ad ad

निर्वाचन विशेष


यी योग्य महिला जसलाई पार्टीले मेयर/अध्यक्ष पदमा पत्याएनन्

यी योग्य महिला जसलाई पार्टीले मेयर/अध्यक्ष पदमा पत्याएनन्

मीना खड्का
बैशाख २१, २०७९ बुधबार ८:०, काठमाडौँ

संघीय शासन प्रणालीअनुसार ०७४ मा स्थानीय तहको पहिलो निर्वाचन भयो। पालिकाका प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरियो। जसका कारण स्थानीय तहमा महिला सहभागिता ह्वात्तै बढ्यो।

तर, दलहरुले मेयर र अध्यक्ष पदमा महिलालाई प्रतिस्पर्धामा उतार्न कन्जुस्याइँ गरे। अधिकांश महिलालालाई दलहरुले उपप्रमुख/उपाध्यक्ष पदमा उठाए। त्यसैले उनीहरुले कार्यकारी भूमिका पाएनन्।

यसरी उपप्रमुख/उपाध्यक्ष पदमा निर्वाचित महिलाहरुले पाँच वर्ष काम गरेर प्रशस्त अनुभव बटुले, आफ्नो क्षमता प्रदर्शन गरे। त्यसैले अब आफूहरुलाई मेयर/अध्यक्ष पदमा पार्टीले मौका दिने अपेक्षा उनीहरुलाई थियो। तर, त्यसो भएन। ‘उप’ पदमा क्षमता देखाएका महिलाहरुले पनि ‘प्रमुख’ पदमा यसपटक मौका पाएनन्। 

त्यसमाथि चुनावी गठबन्धनले गर्दा महिला उम्मेदवारको संख्या नै कम हुन पुगेको छ। 

फराकिलो मत अन्तरले जितेर गत पाँच वर्ष राम्रो काम गरे पनि यस पटक मेयर/अध्यक्षमा पार्टीले नपत्याएका चार नेताहरुका बारेमा यहाँ चर्चा गरिएको छः

उमा थापा मगरः अध्यक्ष पदमा पुरुष नै हुनुपर्छ भन्ने सोच नेताहरुमा छ
२०७४ निर्वाचनमा नेपालगञ्ज उपमहानगरले उपमेयरका रुपमा कांग्रेसकी उमा थापा मगरलाई पायो। कांग्रेसका मेयर उम्मेदवार पराजित हुँदा थापा भारती मतले विजयी भइन्।  

प्रतिस्पर्धीको भन्दा २ हजार उनकै पार्टीका मेयर उम्मेदवारभन्दा ४ हजार बढी मत उनले पाइन्। यसरी जनमतको परीक्षा उनले पास गरिन्। त्यति मात्र होइन, उपमेयर बनेपछि पनि उनको लोकप्रियता झनै बढ्यो।

चुनाव लड्नुअघि २० वर्षभन्दा लामो समय पत्रकारिता गरेकी उनी महिला अधिकारको क्षेत्रमा सक्रिय थिइन्।

‘विद्यार्थी जीवनदेखिको समाजसेवा लगाव र इमानदारीले मैले राम्रो मत पाएकी थिएँ,’ उनी भन्छिन्, ‘पालिकाको प्रमुख भएर जिम्मेवारी पुरा गर्न चाहिने सीप–क्षमता थियो।’

पालिकामा सुशासन कायम गरेको भन्दै पाएको प्रशंसाले उनी उत्साहित पनि थिइन्। त्यसैले आसन्न चुनावमा उनले मेयर पदमा दाबी गरिन्। तर, पार्टीले टिकट दिएन। 

‘अध्यक्ष पदमा पुरुष हुनुपर्छ भन्ने मनोविज्ञान प्रमुख दलका नेताहरूमा हाबी छ। जसले महिलालाई निर्णायक पदमा आउन रोकिरहेको छ,’ उनी भन्छिन्।

त्यसमाथि आफूले खर्च गर्न नसक्दा पार्टीले टिकट नदिएको उनको भनाइ छ।

‘टिकट लिन पनि पैसा खर्च गर्नुपर्छ। महिला आर्थिक रूपमा कमजोर छन् भन्ने सोचेर मलाई पार्टीले टिकट दिएन,’ उनले भनिन्, ‘टिकट दिएपनि चुनावमा लाग्ने पैसा खर्च गर्न सक्दैन भन्ने सोच थियो पार्टीमा। राजनीतिमा मेरो कोही जोडिएको छैन। यदि उच्च पदमा मेरो आफन्त कोही हुन्थ्यो भने सहजै मैले टिकट पाउथेँ।’

पार्टीमा पनि भनेको मान्ने महिलाले मात्र अवसर पाउने उनको अनुभव छ।

‘महिलाका लागि जति अधिकार संविधान, कानुन अथवा विधानमा उल्लेख गरिएको छ। कार्यान्वयनमा छैन,’ उनी भन्छिन्, ‘अर्कोे पक्ष के हो भने पार्टीमा भनेको मान्ने महिला खोजिने रहेछ। तर मलाई त्यो स्वीकार्य हुँदैन। म त आफैँ सक्षम छु। आवश्यकताका आधारमा आफ्नो काम सबै आफैँ गर्न सक्छु। निर्णय आफैँ लिन सक्छु। योजना बनाउन सक्छु। म कसैको अन्डरमा चल्दिनँ।’  

