गायिका मधु क्षेत्रीलाई चर्चामा ल्याउन एउटै गीत काफी भयाे।
दुई वर्षअघिसम्म कसैको नजरमा नपरेकी यी गायिकालाई ‘सोचे झैं जिन्दगी रैन’छ’ बोलको गीतले एकाएक चर्चाको शिखरमा पुर्यायो।
यही गीतले मधुको जीवनमा नयाँ मोड ल्याइदियो।
पहिलो विवाह टुटेर एक्लै बसेकी मधुले अस्ट्रेलिया बस्ने प्रेमीसँग केही समयअघि विवाह गरिन्। कुनै औपचारिक समारोहबिना कोर्ट म्यारिज गरेकी यी गायिकाले पनि देश छाड्ने निधो गरेकी छन्।
धेरै कलाकार विदेश पलायन भैरहेका बेला मधु पनि अस्ट्रेलिया जाने तयारीमा छिन्।
पहिलो श्रीमानतर्फबाट मधुकी १७ वर्षीया छोरी छिन्। उनले आफ्नी छोरीसहित अस्ट्रेलिया जाने तयारी गरेकी हुन्।
अस्ट्रेलिया यात्रासँगै सांगीतिक क्षेत्र छाड्ने मधुले बताएकी छन्। लोकदोहोरी क्षेत्रले आफूलाई धेरैथोक दिएको बताउँदै विदेशिनुअघि श्रीमान् र छोरीलाई सँगै राखेर गीत गाउने रहर सुनाएकी छन्।
विदेशिने योजना बनाउँदै गर्दा मधुले भनेकी छन् ‘मलाई दोहोरीले धेरै कुरा दिएको छ। यही क्षेत्रमा लागेर छोरी १७ वर्षकी बनाएँ। अब मेरो सांगीतिक यात्रा टुंगियो।’
एकल महिलालाई हेर्ने समाजको गलत दृष्किोणका कारण पनि बाँकी जीवनका लागि श्रीमानको सहारा लिएको मधुको भनाइ छ। १७ वर्षीया छोरीसहित आफूलाई स्वीकार गरेकामा मधुले आफ्ना श्रीमानलाई धन्यवाद पनि दिएकी छन्।
Shares
प्रतिक्रिया