गजलकार प्रदीप रोदनको पहिलो गजल संग्रह ‘मफलर’ सार्वजनिक भएको छ।
शनिबार बाठमाडौंको प्रज्ञा– प्रतिष्ठान डबलीमा आख्यानकार अमर न्यौपाने र लेखक प्रदीपले संयुक्त रूपमा सार्वजनिक गरेको ‘मफलर’ फाइन प्रिन्टले बजारमा ल्याएको हो।
रोदनको ‘मफलर’ सार्वजनिक गर्दै आख्यानकार अमर न्यौपालेने यो गजल संग्रह मात्रै नभएर मन्त्रहरूको संग्रह रहेको बताए। उनले भने ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर। खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन्।’
जीवन र हृदयको ध्वनी मिसिएको ‘मफलर’मा अध्यात्म, व्यवहार र दर्शन मिसिएको उल्लेख गर्दै न्यौपानेले भने ‘यो संग्रह सिरानीमा राख्ने कृति हो ।’
गजलकार रोदन ‘मफलर’ सार्वजनिक कार्यक्रममा निक्कै गम्भीर सुनिएका थिए।
उनले भने ‘केही नबन्दा अरू केही बन्दो रहेछ। यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने। जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने।थाहा छैन, यी गजलले तपाईंको जीवनमा सौन्दर्य थप्छन् या थप्दैनन्। यी गजल मैले सृष्टि गरेका बचेराहरू हुन्। आजसम्म आफ्नै पखेटामुनिको न्यानोमा हुर्काएँ। अब यी गजलका आफ्नै पखेटा पलाए होलान् भनेर तपाईंहरूकै संसारमा उडान भर्न पठाएको छु।’
गोरखा पालुङटारको पाण्डेबेँसीका गजलकार रोदनले गोर्खामै बसेर गजल सिजर्ना गरेको बताए। गेरकाकै एक स्कुलका शिक्षक रोदनका गजलको लोकप्रियता निक्कै लोभलाग्दो छ।
देश तथा विदेशका थुप्रै कार्यक्रममा आफ्ना गजल प्रस्तुत गरेका रोदनले २०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’का साथै २०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ तथा २०७९ सालको ‘साताको साहित्य पुरस्कार’ पाइसकेका छन्।
Shares
प्रतिक्रिया