ad ad

कारोबार


एभरेस्टद्वारा सवा २ लाख क्विन्टल चिनी उत्पादन, किसानलाई १ अर्ब ३७ करोड भुक्तानी

एभरेस्टद्वारा सवा २ लाख क्विन्टल चिनी उत्पादन, किसानलाई १ अर्ब ३७ करोड भुक्तानी

नेपालखबर
चैत २, २०७९ बिहिबार ८:५७, सर्लाही

देशकै सबैभन्दा ठूलो चिनी उद्योग एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले यस वर्ष सवा दुई लाख क्विन्टल चिनी उत्पादन गरेको छ।

२६ लाख ३० हजार क्विन्टल उखु क्रसिङ गरेर उद्योगले यस वर्ष करिब सवा दुई लाख क्विन्टल चिनी उत्पादन गरेको उद्योगका प्रबन्धक कृष्णचन्द्र दासले जानकारी दिए।

महोत्तरीको रामनगरमा अवस्थित एभरेस्ट चिनी उद्योगको क्रसिङ क्षमता एक सिजनमा ६० लाख क्विन्टल छ। भनेजति उखु नपाएपछि उद्योगले यस वर्ष पनि क्षमताभन्दा आधा नै कम उखु क्रसिङ गरेको छ। 

एभरेस्ट चिनी उद्योग गत पुस ५ गतेदेखि सञ्चालन भएको थियो। भनेजति उखु क्रसिङ गर्न पाएको भए एभरेस्ट वैशाख पहिलो सातासम्म सञ्चालन हुन्थ्यो।

अहिलेसम्मको इतिहासमा एभरेस्टले २०७०–०७१ को क्रसिङ सिजनमा सबैभन्दा धेरै ५८ लाख क्विन्टल उखु पेलेको थियो। त्यसयताका वर्षमा भने एभरेस्टले क्षमताअनुसार उखु पेल्नै पाएको छैन। गत वर्ष एभरेस्टले मुस्किलले २० लाख क्विन्टल मात्रै उखु क्रसिङ गरेको थियो।

यस वर्ष एभरेस्टले महोत्तरीबाहिरका जिल्लाबाट तानतुन गरेर २६ लाख क्विन्टलभन्दा धरै उखु क्रसिङ गर्न सकेको हो। बाहिरबाट उखु तान्नुपर्दा उद्योगले किसानको भुक्तानी तुरुन्तै दिने रणनीति अपनाएको थियो। 

क्रसिङ भएका सबै उखुको प्रतिक्विन्टल ५ सय २० रुपैयाँका दरले भुक्तानीसमेत भइसकेको प्रबन्धक दासले जानकारी दिए। 

यस वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ निर्धारण गरेको थियो। यो मूल्यमा सरकारी अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ पनि जोडिएको छ। 

उद्योगले किसानलाई आफूले दिनुपर्ने प्रतिक्विन्टल ५४० रुपैयाँमध्येबाट २० रुपैयाँ बाँकी राखेर अरु रकम भुक्तानी गरेको हो। त्यो बाँकी रहेको २० रुपैयाँ पनि केही दिनमै किसानको खातामा पठाइने उद्योग प्रशासनले जनाएको छ।

एभरेस्टले यो सिजनमा किसानलाई एक अर्ब ३६ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। 

यस वर्ष एभरेस्टले तुरुन्तै भुक्तानी दिँदा किसानलाई ठूलो राहत भएको उखु उत्पादक महासंघ (महोत्तरी) का अध्यक्ष नरेशसिंह कुशवाहाले बताए। एभरेस्टको भुक्तानीबाट किसान सन्तुष्ट रहेका उनले बताए। 

यसैबीच सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगले आज (बिहीबार बिहान) सम्म २७ लाख २७ हजार क्विन्टल उखु क्रसिङ गरेको छ। किसानले उखु ल्याउने क्रम अझै नसकिएकाले केही दिन अझै उद्योग चल्ने इन्दु शंकर चिनी उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले जानकारी दिए।

गत वर्ष २४ लाख क्विन्टल मात्रै उखु क्रसिङ गरेको इन्दु शंकरले यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .