राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारिएको हुलाकी राजमार्गअन्तर्गत पूर्वीखण्ड सप्तरी, सुनसरी, मोरङ र झापाका सदरमुकाम राजविराज, विराटनगर र भद्रपुर जोड्ने सडक निर्माण सुरु भएको १५ वर्ष बितिसकेको छ। हालसम्म १० अर्ब रुपैयाँ खर्च भइसकेको यो सडक निर्माण पूरा हुने मिति लम्बिएको लम्ब्यै छ।
तराईका जिल्ला जोड्ने ‘लाइफलाइन’का रूपमा परिभाषित हुलाकी राजमार्ग ०६२/६३ को परिवर्तनपछि बनाउन थालिएको हो। तर अधिकांश खण्ड निर्माणले गति लिन नसक्दा पूरा हुने समय अझै लम्बिने देखिन्छ।
यो सडक ०८० सालभित्र बनाइसक्नुपर्नेछ। तर सडक निर्माणको सुस्ततासँगै पुल बनाउने काम पनि धेरै स्थानमा अलपत्र छ। अनि सडक हाताभित्र अहिले पनि बिजुलीका पोल यत्रतत्र देख्न सकिन्छ। सानाठूला गरी कूल २५ वटा पुल निर्माण गर्नपर्ने भए पनि अहिलेसम्म ५ वटा मात्र बनाइएको छ। पुलसहितको कूल लागत १५ अर्ब १८ करोड ९८ लाख रुपैयाँ रहेको चार जिल्ला जोड्ने सडकअन्तर्गत झापा खण्डको ४८ किलोमिटरमध्ये ४६ किलोमिटर सडक कालोपत्रे भएको छ भने ६ वटा पुल निर्माणाधीन अवस्थामा रहेको इटहरीस्थित हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर प्रमोद खतिवडाले बताए।
मोरङ खण्डको कूल ४४ किलोमिटरमध्ये ७ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ, अन्य स्थानमा सडक निर्माण भइरहेको बताइए पनि कतिपय स्थानमा त सडकको ट्र्याकसमेत फेला पर्न मुस्किल छ। सडकका लागि आवश्यक पुराना कल्भर्टलाई दुईलेनको सडकअनुसार चौडा पर्ने काम भइरहेको आयोजनाले जनाएको छ।
त्यसैगरी सुनसरीतर्फको कूल ३० किलोमिटर सडकमध्ये २६ किलोमिटरमा कालोपत्रे भएको छ। अन्य खण्डका निर्माण अति सुस्त गतिमा भइरहेको छ। सप्तरीतर्फको कूल ३२ किलोमिटर सडकमध्ये २६ किलोमिटरमा मात्र कालोपत्रे गर्ने काम पूरा भएको आयोजनाले जनाएको छ। सप्तरीमा सबैभन्दा बढी १९ वटा पुल निर्माणका क्रममा छन्। जसका कारण झापाबाहेक मोरङ, सुनसरी र सप्तरीसम्म १ सय ५४ किलोमिटर सडकका अधिकांश खण्डमा सवारीसाधन चल्ने अवस्था छैन।
सप्तरी, सुनसरी, मोरङ र झापाका सदरमुकाम क्रमशः राजविराज, विराटनगर र भद्रपुर जोड्ने छोटो दूरीको मार्गका रूपमा हेरिएको छ। तर धुलाम्मे सडक समय समयमा मर्मत नहुँदा कतिपय स्थानमा कच्ची ट्र्याककै निसाना हराउन थालेका छन्। धेरै स्थानमा पुल निर्माणले पनि गति लिन सकेको छैन। अन्य जिल्लामा चारपांग्रे सवारीसाधन चल्ने अवस्था छैन। दुईपांग्रेको यात्रा पार गर्न पनि निकै सास्ती बेहोर्नुपर्छ।