उपप्रमुखको अधिकार र स्थानीय तहका क्रियाकलापप्रति उनी सचेत थिइन्। उनका अनुसार भौतिक पूर्वाधारसँगै सामाजिक विकासमा राम्रो गरेकी थिइन्। 

‘तपाईं बुझ्नुस्, नेपालगञ्जको कुनै पनि मान्छेले भन्दिन्छन् मैले कति काम गरेको छु भनेर। कोभिडको नेतृत्व मेयरले होइन, मैले गरेको हो। मैले मेयरले जत्तिकै राम्रो काम गर्न सक्छु भन्ने दृढता थियो,’ उनले भनिन्। 

पार्टीले उनलाई उपमेयरमा दोहोरिन प्रस्ताव गरेको थियो। तर, उनले त्यसलाई अस्वीकार गरिन्। मेयरका लागि दौडधुप गरिरहँदा धेरैले उनलाई भने– जनजाति कोटा, महिला कोटा छ, तिमीले अवसर पाइहाल्छौ नि!

‘म कार्यकारी पदमा बस्छु भन्दा विश्वास नगर्ने, समानुपातिक, जनजाति, महिला कोटामा जा भन्ने! त्यो भनेको मेरो क्षमतामाथि प्रश्न उठाएको हो। विश्वास नगरेको हो, ह्यारसमेन्ट हो,’ उनले आक्रोश व्यक्त गरिन्।

यद्यपि पाँच वर्षपछि पुनः मेयरमा उठ्ने उनको अठोट छ। 

‘अबको ५ वर्षसम्म म पार्टीमै रहेर इमानदारीपूर्वक काम गर्छु,’ उनी भन्छिन्, ‘पाँच वर्षपछि पार्टीको गलत प्रवृत्तिमा परिर्वतन ल्याएर फेरि मेयरमै जित्छु।’

‘कसैको आशीर्वाद कसैको चाकडी गरेर सफल हुने होइन विद्रोह गर्ने हो,’ उनले थपिन्, ‘तपाईंले बसेको ठाँउमा अवसर पाउनु भएन भने त्यो ठाउँ खाली राख्ने होइन। त्यही ठाउँमा लडेर आफूलाई स्थापित गर्ने हो।’

अब दलभित्रको पितृसत्तात्मक सोच बदल्न लागिपर्ने उनको भनाइ छ।

‘दलभित्रको पितृसत्तात्मक सोच बदल्छु। सक्षम भएर पनि महिलालाई नेतृत्व गर्न नदिने प्रवृत्तिका विरुद्धको लडाइँ लड्छु,’ उनले भनिन्। 

पहिला हारेका दोहोरिए तर कविता ढुंगानाले टिकट पाइनन् 
बेलकोटगढी नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रबाट ६ हजार ६ सय ६६ मत प्राप्त गरी निर्वाचित भएकी थिइन्, कविता ढुंगाना। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रूपा सापकोटाले ६ हजार ४ सय ६० मत प्राप्त गरेकी थिइन्। 

निर्वाचित हुनुअघि ढुंगाना अधिवक्ता थिइन्। वकालत त्यागेर राजनीतिमा होमिइन्। र, निर्वाचित भइन्। 

कार्यकारी पदमा रहेर जति गर्न सकिन्थ्यो, त्यति काम ‘उप’ मा रहेर गर्न नसकिएको जस्तो उनलाई लाग्छ। त्यसैले यसपटक प्रमुखमा उम्मेदवारी दिने उनको योजना थियो।

‘म सक्षम छु, काम गर्न सक्छु, अवसर पाउनुपर्छ, भनेकी थिएँ,’ उनले भनिन्, ‘मेयरको लागि सर्वसम्मत नहुँदा नगर कमिटीले जगत लामा, म र रामप्रसाद ढुंगाना तीन जनाको नाम सिफारिस गरेको थियो।’

उनले पनि पार्टीमा महिलालाई नेतृत्व दिनुपर्ने अडान पनि राखेकी थिइन्। तर, पार्टीले उनलाई टिकट दिएन।

‘नेतृत्व तहमा आउन महिलालाई निषेधजस्तै भएको छ। तपाईंले तथ्यांक हेर्नुभयो भने पनि हुन्छ। कम्तीमा पहिलो स्थानीय तहको चुनावमा एक जना महिला अनिवार्य भनेपछि ‘उप’ मै भए पनि धेरथोर महिलाहरु थिए। तर यसपटक गठबन्धनको कारणले प्रमुखमा पनि पुरुष र उपप्रमुखमा पनि पुरुष अनुहार देखिन्छन्,’ उनले भनिन्।

पार्टीको प्रदेश नेतृत्वले नगर प्रमुख पदमा अघिल्लो पटक हारेक जगत लामालाई टिकट दिने निर्णय गर्यो।

‘पहिला थोरै भोटले हार्नुभएको हो। फेरि सम्भावना छ, उहाँलाई दिनुपर्छ भनेर पार्टीले उहाँलाई टिकट दियो, मलाई दिएन,’ उनले भनिन्, ‘नेतृत्वले के आधारमा उहाँलाई टिकट दियो, मलाई के आधारमा दिएन, थाहा भएन।’

तर, अब चुनाव आइसकेकाले विवाद गरेर बस्न उनी चाहन्नन्।

‘अब यतिबेला निर्वाचन आइसकेको छ। पार्टीले उम्मेदवार घोषित गरिसकेको हुनाले अब हामी उहाँलाई नै जिताउन लागेका छौँ,’ ढुंगाना भन्छिन्, ‘अहिले हाम्रो मेयरले राजीनामा दिइसकेको हुनाले मेरो जिम्मेवारी पनि बढी छ। कार्यकारी पदमा रहेर म काम गरिरहेकी छु।’

शान्तिकुमारी लिम्बु भुजेलः युवा नेतृत्वलाई साथ दिन राजी भएँ 
गत पाँच वर्ष उपाध्यक्ष भएर अनुभव बटुलिन् मोरङको केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलले। एमालेबाट उनले २०७४ को निर्वाचनमा सहज जित हात पारेकी थिइन्। उनकै पार्टीका अध्यक्ष उम्मेदवार भने कांग्रेस उम्मेदवारसँग पराजित भए। तसर्थ, यसपटक उनी अध्यक्षको स्वाभाविक दाबेदार थिइन्। 

‘ज्ञान–सीपको सदुपयोग गर्दै अध्यक्ष पदका लागि टिकट दिनुपर्ने माग गरिरहेँ तर सुनुवाइ भएन,’ उनी भन्छिन्, ‘सबैजसो दलमा विधिभन्दा व्यक्ति हावी छन्, प्रतिस्पर्धाभन्दा चाकडीले नेतृत्व हत्याउने होडबाजी चल्छ। यो प्रवृत्तिले क्षमता भएर पनि अघि बढ्न रोक्छ।’

तर, यसपटक युवालाई नेतृत्व दिनुपर्ने बहस पार्टीमा चल्यो। पार्टीले पनि युवा उम्मेदवार उठाउने निर्णय गर्यो। 

‘राजनीतिमा र नेतृत्वदायी भूमिकामा युवा सहभागिता बढाउने योजना पार्टीले अघि सारेपछि मैले पनि सहमति जनाएँ,’ उनले भनिन् ‘अनुभव थियो, क्षमता थियो, मैले पनि राम्रो गर्न सक्थेँ तर युवालाई अघि सार्ने कुरामा म पनि सहमत भएँ।’

नयाँ उम्मेदवारलाई हरिप्रभा खड्गीको समर्थन, संघमा दाबी
अघिल्लो स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले निकटतम प्रतिद्वन्द्वीलाई २४ हजार बढी मत अन्तरले पराजित गरेकी थिइन्। त्यो पहिलो चरणको चुनावमा सबैभन्दा फराकिलो विजय थियो। खड्गीले ५८ हजार ९ सय ५२ मत पाएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत पाएका थिए। 

यसरी लोकप्रिय मत पाएर उपमेयरमा जितेकी खड्गीलाई यसपटक पार्टीले पत्याएन। यद्यपि यसपटक मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बनेकाले आफूले टिकट नपाए पनि उनले समर्थन जनाइन्। 

‘महिला चाहिन्छ भन्ने अडानका कारण सिर्जना सिहंलाई टिकट दिइयो,’ उनले भनिन्, ‘मभन्दा अग्रज हो उहाँ। ०३६ सालदेखि नेविसंघ, महिला संघमा रहेर काम गरेकाले मैले उहाँलाई अभिभावक मान्छु।’

उसो त हरिप्रभालाई सिर्जनाले अघिल्लो चुनावमा पनि सहयोग गरेकी थिइन्। 

‘मलाई यसअघिको चुनावमा उहाँको साथ थियो। मैले उहाँलाई अभिभावक, अग्रज मानेर उहाँले सक्नुहुन्छ भनेर सहमतिका आधारमा पार्टीले उहाँलाई टिकट दिएको हो। मेरो पूर्ण समर्थन छ,’ उनी भन्छिन्।    

स्थानीय तहमा मौका नपाए पनि आगामी प्रदेश र संघीय चुनावमा टिकट पाउनेमा आफू विश्वस्त रहेको खड्गीको भनाइ छ।

‘पालिकाको मेयर र उपमेयर मात्रै होइन, सक्षम भए उच्च तहमै महिलालाई मौका दिइन्छ, दिनुपर्छ,’ उनी भन्छिन्, ‘अब मंसिरमा फेरि संघको चुनाव हुँदैछ। मैले अवसर पाउँछु भन्नेमा म विश्वस्त छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .