ad ad

कारोबार


कित्ता टुक्राएर सस्तोमा जग्गा बेच्दै घरजग्गा व्यवसायी, कहाँ कति मूल्य?

२७ हजार कित्तालाई ६० हजार टुक्रा बनाइयो
कित्ता टुक्राएर सस्तोमा जग्गा बेच्दै घरजग्गा व्यवसायी, कहाँ कति मूल्य?

बूढानीलकण्ठ नगरपालिकामा भइरहेको प्लटिङ। तस्बिर सौजन्य : आरपी पुडासैनी


वसन्त अर्याल
चैत १, २०७९ बुधबार २३:४२, काठमाडौँ

अहिले बैंकबाट सहजरुपमा ऋण पाउने अवस्था छैन। तर पनि घरजग्गा कारोबार भने बढ्न थालेको छ। 

ऋण असहज भएसँगै घरजग्गा कारोबारीलाई पनि ‘होल्ड’ गर्ने अवस्था नहुँदा उनीहरु कम मूल्यमै जग्गा बिक्रीमा अग्रसर भएको देखिएको छ।   

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले पनि पछिल्लो समय घरजग्गा कारोबारमा विस्तारै बढिरहेको देखाउँछ। 

तथ्यांकअनुसार फागुन महिनामा १ लाख १७ हजार घरजग्गा कारोबार भएका छन्। माघकै तथ्यांक हेर्ने हो भने १ लाख १० हजारवटा मात्रै कारोबार भएका छन्। तुलनात्मक रुपमा पुस महिनामा १ लाख १३ हजार ९ सय घरजग्गा कारोबार भएका थिए। 

सरकारले भूउपयोग नीति ल्याएपछि घरजग्गा कारोबारमा चालू आर्थिक वर्षको सुरुवातमा कमी आएको थियो तर पालिकाहरुले कारोबार खोलेसँगै अहिले भने बढेको विभाग आफैँ बताउँछ। 

जसमध्ये कारोबारमा लिखित पारित ४० हजार ७३४, नामसारी ३ हजार ५३८, संशोधन ४ हजार २३३, हालसाबिक २ हजार १२५,  रोक्का ३० हजार ८५०, फुकुवा २२ हजार र अपार्टमेन्ट लिखित पारित ५१ वटा भएका छन्। 

घरजग्गा बढी कारोबार हुनेमा काठमाडौं उपत्यकाका मालपोत कार्यालय छन्। काठमाडौं उपत्यकाका लगनखेलमा ३ हजार ४४, भक्तपुर कार्यालयमा ३ हजार ३०४ वटा कारोबार भएका छन्।     

बढी घरजग्गा कारोबार हुनेमा भ्रदपुर कार्यालय झापा, रंगेली कार्यालय मोरङ, इनरुवा कार्यालय सुनसरी, नेपालगञ्ज कार्यालय बाँकेमा १ महिनामा ३ हजार बढी घरजग्गा कारोबार भएका छन्। 

भक्तपुरका एक घरजग्गा व्यवसायीले अहिले अप्ठ्यारो अवस्था रहेको बताए। उनले घरजग्गा कारोबारको गति समेत घटेको बताए। 

‘अहिले पैसाको खाँचो हुनेले बढाएर भन्दा पनि कम मूल्यमै घरजग्गा बिक्री गर्न थालेका छन्’, ती व्यवसायीले भने।

बुटवलका घरजग्गा व्यवसायी कमल पन्थीले बेच्नेको मूल्यभन्दा पनि किन्नेको मूल्यमा दिनुपर्ने अवस्था रहेको बताए। उनले पछिल्लो समय व्यवसायीले घर बनाए पनि बिक्री हुने अवस्था नभएको सुनाए।

पन्थीका अनुसार जग्गाको मूल्य सहरी क्षेत्रमा घटेको छैन । बुटवल र तिलोत्तमाको मणिग्रामसम्म जग्गाको मूल्य घटेको छैन। तर मणिग्रामदेखि भैरहवासम्मको क्षेत्रमा जग्गाको मूल्य केही घटेको छ ।

यता घर जग्गा व्यवसायी महासंघका केन्द्रीय सदस्य धनश्याम पोखरेल भने सरकारको गलत नीतिका कारण घरजग्गा व्यवसाय चौपट बनेको दाबी गर्छन्। 

उनले सरकारले कित्ताकाट खुलाएको भने पनि सबै स्थानीय तहमा कित्ताकाट नखुल्दा  सम्बद्ध व्यवसायीहरू मारमा परेको बताए। 

घर जग्गामा लगानी गरेका व्यवसायी डुब्ने अवस्थामा रहेको उनले बताए।

पूर्वका जग्गा व्यवसायी उनले भने, मोरङका कुल १७ स्थानीय तहमध्ये विराटनगर, बुढीगंगा, ग्रामथानमा मात्र जग्गाको कित्ताकाट भइरहेको र अन्य स्थानीय तहमा किताकाँट खुलेको भनिए पनि अहिलेसम्म सुरु नहुँदा व्यवसायी समस्यामा छन्।’

यी बाहेक घरजग्गाको बढी कारोबार हुने झापा र सुनसरी जिल्ला अहिलेसम्म कित्ताकाट नखुलेको बताउँदै उनले थप व्यवसायी मारमा परेको बताए। 

मोरङका सबै स्थानीय तहमा कित्ताकाटको प्रक्रिया नखुल्दा फाटफुट बाहेक घर जग्गाको कारोबार प्राय बन्द जस्तै बनेको उनको दाबी छ। 