गएको आर्थिक वर्षमा बजेट अभावका कारण देखाउँदै कतिपय स्थानमा सडक निर्माणले निरन्तरता पाउन नसकेको आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर खतिवडाले सडक निर्माणमा सबैभन्दा बढी कोरोना महामारीका कारण प्रभाव परेको बताए। कोरोना संक्रमणसँगै लामो समयसम्म निर्माण काम ठप्प हुँदा सडक विस्तारले लक्ष्यअनुसार सफलता पाउन नसकेको उनको भनाइ छ।
योसँगै सडकको साइट क्लियर गर्ने काम, मुआब्जा, खानेपानी, बिजुलीका पोल सार्नेलगायत काममा असहयोग हुँदा समस्या भएको उनले बताए।
‘सडक निर्माण जुन गतिमा हुनुपर्ने थियो, विविध कारण त्यो हुन सकेको छैन’, इन्जिनियर खतिवडा भन्छन्, ‘पछिल्लो समय सडक निर्माणमा देखापरेका सबै समस्या हल भइसकेका छन्। अबको तीन वर्षभित्र पूर्ण रूपमा प्रयोगमा आउनेगरी निर्माणलाई गति दिइएको छ।’
झापा र मोरङको सीमाबाट बग्ने रतुवा नदीले चार वर्षअघि हुलाकी राजमार्गको मोरङ खण्डमा क्षति पुर्याएको थियो। तर, उक्त खण्ड अहिले पनि मर्मत हुन सकेको छैन।
पूर्वपश्चिम हुलाकी सडकलाई जोड्ने उत्तर–दक्षिण लिक रोडको निर्माण पनि भइरहेको छ। जसमा झापाको चारआली–केचना ४० किमी, मोरङमा कानेपोखरी–रंगेली २५ किमि सप्तरीमा कल्याणपुर–बसाइन–ब्रह्मपर्टी १८ किमि सहायक मार्ग निर्माणाधीन छन्।
रतुवा पुल विस्तारको ठेक्का मोरङ र झापाको सीमाना रतुवामाईमा पुल बनाउन थालेको १४ वर्ष बित्यो तर अझै पूरा भएको छैन। खोलाका दायाँबायाँ तटबन्ध निर्माण नगरिँदा खोलाको बहाव पूर्वतर्फ मोडिएको छ। अहिले पुल छाडेर खोला अर्कैतिर बगिरहेको छ।
सो पुलका बाँकी काम पूरा गर्न बल्ल ठेक्का लागेको छ। दुई वर्षभित्र सक्नेगरी २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा मोरङतर्फ १४ सय मिटर र झापातर्फ साढे ६ मिटर तटबन्ध गर्नेगरी पुल विस्तारको ठेक्का लागेको आयोजनाले जनाएको छ।
पूर्वपश्चिम राजमार्गको समानान्तर करिब २० देखि ३० किमि दक्षिणतर्फको सडक नै हुलाकी मार्ग हो। राणाकलामा चिठ्ठीपत्र ओसारपसार गर्ने मुख्य मार्ग यही थियो। तत्कालीन राणा प्रधानमन्त्री पद्मसमशेरले रेखांकन गर्न लगाएकाले यसलाई पद्म रोड पनि भन्ने गरिएको छ। पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने ८ सय १७ किमिका ३२ वटा सहायक मार्ग पनि हुलाकी सडकसँगै निर्माणाधीन छन्।
तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले ०४७ सालमा नेपाल भ्रमणका क्रममा भारतले उक्त राजमार्ग बनाइदिने बताएका थिए। त्यसबारे सैद्धान्तिक सहमति भने ०६१ सालमा भएको थियो। ०६२/६३ को परिवर्तनपछि १४ सय ४० किमि सडक निर्माणका लागि नेपाल र भारत सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
भारतीय ठेकेदारले काम अलपत्र छाडेपछि नेपाल आफैँले उक्त राजमार्ग निर्माण गरिरहेको हो। नेपालले गरेको रेखांकनअनुसार उक्त राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ दशमलव ४२ किमि छ।
Shares
प्रतिक्रिया