कारोबार


तिहारका लागि तयार हुँदै मादल, मूल्य ७ देखि १५ हजार सम्म

तिहारका लागि तयार हुँदै मादल, मूल्य ७ देखि १५ हजार सम्म

नेपालखबर
असोज २२, २०८२ बुधबार ८:१९, दाङ

कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठुला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन्।

घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो। उनका अनुसार अरू समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ।

आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले सुनाए। ‘बुवा गुइँठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु’, ७० वर्षे बादीले भने। उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म मादलको काम भ्याइनभ्याइ छ। यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घर खर्च चलाएको पनि उनले उल्लेख गरे।

तिहारमा देउसी भैलो खेल्नेहरू हरेक वर्ष जसो उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन्। नयाँ मादलको आकारअनुसार रु सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले सुनाए।

उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन्।

उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्नुहुन्छ। आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाए। आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको बताए । उनको परिवारमा कान्छो छोरा पनि मादल बनाउन सिकेको उनको भनाइ छ।

उनी मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्नुहुन्छ । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad