट्रक्चर लिमिटेड भारतीय कम्पनी रहेका छन् भने बाँकी सबै चिनियाँ कम्पनी हुन्।
टेण्डरमा सहभागी भएका कम्पनीहरुमध्ये पहिले प्राविधिक प्रस्ताव खोलेर सहभागी निर्माण कम्पनीको ‘सर्ट लिस्ट’ तयार हुन्छ। त्यसपछि आर्थिक प्रस्ताव खोलेर कम्पनी छनौटको प्रक्रिया अघि बढ्छ।
भारतीय कम्पनीले पाउने सम्भावना कति?
अहिलेसम्म चिनियाँ कम्पनीले मात्रै फास्ट ट्रयाकमा काम गरिरहेका छन्। फास्ट ट्राकका ११ मध्ये ५ वटामा चिनियाँ कम्पनीले काम गरिरहेका छन्।
पछिल्लोपटक प्याकेज ८, ९, १० र ११ दिन बाँकी छ। प्राविधिक र आर्थिक दुवै प्रस्तावमा भारतीय कम्पनी छनौट भए पहिलो पटक फास्ट ट्रयाकमा भारतीय कम्पनीले काम गर्न पाउनेछन्।
७ करोड डलरको प्याकेज ७ मा ८ कम्पनी
यता सात करोड अमेरिकी डलरबराबरको प्याकेज ७ रहेको छ। यसमा काम गर्न कुल आठ कम्पनीले बोलपत्र हालेका छन्।
यसअनुसार सिनोहाइड्रो–पीसीसीडी–गजुरमुखी जेभी, भीबीईपीएल–एसीपीएल जेभी, कालिका–डब्ल्यूएएसकेआईटीए जेभी, गायत्री प्रोजेक्ट्स लिमिटेड, सिचुआन/एच१एमडीयूएनजी एन्ड ठोकर जेभी, जीसीजीसी–एचसी–डीएनएसपीएल जेभी (ललितपुर २५), सिंगरुन–आशीष–टुण्डी जेभी र जिआंग्सु–रमन जेभीले बोलपत्र हालेका छन्।
भारतीय कम्पनी गायत्री प्रोजेक्ट्स प्याकेज ७ मा काम गर्न पनि इच्छुक देखिएको हो।
यस्तो बन्नेछ फास्ट ट्रयाक
राजधानीबाट तराईसँग जोड्ने सबैभन्दा छोटो दूरी रहेको यस सडक आयोजना ४ लेनको हुनेछ। यसको दूरी ७२ दशमलव ५ किमिको हुनेछ।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्माण हुने गरी नेपाल सरकारले २०७४ वैशाख २१ गतेको निर्णयबाट यस आयोजना नेपाली सेनालाई दिएको थियो। यसको लागत अनुमान २ खर्ब १३ अर्ब ९५ करोड छ।
यस आयोजनामा ८७ वटा पुल रहनेछन्। यी पुलहरुको कुल लम्बाई नै १० किलोमिटरभन्दा बढी रहनेछ। सुरुङमार्ग तीन वटा रहनेछन् भने यसको कुल लम्बाइ ६ दशमलव ४१ किलोमिटर रहनेछ।
यो सडकखण्ड १ घण्टा २ मिनेटमा पार गर्न सकिने बताइएको छ। अर्थात् आयोजना सम्पन्न भएपछि राजधानीबाट १ घण्टामै तराई पुग्न सकिनेछ।
हालसम्म कति काम भयो?
राष्ट्रिय गौरवको आयोजनाको प्रगति कार्ययोजनाअनुसार भने भएको छैन। नेपाली सेनाका अनुसार असार मसान्तसम्ममा २१ दशमलव १८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
यस आयोजनाको समष्टिगत प्रगति २१ दशमलव १८ प्रतिशत देखिएको छ। काम ढिलो हुनुमा ठेक्का प्रक्रिया नै प्रमुख कारण रहेको नेपाली सेनाले बताउँदै आएको छ।
२०८१ मंसिरसम्ममा यस आयोजना सम्पन्न गर्नुपर्ने भए पनि त्यसमा शंका रहेको भन्दै संसदीय समितिले समेत केही दिनअघि ठोस कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिएको थियो।
Shares
प्रतिक्रिया