काठमाडौंमा कहाँ कति मूल्यमा कारोबार?
अहिले काठमाडौं उपत्यकाका कुन ठाउँमा कतिको कारोबार भइरहेको भनी चासो हुनसक्छ। तर कीर्तिपुरको चोभारमा प्रतिआना १५ देखि ३० लाख रुपैयाँ आनामा एसके भेन्चर्सले प्लट बिक्री गरिरहेको छ। 

धुम्बाराही ह्याम्स हस्पिटलनजिकै ५५ लाख रुपैयाँ आनामा बिक्री भइरहेको छ। एक घरजग्गा कारोबारीका अनुसार बागेश्वरी भक्तपुरमा १८ लाख, चन्द्रागिरि मातातीर्थमा २१ लाख प्रतिआनामा जग्गा बिक्री भइरहेको छ। 

त्यसैगरी ललितपुरको सातदोबाटो भाटभाटेनी छेउमा ५० देखि ६० लाख रुपैयाँ प्रतिआनामा घरजग्गा बिक्री भइरहेको छ। गोदावरी गोदामचौर आसपासमा १८ देखि २० लाख प्रतिआनामा बिक्री भइरहेको छ। भैँसेपाटी बुङमतीमा २४ लाख रुपैयाँ आनामा बिक्री भइरहेको छ। 

महंगो जग्गा भने सिनामंगल आसपास देखिएको छ। यसअनुसार भीमसेन गोलामा १ करोड प्रतिआना, लाजिम्पाटमा १ करोड १० लाख प्रतिआनामा बिक्री भइरहेको छ।  

१ महिनामा राजस्व ३ अर्ब ५६ करोड
फागुन महिनामा ३ अर्ब ५६ करोड रुपैयाँ घरजग्गा कारोबारबाट राजस्व उठेको छ। 

विभागले माघ महिनामा ३ अर्ब ७५ करोड रुपैयाँ कारोबार भएको उल्लेख गरेको छ। जब कि अघिल्लो महिना पुसमा ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। 

हाल उठेको राजस्वमा सेवा कर २० करोड, रजिष्ट्रेसन दस्तुर बापत १ अर्ब ९२ करोड, शुल्क पुँजीगत लाभकर १ अर्ब ३ करोड रुपैयाँ राजस्व उठाएको छ। 

त्यसबाहेक काठमाडौं उपत्याकामा बागमती सभ्याता ८ करोड ५४ लाख, मधेश प्रदेशको मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क २ करोड ५५ लाख रुपैयाँ छ। 

पूर्वमा बढी राजस्व उठाउनेमा विराटनगर कार्यालयले ६ करोड २५ लाख, सुनसरी इनरुवा कार्यालयमा ५ करोड ५७, जनकपुरधाम कार्यालयबाट ४ करोड ३९ लाख रुपैयाँ उठाएको छ। 

काठमाडौं उपत्यकामा भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरले २२ करोड, डिल्लीबजार कार्यालयले १४ करोड ५२ लाख, चाबहिल कार्यालयमा १६ करोड ८८ लाख, कलंकी कार्यालयमा १८ करोड ७६ लाख राजस्व उठेको छ। यता मालपोत कार्यालय काभ्रेपलाञ्चोकले यसबापत ८ करोड ५० लाख संकलन गरेको छ। 

त्यस्तै, गण्डकी प्रदेशमा कास्की कार्यालयबाट १२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। लुम्बिनीको रुपन्देही भैरहवा ६ करोड ८१ लाख रुपैयाँ र बुटवल कार्यालयबाट ७ करोड ४० लाख रुपैयाँ छ। 

नेपालगञ्ज कार्यालयबाट ६ करोड ७७ लाख रुपैयाँ राजस्व उठेको छ। सुदूरपश्चिमको धनगढी कार्यालयले ६ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। 

२७ हजार कित्तालाई ६० हजार टुक्रा बनाइयो
त्यस्तै पछिल्लो समय कित्ता टुक्र्याउने काम पनि बढेको पाइएको छ।

यसअनुसार २६ हजार ९९५ कित्ताकाट जग्गालाई ६० हजार ३०१ टुक्रा बढी पु¥याइएको पाइएको हो।

कित्ताकाट बढी हुनेमा झापाको दमक अग्रस्थानमा छ। त्यहाँ १ हजार ५ कित्तालाई २ हजार १०३ वटा बनाइएको छ। विराटनगरमा ८७९ कित्तालाई १८ सय ११ वटा टुक्रा बनाइएको छ। 

त्यसैगरी काभ्रेपलाञ्चोक कार्यालयमा ८३८ कित्ताबाट २ हजार ६४ वटा पु¥र्याइएका छन् भने भक्तपुरमा पनि कित्ताकाट बढेको छ। जहाँ १ हजार ७७ कित्तालाई २ हजार ८४७ कित्ता बनाइएको छ। 

उपत्यकाकै लगनखेलमा १ हजार ७७ वटा कित्ता जग्गा अहिले २४ सय २ वटासम्म बनेका छन्।   

रुपन्देहीको बुटवलमा ८४५ वटा कित्तालाई १८६६ वटा बनाइएको विभाग स्वयं बताउँछ। 

लुम्बिनीमा दाङको घोराही र तुल्सीपुरमा कित्ताकाट बढी छ। घोराही कार्यालयबाट ६५५ वटा कित्ता जग्गा १७ सय ३६ वटा कित्तामा र तुल्सीपुर कार्यालयबाट ७८१ वटा कित्ता जग्गा १७ सय ५० कित्तामा पुगेका छन्। 

त्यस्तै कैलालीमा १३ सय ८१ कित्ताकाट गरिएको जग्गा अहिले २७ सय ७३ वटा पु¥याइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .