ad ad

निर्वाचन विशेष


मेयरमा ‘बढुवा’ हुन खोजेका यी महिला

मेयरमा ‘बढुवा’ हुन खोजेका यी महिला

फाइल तस्बिर


मीना खड्का
बैशाख २७, २०७९ मंगलबार १७:१८, काठमाडौँ

पाँच वर्षअघिको स्थानीय निर्वाचनमा प्रमुख र अध्यक्ष पद पुरुषले कब्जा गर्ने र उपप्रमुखमा महिलालाई सीमित राख्ने ‘ट्रेन्ड’ विकास भएको थियो। एकाध महिलाले मात्रै प्रमुख पदमा टिकट पाएका थिए।

पाँच वर्षपछि यही साता हुन लागेको दोस्रो स्थानीय चुनावमा पनि महिलाको प्रतिनिधित्व सन्तोषजनक देखिन सकेको छैन। एकातर्फ महिलालाई ‘उप’ दिएर चुप लगाउने ०७४ को रोग यथावतै छ। अर्कातर्फ गठबन्धनका नाममा दुवै पदमा पुरुषलाई उठाउने र संविधानको भावनालाई छल्ने प्रवृत्ति यसपटक मौलाएको छ।

स्थानीय तहको प्रमुखमा महिलालाई उम्मेदवारी दिने प्रचलनमा खासै बढोत्तरी आएको देखिँदैन। र, ०७४ उपमेयर चलाएका महिलालाई अनुभवका आधारमा मेयरमा उठाउने अभ्यास पनि यसपटक खासै देखिएन।

हामीले यहाँ ०७४ सालमा उपमेयर बनेर स्थानीय तह हाँकेका र यसपालि मेयरमा अपग्रेड हुन खोजिरहेका केही प्रमुख महिला उम्मेदवारहरूसँग उनीहरुको अनुभव पस्कने प्रयास गरेका छौँ।

धरान : मञ्जु भण्डारी
प्रदेश १ को धरान उपमहानगरले पहिलो पटक बनेको स्थानीय तहको मेयर गुमाउनुपर्याे। मधुमेह रोगबाट पीडित मेयर तारा सुब्बाको २०७५ साउन १ गते निधन भएसँगै करिब डेढ वर्षसम्म कार्यवाहक मेयर भएर मञ्जु भण्डारीले उपमहानगरको नेतृत्व गरिन्। उपनिर्वाचनपछि मेयर पदमा कांग्रेसका तिलक राई आए।  

०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३३९ को मतान्तरले हराउँदै मञ्जु उपमेयरमा विजयी भएकी थिइन्। ‘म सक्षम छु भनेर मेरो कामले देखाएको छ’, उनले नेपालखबरसँग भनिन्, ‘एमालेले महिलालाई नेतृत्वमा तहमा पुर्याउनुपर्छ भनेर साथ दिएको छ।’

केही समय मञ्जु एक्लैले मेयर/उपमेयरको दोहोरो जिम्मेवारी सम्हालेकी थिइन्। ‘मेयर सा'व पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो’ उनी भन्छिन्, त्योबेला पनि मैले कार्यवाहकको भूमिकामा उपमहानगर चलाएँ। न्यायिक  समितिदेखि, अनुगमनसम्म र विभिन्न निर्णयदेखि कार्यान्वयनको तहसम्म आफैँ सहभागी भएको अनुभव छ।’

अहिले उपमेयर मञ्जु भण्डारी एमालेबाट मेयर पदकी उम्मेदवार हुन्। उनलाई नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरका लागि मेयरको प्रत्यासीमा उठाएको हो।

हेटौंडा : मीनाकुमारी लामा
वैशाख ३० नजिकिएसँगै देशभर चुनावी माहोल चर्किएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा उपमेयरमा रहेका केही महिला अहिले नेतृत्व तहमा आएका छन्, जसले महिलाहरु पनि प्रमुख पदमा रहन योग्य र सक्षम छन् भन्ने प्रस्ट देखाएको छ।

राज्यका निर्णायक तह तथा सार्वजनिक नीति निर्माण तहमा पुग्न महिला मात्रै भएर हुँदैन। उनीहरु सक्षम पनि हुनुपर्छ भन्ने चर्चा पछिल्लो समय व्यापक छ। जुन चर्चालाई खण्डन गर्दै महिलाले काम गर्न सक्दैनन् भन्ने विचारलाई चिर्दै मीनाकुमारी लामा प्रमुखको उम्मेदवार बनेकी छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपप्रमुखमा विजयी भएकी लामाले उपमहानगरको २३ हजार ४३७ मत ल्याएकी थिइन्। अहिले उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरको उम्मेदवार बनेकी छिन्। उनलाई कांग्रेस, माओवादीलगायत पाँच दलीय गठबन्धनको साथ छ।

उपमहानगरको उपप्रमुखको जिम्मेवारीमा गरेको अनुभव प्रयोग गरेर उपमहानगरमा नेतृत्व लिने दौडमा यतिबेला होमिएकी हुन्। महिलाहरुले पनि आफ्नो दायरालाई फराकिलो बनाउने हो र सक्षम हुने हो भने पार्टीले अवसर दिने उनको भनाइ छ। ‘क्षमता भयो भने पार्टीले अवसर नदिने भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘साथ नदिए पनि म सक्छु भनेर अडान लिने हो।’

गठबन्धनबाट साझा उम्मेदवार भएकैले आफ्नो जित सुनिश्चित रहेको उनको भनाइ छ। ‘गठबन्धनले चुनाव जिताउनुपर्छ भनेर प्रतिबद्धता जारी गरेको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘हाम्रो एउटै साझा मुद्दा भनेको चुनाव जित्नु हो, जसका लागि हामी सबै असन्तुष्टि समाधान गरेर मैदानमा खटिएका छौँ।’

जितपुरसिमरा : सरस्वती चौधरी
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा पाँच वर्षअघि शिक्षकको जागिर छाडेर उपमेयरको उम्मेदवार बन्दा सरस्वती चौधरीसँग राजनीति र प्रशासनिक कुनै अनुभव थिएन।

थारु समुदायकी महिला सरस्वतीलाई एमालेले जातीय र भेगीय सन्तुलन मिलाउन शिक्षकबाट राजीनामा गराएर उपमेयरको उम्मेदवार बनाएको थियो। पाँच वर्षपछि सरस्वतीको भूमिका मात्र फेरिएको छैन, जिम्मेवारी पनि अझ थपिएको छ।

मधेस प्रदेशका तीनवटा उपमहानगरपालिका र एउटा महानगरपालिकामध्ये मेयरको उम्मेदवार बन्ने एक मात्र महिला बनेकी छन्, उनी।

सामान्य शिक्षिकाको भूमिकामा रहेकी सरस्वती अहिले मुलुककै सबैभन्दा ठूलो दल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको हैसियतमा पुगेकी छन्। न्यायिक समितिको प्रमुख समेत भएर उपमेयरको भूमिकामा उनले विशेष गरी मधेसका महिलालाई न्याय दिलाउन भूमिका निर्वाह गरेको बताउँछिन्।

‘हरेक क्षेत्रमा महिला निर्णायक भूमिका नहुने परिस्थिति भएकाले र समाजमा महिलाले अधिकार माग्दै गर्दा हामीले पनि नगरपालिका चलाउन सक्छौं भनेर पनि मैले दाबी गरेकी हुँ,’ उनी भन्छिन्, ‘पार्टी पंक्तिले मलाई निर्वाचनमा विश्वास गरेर अगाडि सारेको छ।’

दमक : गीता पौडेल अधिकारी
नेकपा एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा केपी ओलीको गृहनगर दमकको उपमेयरका लागि गीता पौडेल अधिकारीको नाम सिफारिस गर्यो। त्यससँगै गीताले झण्डै तीन दशक लामो अध्यापन पेशाबाट राजीनामा दिइन्।

चुनावमा अधिकारी झण्डै चार हजार मतान्तरले उपमेयरमा विजयी भइन्। अहिले उनी दमकको मेयर पदमा एमालेका तर्फबाट उम्मेदवार बनेकी छन्। ‘अधिकांश मैले पढाएका विद्यार्थीहरु मतदाता थिए’, उनी भन्छिन्, ‘अघिल्लो स्थानीय तह निर्वाचनमा १२ हजार ६ सय २५ मत ल्याएर उपमेयर पदमा विजयी भएकी थिएँ।’

त्यो बेलामा गीताले पाएको मत मेयर रोमनाथ ओलीको तुलनामा करिब २ हजारले बढी थियो।

गीतासँग २८ वर्षदेखि दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गरेको अनुभव छ। विगतमा पाँच वर्ष उपमेयर भएर काम गरेको अनुभवले मेयरको जिम्मेवारी निर्वाह गर्न सक्षम बनाएको उनको भनाइ छ। पाँच वर्ष ‘उप’ रहेर काम गरिरहँदा अझ धेरै सिक्ने अवसर जुरेको उनी बताउँछिन्। अधिकारी भन्छिन्, ‘बितेको पाँच वर्षमा मैले कुनै असजिलो महसुस गर्नुपरेन । नागरिकस्तरबाट साथ सहयोग र माया पाएँ।’

एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकामा मेयर पदकी उम्मेदवार पौडेल मेयर पदमा जित निश्चित रहेको बताउँछिन्। ‘कतिपय निर्णय उपप्रमुख भएर लिन सकिँदो रहेनछ, यो बाटो सही हो भन्दाभन्दै पनि हैसियतले नदिने अवस्था हुन्छ,’ अधिकारी भन्छिन्, ‘विगतमा राखेका केही योजना पूरा भएका छैनन्, त्यसैले अब मेयर भएँ भने पूरा गर्छु ।’

हलेसी : विमला राई
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसले बिमला राईलाई उम्मेदवार बनाएको छ। यसअघि नगरपालिकाको उप–प्रमुख रहेकी राईले सर्वसाधारणको विश्वास र आफ्नै बढ्दो आत्मविश्वासका जगमा यो पटक प्रमुख पदमा आउने अवसर पाएको बताएकी छन्।

गत निर्वाचनमा उपप्रमुखमा सीमित पारिएकी उनी यसपटक प्रमुख पदमा आउने आशामा छिन्। नेपाली समाजमा महिला र उनीहरूका कामप्रतिको विश्वासले पार्टी र नेतृत्वको मन जितेको उनको तर्क छ।

उनले स्थानीय तहमा गरेका कामले सकारात्मक सन्देश छाडेको दाबी गरिन् । गएको पाँच वर्षमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि महिलाहरूसँग निकट भएरै काम गर्ने अवसर मिल्यो। जसले उनलाई नजिकबाट समाज नियाल्ने अवसर जुर्याे। ५ वर्षमा गरेको काम, समेटेको अनुभवको कारण र सम्पन्न गरेका काम साथै निर्वाह गरेको भुमिकाले पार्टीले विश्वास गरेर प्रमुखमा अघि सारेको उनको तर्क छ।

‘पितृ सत्ताका जराहरू हाम्रो समाजमा अहिले पनि गाडिएर बसेका छन्, तर कार्यसम्पादन सहज ढंगले गर्न सकेको र पार्टीमा मेरो भुमिका र पद राम्रो भएकाले पार्टीले मलाई अघि सारेको हो भन्ने लागेको छ’, उनी भन्छिन्।

महिलाको न्यून मनोनयन रहेको र स्थानीय तह हाँक्न चाहने कैयौं महिलालाई पाखा लगाइएको गुनासो आइरहेका बेला राईले महिला भएका कारण अवसरबाट बञ्चित भएको महसुस गर्नुपरेको छैन। ‘अबका दिनमा कस्तो अनुभव हुन्छ थाहा छैन’, उनी भन्छिन्, ‘मैले म महिला भएका कारण अझ बढी अवसर छ भन्ने महसुस गरेकी छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .